खरसाङ, (मोहन प्रसाद): गोर्खा जनमुक्ति मोर्चाद्वारा घर पसौंँ अभियान अन्तर्गत खरसाङ क्षेत्र अन्तर्गत विभिन्न समष्टिमा सांगठनिक गतिविधि माथि जोर दिन कार्य भईरहेको छ। यसै कार्यक्रम अन्तर्गत सोमवार पार्टीको एउटा सभा पार्टी अध्यक्ष विमल गुरुङ्को उपस्थितिमा सुकनामा आयोजना हुने भएको छ।
उक्त सभाको विषयमा पत्रकारहरूलाई जानकारी दिंँदै, गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिका प्रमुख संयोजक साथै पार्टीका केन्द्रीय समितिका उपाध्यक्ष प्रदीप प्रधानले जनाए अनुसार, गोर्खा जनमुक्ति मोर्चाद्वारा घर पसौं अभियान अन्तर्गत तीनधारे समष्टि साथै खरसाङ समष्टिमा सांगठनिक रूपमा कार्य अगावैदेखि भइसकेको छ भने वर्तमानमा गिद्ध पहाड़ समष्टि अन्तर्गत कार्य चलिरहेको छ। सोही अनुरूप, आईतवार टुङ सन्त मेरिज समष्टि अन्तर्गत सिपाही धुरामा पार्टीको नारी, युवा अनि अभिभावक संगठनलाई लिएर एउटा सभा सम्पन्न भयो । सभाको अध्यक्षता पार्टीको कोर कमिटीका सांगठनिक सदस्य शरण देवानले गरेको थिए। पार्टीको खरसाङ महकुमा समिति अध्यक्ष योगेन्द्र राई, सचिव रोहित स्याङ्बो, उप सभापति विकास तिरुवा, सुधीर गुरुङ, दिपेन्द्र देवान अनि पार्टीको माईनोरिटी सेलका प्रतिनिधि एनए खान अनि अन्यान्यको उपस्थितिमा सांगठनिक सभा सम्पन्न भएको छ। यस बाहेक सभामा पार्टी द्वारा आगामी 18 जनवरीमा खरसाङ्मा हुने सेमिनार माथि पनि उपस्थित पार्टी समर्थकहरूलाई जानकारी गराईएको छ। पार्टीका प्रतिनिधिहरूलाई यो पनि जनाइयो कि सोमवार पार्टी अध्यक्ष विमल गुरुङ्को नेतृत्वमा सुकनामा पार्टीको एउटा सांगठनिक सभा सम्पन्न हुन गइरहेको छ। खरसाङ्मा हुने प्रस्तावित सेमिनारमा सबै प्रतिनिधि, समर्थक साथै विभिन्न वर्गका मानिस एवं बुद्धिजिविहरूलाई उपस्थित भइदिने अपिल सभामा गरिएको छ भनी प्रधानले जनाएका छन्।
प्रधानले थप जनाए अनुसार, उक्त सेमिनारमा देशको विभिन्न ठाउँबाट आएका वक्ताहहरूले प्रस्तावित गोर्खाल्याण्ड टेरिटोरियल रिजन बारे आ-आफ्नो पक्ष राख्नेछन्। उक्त सेमिनारमा सबैको उपस्थिति महत्वपूर्ण रहेको छ। हाम्रो प्रमुख मांग छुट्टै राज्य गोर्खाल्याण्ड रहे तापनि वर्तमानमा गोर्खाल्याण्ड टेरीटोरियल रिजन मार्फत् विभिन्न पक्षबाट आफनै शासन व्यवस्था होस् भन्ने उद्देश्य राखेर उक्त सेमिनार मार्फत गोर्खाल्याण्ड टेरीटोरियल रिजनमाथि सबैको विचार बुझ्न आयोजन गरिएको हो भनी तिनले जनाए।












