पर्दामा हिमाली भेकको यथार्थ उतार्दै विवेक

Share this news

सञ्जय प्रधान 

नेपाली चलचित्रमा नयाँ दृष्टिकोण र यथार्थको खोजी गर्ने प्रगतिशील निर्देशक-निर्माता विवेक राई आज दार्जीलिङ पहाड़को संस्कृति र जनजीवनलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउन सक्रिय छन्। ‘शान्ति’जस्ता लघु चलचित्रमार्फत युरोपीय देशको मञ्चसम्म ग्रामीण जनजीवन पुर्‍याइसकेका उनी दार्जीलिङ र सिक्किमको कथा-जनजीवनलाई अझ व्यापक दर्शकसमक्ष पुर्‍याउने यात्रामा छन्। नयाँ पुस्ताका यी ४० वर्षीय निर्देशक नेपाली चलचित्रलाई कथा, पटकथा र प्रस्तुतीकरणमै नयाँ ऊर्जा दिने लक्ष्यसहित काम गरिरहेका छन्।

खरसाङको अप्पर डुमाराम बस्ती निवासी भूपाल चन्द्र राई र गीता राईका छोरा विवेकले विद्यार्थी हुँदा भविष्यबारे तय गरेका थिएनन्। तर विद्यार्थी हुँदादेखि नै चलचित्रको क्षेत्र, अभिनय मन पराउँथे। हिमाली बोर्डिङ स्कूलमा पढ़्दा ‘जिजस क्राइस्ट सुपर स्टार’, ‘एभिटा’जस्ता अंग्रेजी नाटकमा खेले र यहींबाट अभिनयलाई गहिरोसँग बुझे। दिल्लीको दयाल कलेजमा पढ़ेका विवेक चलचित्रमा आउनुअघि उत्तर प्रदेशको लखनउमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था ‘केयर इण्डिया’मा साढे चार वर्ष काम गरे। यहाँ उनी मनिटेरिङ एण्ड इभ्यालुएसन अफिसर थिए।

‘‘हामी जतिसक्दो सत्य, यथार्थ देखाउन खोज्छौं। जे हुँदैछ त्यो देखाउन पर्ने मलाई लाग्छ, यसमा हाम्रो दायित्व बन्छ’’

नेपाली चलचित्रहरू हेर्थे अनि आफू पनि यसैमा प्रवेश गरेर केही नयाँ गर्नेबारेमा सोच्थे। ‘‘मैले बुझ्दाखेरि चलचित्रले कथात्मक रुप सृजना गर्दो रहेछ। चलचित्रले धेरै कुरा बुझाउँछ’’, उनी भन्छन्, ‘‘हामी जतिसक्दो सत्य, यथार्थ देखाउन खोज्छौं। जे हुँदैछ त्यो देखाउन पर्ने मलाई लाग्छ, यसमा हाम्रो दायित्व बन्छ।’’ समाजको असमानतालाई समानतामा ल्याउने प्रयास उनी चलचित्रको माध्यमबाट गर्न चाहन्छन्। एउटाले अर्कोलाई नराम्रो देखाउने, अर्कोले अर्कोलाई नराम्रो देखाउने काम गर्नु हुँदैन भन्ने पक्षमा उनी छन्। यस्तो किसिमको प्रस्तुति गर्नु हुँदैन भन्ने उनको भनाइ छ। उनी भन्छन्, ‘‘चलचित्रको माध्यमबाट हामीले राम्रा कुराहरू गर्नसक्ने रहेछौं। यस कारणले गर्दा अहिले मलाई धेरै चलचित्र बनाउनु मन लाग्छ।’’ चलचित्रको लागि कथा र पटकथा सशक्त हुनुपर्छ भन्ने उनको भनाइ छ। उनी भन्छन्, ‘‘लेखन छुट्टै हो- कथा छैन भने चलचित्र नै हुँदैन। राम्रो कथा भयो भने राम्रो चलचित्र बनाउँछौं भन्ने हुन्छ, अनि लगानीकर्ता पनि आइहाल्छन्।’’

दार्जीलिङ पहाड़मा नेपाली चलचित्रका लागि नयाँ सोच लिएर सन् २०१४ मा खरसाङ फर्किए। सन् २०१६ मा पहिलो नेपाली लघु चलचित्र ‘एण्ड व्ही आर लस्ट टू’ बनाए, जसमा दुईजना केटाहरू घर पुग्ने भन्दै हिँड़्दा बाटोमा हराउने कथा छ। विवेकका अनुसार, यो चलचित्र सन् २०१६-१७ मा स्पेनको ‘कोर्टिगा इन्टरनेसनल फिल्म फेस्टिवल’मा फाइनलसम्म पुगेको थियो। उनले नेपाली साहित्यका चर्चित कथाहरूलाई पनि लघु चलचित्रमा जीवन्त बनाएका छन्।

सन् २०१८ मा नेपाली संसारका प्रख्यात कथाकार शिवकुमार राईको कथा ‘ज्यानमारा’, सन् २०१९ मा सिक्किमका वरिष्ठ साहित्यकार सानु लामाको ‘ज्योति बिनाको उज्यालो’, सन् २०१९ मा छिमी अङ्मु लामाको ‘शान्ति’लाई लघु चलचित्र बनाए। समाजमा घट्ने घटनाहरू समेटेर नेपाली चलचित्रमा यथार्थवादलाई उनी प्रमुखता दिन्छन्। ‘ओ दार्जीलिङ’, ‘डेथ् सर्टिफिकेट’जस्ता उनका लघु चलचित्र त्यसकै उदाहरण हुन्। यस्तै विषय समेटेर उनले सन् २०२४ मा रजतपटको पहिलो चलचित्र ‘लिपिस्टिक गोलाई’ बनाए, जसले दार्जीलिङ र सिक्किममा राम्रो चर्चा पायो। यो चलचित्रले अहिलेका युवाहरूलाई आकर्षित पारेको छ। तर दर्शकहरूले ‘लिपिस्टिक गोलाई’को अर्को संस्करणको प्रतीक्षा गर्नुपर्नेछ, कारण विवेकका अनुसार यो फेरि नयाँ सामग्री थपिएर झनै रोचक बनेर आउने तयारीमा छ। सन् २०२४ मा यसको रिलिज सामुदायिक स्तरमा गरिएको उनको भनाइ छ।

सन् २०२४ मा ‘शान्ति’ लघु चलचित्रले सर्बियाको ‘कुस्तेन्दोर्फ इन्टरनेसनल फिल्म एण्ड म्युजिक फेस्टिवल’मा ‘सिल्भर एग अवार्ड’ जित्यो। युरोपीय देश सर्बियामा ‘शान्ति’ चलचित्रबाट त्यहाँका दर्शकहरूले ग्रामीण नेपाली जनजीवन, संस्कारलाई बुझ्न सके। माटोले लिपेको चुल्हामा दाउरा बलिरहेको, माटोले लिपेको भाँड़ा, धिब्री बत्ती, अचानोमा कुखुरा काट्ने, धाराबाट पानी थापेर ल्याउने र आमाको ममताजस्ता दृश्य उनीहरूलाई रोमाञ्चक र नयाँ लागेको विवेक राई बताउँछन्।

दार्जीलिङ पहाड़मा चलचित्र बनाउनु चुनौतीहरू धेरै रहेको विवेक बताउँछन्। उनी भन्छन्, ‘‘चलचित्र बनाउनु एउटा राम्रो घर बनाउनु जस्तै हो। राम्रा क्यामेराम्यानहरू बाहिर छन्, फर्केर आउन चाहँदैनन्, किनभने यहाँ काम छैन- काम भए पनि एकदमै कम्तिमा काम गर्नुपर्छ।’’ चलचित्रको मेरुदण्ड मानिने प्रोड्युसरको कमीबारे पनि उनी भन्छन्, ‘‘हामी प्रोड्युसरलाई पैसा हाल्ने मात्र बुझ्छौँ, तर प्रोड्युसर चलचित्रको मुख्य व्यक्ति हुन्। उनीहरूले कथा, निर्देशक, कलाकार बुझ्छन्। कहाँबाट पैसा ल्याउने र कसरी चलाउने, बनाएर कहाँ कसरी बिक्री गरिन्छ यसको जानकारी उनीहरूलाई हुन्छ। यहाँ प्रोड्युसरको अति नै जरुरी छ।’’ उनी अझ भन्छन्, ‘‘प्रोड्युसर र फाइनान्सर फरक हो- फाइनान्सर लगानीकर्ता भइहाल्यो। प्रोड्युसरले इन्भेष्टर पनि लिएर आउँछ, टिम पनि भेला गर्छ। चलचित्र बनाउँदा धेरै मान्छे चाहिन्छ।’’

चलचित्रमा ओटीटीको असरबारे विवेक भन्छन्, ‘‘ओटीटीले असर परेको कुनै स्टडिज् आएको छैन। एउटा सिनेमा ब्लकबस्टर हुँदा देशको दुई प्रतिशत जनसंख्याले मात्र हेर्दो रहेछ। भन्नुको मतलब, हाम्रो देशमा क्षेत्रगत असन्तुलन छ।’’ दार्जीलिङ जिल्लामा जनसंख्याको अनुपातमा सिनेमा हल कम्ति भएको उनको भनाइ छ। अहिले चलचित्रको क्षेत्रमा सिक्किमले राम्रो गरिरहेको बताउँदै उनी भन्छन्, ‘‘फिल्म सिटी नभए पनि त्यहाँ सरकारले बुझेर सहयोग गरिरहेको छ।’’ उनी भन्छन्, ‘‘हाम्रा धेरै भाई-बहिनीहरू चलचित्रको क्षेत्रमा काम गर्न इच्छुक छन्। चलचित्र एउटा दृश्यात्मक प्रस्तुति हो- हामी यसमार्फत पहाड़लाई प्रस्तुत गर्छौं। राम्रो बनेमा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्छ।’’

पर्यटन प्रवर्धनको लागि चलचित्र प्रभावकारी माध्यम रहेको उनी बताउँछन्। ‘‘यस क्षेत्रमा बुद्धिजीवीहरूको आवश्यकता छ’’, उनी भन्छन्। दार्जीलिङ पहाड़मा चलचित्र विकासका लागि उत्सवहरू हुन आवश्यक रहेको उनी बताउँछन्। यसको लागि यहाँका जीटीएजस्ता क्षेत्रीय प्रशासनिक व्यवस्थाको भूमिका आवश्यक ठान्छन्।

विवेक राईका लागि चलचित्र मनोरञ्जनभन्दा बढ़ी समाज, संस्कृति, जनजीवन उजागर गर्ने माध्यम हो। उनका कामले हिमाली भेकका कथा विश्‍वसामु पुर्‍याउँदै नयाँ पुस्तालाई पनि प्रेरित गरिरहेको छ। अब आउँदो वेब सिरिज ‘वेलकम टु दार्जीलिङ हिल्स्’ उनका यिनै प्रयासको अर्को रोमाञ्चक अध्याय बन्ने अपेक्षा छ।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ