सुलोचनाको क्यालीग्राफी संसार: अक्षरमा नेपालीपनको सौन्दर्य

Share this news

सञ्जय प्रधान 

त्यो प्रवाह केवल लेखाइ होइन-भावना, धैर्यता र सौन्दर्यको संगम हो। खरसाङको आईटीआई टुङमा जन्मेकी सुलोचना राई शाक्य अहिले काठमाड़ौंमा क्यालिग्राफीका अक्षरहरूमा संस्कृति र आत्मा भर्ने कलाकारका रूपमा चिनिन्छिन्। साधारण हस्ताक्षरको अभ्यासबाट शुरु भएको उनको यात्रा आज नेपाली लिपिलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने प्रेरणादायी यात्रा बनिसकेको छ।

नारी दर्पण 

स्व० प्रेमकुमार राई र स्व० राधिका राईका छोरी सुलोचनाले सन्त जोसेफ स्कूल, खरसाङमा विद्यार्थी हुँदादेखि नै क्यालिग्राफीको यात्रा शुरु गरेकी थिइन्। त्यतिबेला सुन्दर र स्टाइलिश हस्ताक्षर तथा लेखाइप्रति उनको आकर्षण थियो। राम्रो हस्तलिखित अक्षर लेख्दा आफ्नै शैलीमा नयाँ ढंगका अक्षर सिर्जना गर्न खोज्थिन्। यसरी लेख्दा साथीहरू र शिक्षकहरूबाट प्रोत्साहन पाउँथिन्। अध्ययन सकेपछि काठमाड़ौं लागिन्। आत्ममै कलाकार रहेकी सुलोचनाले त्यहीं जीवनसाथी भेटाइन् बेजोड़का बहुमुखी कलाकार अशिम शाक्य। सुलोचनाले श्रीमान अशिम शाक्यबाटै क्यालिग्राफीको वास्तविक अर्थ बुझिन् र प्रेरणा पाइन्।

फरक धारमा कला सृजना गर्ने अशिम शाक्य नेपालका सुपरिचित डिजिटल कलाकार तथा संगीतकार हुन्। सुलोचना भन्छिन्, ‘‘उहाँबाटै (अशिम शाक्य) क्यालिग्राफी केवल हस्तलेखन नभई, अक्षरहरूलाई कलात्मक ढंगले प्रस्तुत गर्ने ‘आर्ट अफ् लेटरिङ’ रहेछ भन्ने बुझें। उहाँको क्यालिग्राफीले मलाई निकै प्रभावित बनायो, र मैले पनि यसमा हात हाल्ने साहस पाएँ।’’

‘‘मेरो उद्देश्य हरेक व्यक्तिलाई सांस्कृतिक सौन्दर्य र अक्षरकलामार्फत प्रेरित गर्नु हो’’

शुरुमा अभ्यास गर्दा यो कला गाह्रै थियो। ‘‘बिस्तारै बुझें-क्यालिग्राफी धैर्यता र निरन्तर अभ्यासको कला हो। यसले मलाई सहनशीलता सिकायो र ध्यानजस्तो अनुभव दिलायो। कहिलेकाहीँ अभ्यासमा डुब्दा समय कहाँ बित्यो भन्ने पत्तै हुँदैनथ्यो। यसरी नै मेरो क्यालिग्राफी यात्रा शुरु भई अझै निरन्तर छ’’, उनी भन्छिन्।

क्यालिग्राफीबाटै नेपाली लिपिसँग अझ नजिक जोड़िन सकेको उनी बताउँछिन्। देवनागरीलाई कलात्मक ढंगले प्रस्तुत गर्न पाउँदा खुशीका साथ गर्व महसुस गर्छिन्। फेसबुकमार्फत क्यालिग्राफी पेजबारे थाहा पाएपछि आफ्ना लेखनहरू त्यहाँ पोस्ट गर्न थालिन्। यसले नियमित अभ्यासको अवसर र आफ्नो काम अरूले हेर्ने, सराहना गर्ने बाटो खोल्यो। यही क्रममा सन् २०१९ मा सिङ्गापुरमा भएको प्रदर्शनीमा कला पठाउने अवसर पाइन्। त्यो उनको पहिलो अन्तर्राष्ट्रिय प्रदर्शनी थियो, र त्यहाँ नेपाली लिपिको क्यालिग्राफी प्रस्तुत गर्न पाउँदा गर्वका साथ हर्ष प्रकट गर्छिन्। उनी भन्छिन्, ‘‘यसरी नेपाली लिपि र सांस्कृतिक धरोहरले मेरो क्यालिग्राफीलाई आत्मीयता, मौलिकता र विश्‍व स्तरमा पहिचान दिन महत्वपूर्ण भूमिका खेलेको छ।’’

सुलोचना भन्छिन्, ‘‘सांस्कृतिक धरोहर हाम्रो इतिहास, परम्परा र पहिचानका आधार हुन्। चाड़पर्वमा प्रयोग हुने रङहरूले कलाकारलाई क्यालिग्राफीमा नयाँ रङ संयोजनको प्रेरणा दिन्छन्। मलाई भने संस्कृतिसँग जोड़िएका चित्रहरूलाई क्यालिग्राफीसँग मिलाएर प्रस्तुत गर्दा विशेष रमाइलो लाग्छ। यसरी प्रस्तुत गर्दा क्यालिग्राफीले त्यस चित्रलाई अझ गहिरो अर्थ र पहिचान दिन्छ।’’ उदाहरणका लागि ‘आँखि झ्याल’को चित्रलाई क्यालिग्राफीसँग संयोजन गरी प्रस्तुत गरेको उनको कलाले निक्कै प्रशंसा पाएको छ। यसले केवल दृश्य सुन्दरता मात्र होइन, नेपालीपनको मौलिकता र परम्परागत सौन्दर्यलाई पनि उजागर गरेको छ।

क्यालिग्राफीका सामग्रीहरू फरक हुन्छन्। सुलाचनाका अनुसार, यसमा पाइलट प्यारलल पेन- विशेष गरी क्यालिग्राफीका लागि बनाइएको फ्ल्याट निब भएको पेन, जसले अक्षरको मोटाइ र शैली सहज बनाउँछ। कम्पास, पेन्सिल, स्केचबुक आदिले प्रारम्भिक ड्राफ्ट र रूपरेखा तयार पार्न सहयोग गर्छन्। कागज र कलमका रूपमा लोक्टा कागज, पिग्मा माइक्रोन पेन आदि प्रयोग गरिन्छ। यी गुणस्तरीय सामग्रीहरूले क्यालिग्राफीमा स्पष्ट र दिगो परिणाम दिने उनी बताउँछिन्। ‘‘डिजिटल प्रविधिमा ल्यापटप, मोबाइल आदि प्रयोग गरेर डिजाइन, रंग संयोजन र सामाजिक सञ्जालमा प्रस्तुत गर्न सहज हुन्छ। साथै, क्यालिग्राफीमा धैर्यता, नियमित अभ्यास र सही प्रविधि अत्यन्त महत्वपूर्ण हुन्छ’’, उनी भन्छिन्।

आफ्नो कलामार्फत सुलोचनाले मानवमूल्यका सन्देशहरू दिन्छिन्। उनी भन्छिन्, ‘‘मेरो कलाको सन्देश शान्ति, सौन्दर्य र आत्मिक अनुभूति हो। मेरो कला केवल लेखाइ होइन, यो मानिसको भित्री अनुभूति र भावनासँग जोड़िने माध्यम हो। म चाहन्छु मानिसहरूले बुझून् कि कला र क्यालिग्राफी मिलेर कति सुन्दर र प्रभावशाली रूप लिनसक्छ। अक्षरलाई रेखा, रूप, रङ र शैलीसँग जोड़्दा क्यालिग्राफी दृष्टिगोचर अनुभव बन्छ। मेरो उद्देश्य हरेक व्यक्तिलाई सांस्कृतिक सौन्दर्य र अक्षरकलामार्फत प्रेरित गर्नु हो।’’

भविष्यका लागि विभिन्न लिपि सिक्ने योजना लिएर अहिले यसको प्रक्रिया शुरु गरेकी छिन्। नेवारी रञ्जना लिपि आफ्नै शैलीमा लेख्ने अभ्याससँगै बन्तावा लिपिको अध्ययन र अभ्यासमा पनि लागेकी छिन्। उनी भन्छिन्, ‘‘मैले क्यालिग्राफी र आर्ट स्केचलाई मिश्रण गर्ने योजना बनाएकी छु, र यो प्रक्रिया शुरु गरिसकेकी छु। आशा छ, यी दुई कलाको संयोजनले मेरो लेखनकलालाई अझ उज्यालो र आकर्षक बनाउनेछ। प्रयास निरन्तर जारी छ, र म यसबाट नयाँ सिर्जनात्मक शैलीहरू विकास गर्न चाहन्छु।’’

क्यालिग्राफीको करियरबारे सुलोचना भन्छिन्, ‘‘क्यालिग्राफीलाई करियरको रूपमा लिनु दिगोपन मुख्यत: यसलाई कसरी उपयोग र प्रस्तुत गर्नुभयो भन्नेमा निर्भर हुन्छ। अहिले संसारभर ह्यान्डमेड आर्ट, व्यक्तिगत टच र क्रिएटिभ डिजाइनको माग बढ़्दो छ, त्यसैले यसको सम्भावना राम्रो छ।’’ उनले क्यालिग्राफी करियरको सम्भावना र दिगोपनबारे केही दृष्टिकोण प्रस्तुत गरेकी छिन्: १) शिक्षण-कार्यशाला: व्यक्तिगत वा अनलाइन क्लास संचालन गर्न सकिन्छ। २) मागअनुसारको काम: निमन्त्रणा कार्ड, विवाह/इभेन्ट डिजाइन, मेनु, लोगो वा पर्सनलाइज्ड गिफ्टहरूमा माग बढ़ी छ। ३) ब्राण्ड र सहकार्य: कपड़ा, होम डेकोर वा प्रोडक्टमा क्यालिग्राफी प्रिन्ट गरेर ब्राण्ड बनाउन सकिन्छ। ४) डिजिटल अवसर: डिजिटल क्यालिग्राफी प्रयोग गरेर अनलाइन प्रिन्टेबल्स, फन्ट वा टेम्प्लेट बेच्न सकिन्छ। ५) सोसल मिडिया र कन्टेन्ट: इन्स्टाग्राम, युट्युब, टिकटकजस्ता प्लेटफर्ममा आर्ट शेयर गरेर दर्शक जुटाउन सकिन्छ, जसले ब्राण्ड डिल र आम्दानी ल्याउँछ। ६) आर्ट एक्जिबिशन र सेल: मौलिक आर्टवर्कहरू प्रदर्शनी वा अनलाइन प्लेटफर्ममार्फत बेच्न सकिन्छ।

क्यालीग्राफीलाई पेशाकै रुपमा अप्नाएर उनले क्यालीग्राफी टी-शर्ट कम्पनी ‘स्तुपा एक्स’ स्थापित गरेकी छिन्। आफ्नो कला दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई पनि बेलाबखतमा सिकाउँछिन्। खरसाङ-दार्जीलिङका स्कूलतिर पनि क्यालीग्राफीबारे बुझाउन उनी इच्छुक छिन्। उनी राम्रा गायिका पनि हुन्। युट्युब र फेसबुकमा उनका गीतहरू सुन्न सकिन्छ। पुराना नेपाली गीतहरू गाउँछिन् र गीतबारे सबैलाई सम्झना गराउँछिन्।

सुलोचनाको क्यालिग्राफी केवल लेखाइ होइन-यो शब्द, रंग र आत्माको संगम हो, जसले हरेक दर्शकलाई नेपालीपनको सुगन्धमा भिजाउँछ। सुलोचनाको यात्रा आज नेपाली लिपिको सौन्दर्य र गहिराइ फैलाउने अभियान बनिसकेको छ।


Share this news
आजको रोजाइ
ज्ञानेन्द्र खतिवड़ालाई बद्रीनारायण प्रधान पुरस्कारले अलङ्करण गरिने 

ज्ञानेन्द्र खतिवड़ालाई बद्रीनारायण प्रधान पुरस्कारले अलङ्करण गरिने 

पर्दामा हिमाली भेकको यथार्थ उतार्दै विवेक

पर्दामा हिमाली भेकको यथार्थ उतार्दै विवेक

Oplus_131072

सरकारले घुँडा टेकिसकेको आन्दोलनलाई विफल बनाइरहेछन्

क्रिस्मस पालन गर्ने परम्परा अनि यसको इतिहास

क्रिस्मस पालन गर्ने परम्परा अनि यसको इतिहास

सुलोचनाको क्यालीग्राफी संसार: अक्षरमा नेपालीपनको सौन्दर्य

सुलोचनाको क्यालीग्राफी संसार: अक्षरमा नेपालीपनको सौन्दर्य

अनित खाती

अनित थापाले 313 को प्रतिष्ठा बचाएः युवा शक्ति

आसना छेत्रीलाई तिनको उपलब्धिको निम्ति सम्मान जनाइयो

आसना छेत्रीलाई तिनको उपलब्धिको निम्ति सम्मान जनाइयो

अनित थापाले वृद्ध-वृद्धाहरूसित क्रिशमस मनाए

अनित थापाले वृद्ध-वृद्धाहरूसित क्रिशमस मनाए

बिहीवारे हाटमा न्यानो लुग धेरै बिक्री

बिहीवारे हाटमा न्यानो लुग धेरै बिक्री

रोहिणी रोडमा गएको पैह्रोको कारण सम्पूर्ण क्षेत्रलाई समस्या: कल्पना प्रधान

रोहिणी रोडमा गएको पैह्रोको कारण सम्पूर्ण क्षेत्रलाई समस्या: कल्पना प्रधान