तीनधारे, (निसं): गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले तीनधारेको बीस माइलस्थित शान्ता भवनमा पुगेर वृद्ध-वृद्धाहरूसित बसेर इसाईहरुको मुख्य चाढ़ क्रिसमस पालन गरेका छन्। जीटीए प्रमुख अनित थापाले प्रत्येक वर्ष शान्ता भवनमा पुगेर वृद्ध-वृद्धाहरूसित बसेर क्रिसमस पालन गर्ने गरेका छन्। यसै क्रममा यसपाली पनि उनले शान्ता भवनमा पुगेर क्रिसमस पालन गर्दै क्रिसमसको उपहार पनि प्रदान गरेका छन्। यस क्रममा क्रिसमसको केक पनि जीटीए प्रमुख अनित थापाको उपस्थितिमा वृद्ध-वृद्धाहरूलाई सिस्टरको बाहुलीबाट काटेर सबैलाई वितरण गर्दै क्रिसमस पालन गरिएको छ। यस अवसरमा उनीसित तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, सभासद प्रणाम रसाइली लगायत अन्यहरु पनि उपस्थित रहेका थिए। उक्त अवसरमा क्रिसमसको गीतहरु पनि गाइएको थियो भने विभिन्न सांस्कृतिक र सांगीतिक कार्यक्रमहरु पनि आयोजना गरिएको थियो। कार्यक्रममा स्थानीय कलाकारहरुले गीत, नृत्य प्रस्तुत गरेका थिए। उक्त कार्यक्रमलाई शिक्षक युवराज सुन्दासले सञ्चालन गरेका थिए।










