हितकारी अभियानका मौन यात्री: ‘मिलेट म्यान अफ् सिक्किम

Share this news

युवा दर्पण 

सञ्जय प्रधान⇒   

एकातिर प्रकृतिलाई खोतालेर भताभुङ्ग पार्नेहरू छन् भने अर्कोतिर प्रकृतिलाई जीवन समर्पण गर्नेहरू पनि हुन्छन्। यस्तै एक प्रेरक व्यक्तित्व हुन्-छिरिङ ग्यात्सो लेप्चा, जसले हराउँदै गएका रैथाने बीउ बचाउन मौन अभियान चलाइरहेका छन्। उनी आज ‘मिलेट म्यान अफ् सिक्किम’का रूपमा परिचित छन्।

स्व. दावा छिरिङ लेप्चा र युडेन लेप्चाका छोरा छिरिङ ग्यात्सोले जन्मथलो लुम्लिङ्त्याङमै बाजेको पालादेखि खेतीपातीको ज्ञान पाए। प्राथमिक शिक्षा लुममा र सेकेण्डरी डिक्छुबाट पूरा गरे। बाजेको पालादेखि अलैंची, अदुवा, सुन्तलालगायत अन्य खेती चल्दै आएको छ। केही वर्षयता रोग लागेर अलैंचीको उत्पादन घटेको उनी बताउँछन्। धेरै प्रयास गरे पनि रोग हटेन। सुन्तलाको खेती भने राम्रो छ। उनको खेतबारीमा सिक्किम म्यान्डेरिन नामक अर्को प्रजाति फल्छ, जसको स्वाद सामान्य सुन्तलाभन्दा फरक हुन्छ। यसलाई आकर्षक प्याकिङसहित ‘लुम छिरिङ अर्ग्यानिक फर्म’को नाममा गान्तोकदेखि सिलगढ़ीसम्म पठाइन्छ।

प्रकृतिसँगै जोड़िएर प्रकृतिसँगै बाँच्न सिक्यौं। खानपान पनि यसैसित जोड़िएर बस्यो। धेरै कुरा उतारचढ़ाव प्रकृतिसँगै सिक्यौं’’

जोङ्गु क्षेत्रमा खेतीपातीबारे उनका कुरा सुन्दा रोचक लाग्छ। पहिला अहिलेकोे जस्तै बाटोको सुविधा थिएन, त्यसैले खेतीबाली मुख्यतः घरकै लागि उमारिन्थ्यो। अन्य सामान बोक्न गाह्रो भएकाले नुन मात्र बाहिरबाट ल्याइन्थ्यो। उनी भन्छन्, ‘‘उहिले सुन्तला पनि बिक्री हुँदैन थियो। सुन्तला बिक्री हुन थालेको मैले थाहा पाएअनुसार, २५ वर्ष पनि राम्रो भएको छैन। उहिले कसैले नुन ल्याइदिन्थ्यो, र सुन्तला टिपेर लैजाउ भन्ने हुन्थ्यो।’’ उनका अनुसार, करिब 30 वर्षअघिसम्म पनि एक बोरा नुनमा बगानभरिको सुन्तला लैजान्थे। ‘‘पहिला मकै, कोदो, फापर, धान, जौं र सागसब्जी सिजनअनुसार नै खाइन्थ्यो’’, उनी भन्छन्, ‘‘यसरी वर्षभरि कृषिखेतीमै निर्भर थियो।’’

अहिले ५० वर्ष पुगेका छिरिङ ग्यात्सो एकजना उद्यमी, पौरखी पुरुष मात्र होइनन्- उनी स्थानीय मिलेट (कोदो)का संरक्षक साथै उत्पादक हुन्। उनले १४ थरिका मिलेट उमार्छन्ः पन्च फिङ्गर मिलेट- (मुर्के अनि लेप्चा नाम कटप), नेल पिकिङ मिलेट (नङकट्टा- जसको लेप्चा नाम पन्ची एक मोन), व्हाइट मिलेट (जुवै कोदो- लेप्चा नाम तुङमोङ, फक्सटेल मिलेट (कागुनी- लेप्चा नाम कामदक), लिटल मिलेट (चिन्ना- लेप्चा नाम नुह्ह, बनयार्ड मिलेट (सामा- लेप्चा नाम कुदव), जब यियर मिलेट- (तुम्ब्री- लेप्चा नाम कलिन), रेड सोरघम (जुनैलो- लेप्चा नाम चुङ्कोङ), व्हाइट सोरघम (रातो जुनैलो), ब्ल्याक सोरघाम (जुनैलो- लेप्चा नाम चु न्हको), ब्रान्चेस फक्सटेल मिलेट, हेयरी फक्सटेल मिलेट- यी मिलेटहरू उनले आफ्नो खेतमा उमार्छन्।

सन् 2023 मा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय मिलेट्स वर्ष घोषणा गर्दा जोङ्गुमा छिरिङ ग्यात्सोले 20 वर्षअघिदेखि स्थानीय मिलेट र अन्य  बीउ संरक्षण गर्दै आएका थिए। यी खेतीपाती उनले बोज्यु आश्‍ने लेप्चाबाटै सिकेका हुन्। उनका अनुसार, बोज्युले बजारको केही खाँदिनथिन्, सबै थोक आफ्नै खेतीको खान्थिन्। ढुङ्गा पल्टाउँदा मुनि पसिना जस्तो देखिए जमिन तात्दैछ, उल्लु वा चराचुरुङ्गी कराए मौसम बदलिँदैछ भन्ने थाहा पाउँथिन्। सन् २०१६ मा ९१ वर्षको उमेरमा बोज्युको निधन भयो।

प्रदर्शनीमा विभिन्न किसिमका कोदोहरू लिएर ‘मिलेट म्यान अफ् सिक्किम’ छिरिङ ग्यात्सो।

सन् २०२३ मा भारतभर मिलेट वर्ष मनाउँदा सिक्किममा खोज्दा नङकट्टा र मुर्के नामका दुई किसिमका कोदो मात्र भेटिए। कृषि विभागले खोज्दा उनकोमा भए जति सबै किसिमका कोदो कतै नपाएपछि उनलाई प्रदर्शनीमा लगियो। गान्तोकमा सन् २०२३ को मार्च-अप्रेलतिर मिलेट फेस्टिवल हुँदा उनी सबै किसिमका कोदो लिएर पुग्दा सबै छक्क परे। उनी भन्छन्, ‘‘जंगलै सोहोरेर के लिएर आएछ भनेर धेरैले सोध्यो। मैले जानेको जति सबै बताएँ। अनि मिडियाले नै मलाई माया गरेर मिलेट म्यान बनायो।’’

अति साधारण जीवनशैली जिउने छिरिङ ग्यात्सो महत्वपूर्ण अभियानमा छन्। उनका करिब छ हेक्टर खेत प्रकृति र मानव हितअनुरूप परिचालन हुन्छन्। यस यात्रामा उनकी श्रीमती फुर्मित लेप्चा सहयात्री छिन्, जो सिक्किममा जमराको खेती र यसको जुस प्रवर्द्धनमा सक्रिय छिन्। ग्यात्सोले हराउँदै गएका रैथाने बीउ जोगाउन सीड ब्यांक बनाएका छन्। सागसब्जी, धान, तीन किसिमका मकै, फापर, कोदो, अदुवा, अलैंचीलगायत धेरै बीउ सुरक्षित गर्ने अभियानमा उनी छन्। हाइब्रिड बीउका पक्षमा नरहने उनी प्राकृतिक प्रणालीमै खेती गर्छन्, जसले मानव, वन्यप्राणी र चराचुरुङ्गी सबैलाई लाभ पुर्‍याउँछ। यसबाहेक फार्ममा कफी पनि उमार्छन्।

हाइब्रिडका कारण रैथाने खेती मासिँदै गएको उनको भनाइ छ। उनी भन्छन्, ‘‘रैथाने खेतीलाई बचाउन थुप्रै चुनौतीहरू छन्, चराचुरुङ्गीहरू यसैमा आउँछन्। हामीले ३० प्रतिशत पाउँछौँ, ७० प्रतिशत प्रकृतिलाई दिनुपर्छ। अहिलेसम्मको अनुभवमा यही खेतीबाट ७० प्रतिशत प्रकृतिलाई दिनुपर्छ। मान्छेले खानुपर्ने चीज यही प्राकृतिक खेतीबाट रहेछ भन्ने मैले आफ्नै बारीबाट सिकेँ।’’ उनका अनुसार हाइब्रिड बीउ चराचुरुङ्गीले खाँदैनन्। ‘‘हाम्रो रैथाने अन्नमा धेरै पौष्टिक तत्वहरू हुन्छ, त्यसैले किरा-फट्याङ्ग्रादेखि चराचुरुङ्गी, मुसा सबै यसमै झुत्तिन्छन्। रैथाने खेतीको चुनौती यही हो’’, उनी भन्छन्। धनीले मन्दिरमा धेरै दान गरेझैँ उनी आफ्नो मेहेनतको ७० प्रतिशत प्रकृतिलाई अर्पण गर्छन् र यसबाट सन्तुष्ट छन्। त्यसैले छिरिङ ग्यात्सोको मौन अभियान मानव र प्रकृति दुवैको हितमा छ, जैविक विविधता जोगाउन समर्पित छ।

होमस्टे होइन, उनले खेतबारीमै ‘फर्म-स्टे’ बनाएका छन्। यहाँ आउने पर्यटकसँग फिटनेस रिपोर्ट मागिन्छ र स्वास्थ्यअनुसारको खाना पस्किन्छ। कोदोको रोटी, फापरको रोटी, कोदाको मोमो, नुडल्स-थुक्पा, प्राकृतिक रूपमा उमारिएका सागसब्जी र चामल उनी पाहुनालाई खुवाउँछन्। कोदाको लड्डु पनि बनाउँछन्। यस्ता खानाहरूमा नवीनता ल्याउन उनकी श्रीमती फुर्मित सक्रिय छिन्।

छिरिङ ग्यात्सो नयाँ ट्रेकिङ मार्ग खोज्ने दक्ष ट्रेकर हुन्। ट्रेकिङबारे उनी भन्छन्, ‘‘जोङ्गुले ट्रेकिङ रुट खोलेको खण्डमा जोङ्गु मात्रै होइन, सिक्किम र देशलाई नयाँ प्रोडक्ट दिन सकिन्छ।’’ करिब आठ वर्षको रेकीपछि उनले ‘हार्ट अफ् सिक्किम ट्रेक’ (जोङ्गु ट्रेक) निकाले। उनका अनुसार, यो रुटमा सातवटा पोखरी भेटिन्छन् र ‘कुर्मित कुर्सङ्ग’ हिमाल पुगिन्छ। ट्रेकिङबारे यस लेखमा संक्षेपमा मात्र प्रस्तुत गरिएको छ। ‘हार्ट अफ् सिक्किम ट्रेक’ सिक्किम र भारतका लागि महत्त्वपूर्ण रहेको बारेमा उनी भन्छन्, ‘‘यो ‘कुर्मित कुर्सङ्ग’ हिमाल सिक्किमको मुटुजस्तै सेन्टर प्वाइन्ट हो। यहाँबाट ९५ प्रतिशत सिक्किम देखिन्छ भने सिक्किमको आठवटा उच्च हिमालहरू अनि टिस्टा र रंगीत पनि एकै जग्गाबाट देखिन्छ। यसको काम अझ बाँकी छ।’’

उनी भन्छन्, ‘‘प्रकृतिसँगै जोड़िएर प्रकृतिसँगै बाँच्न सिक्यौं। खानपान पनि यसैसित जोड़िएर बस्यो। धेरै कुरा उतारचढ़ाव प्रकृतिसँगै सिक्यौं।’’ विभिन्न ठाउँहरूमा हुने मिलेटसम्बन्धी कार्यक्रमहरूमा उनी दक्ष स्रोतवक्ता हुन्। यस वर्ष उनी उत्कृष्ट कृषिविद्को रुपमा सम्मानित भएर भारतका राष्ट्रपतिको निमन्त्रणामा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति भवनमा आयोजित ‘एट होम रिसेप्सन’मा सहभागी बने। उनी धेरै ठाउँ, संघ-संस्था र विभागहरूबाट सम्मानित भइसकेका छन्।

छिरिङ ग्यात्सोको जीवनले देखाउँछ- प्रकृतिसँगै बाँच्न सकिन्छ र यसको संरक्षणमा सक्रिय भूमिका लिन सकिन्छ। ‘मिलेट म्यान अफ् सिक्किम’को रूपमा चिनिएका उनले रैथाने बीउ बचाउने, जैविक खेती गर्ने र प्रकृति-मानव सन्तुलन कायम गर्ने उदाहरण प्रस्तुत गरेका छन्। सादापन, मेहनत र धैर्यले सानो बीउबाट ठूलो परिवर्तन सम्भव छ भन्ने उनको मौन अभियानले प्रमाणित गर्छ।


Share this news
आजको रोजाइ
मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

आजको रोजाइ