बंगलादेशमा आगामी आम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक तापक्रम चर्किँदै गएको छ। यसबीच, बंगलादेश नेशनलिस्ट पार्टी (BNP) का कार्यकारी अध्यक्ष तरिक रहमान १७ वर्षपछि आफ्ना परिवारसहित ढाका फर्किँदा राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ। धेरै समर्थकले उनलाई अबको सम्भावित प्रधानमन्त्री भनेर हेर्न थालेका छन्।
तरिक रहमान लामो समयदेखि लण्डनमा बसोबास गर्दै आएका थिए। उनीमाथि लागेका विभिन्न भ्रष्टाचारसम्बन्धी मुद्दाहरू पछि-पछि अदालतबाट खारेज भए, र त्यसपछि उनी पुनः सक्रिय रूपमा राजनीतिमा फर्किएका हुन्। ढाका फर्किएपछि आयोजित विशाल सभामा उनले आफूले बंगलादेशका लागि तयार पारेको योजनाबारे बोल्दै भने— बंगलादेश पहाडदेखि तराईसम्म, र सबै धर्म–सम्प्रदायका नागरिकको साझा देश हो, र देशको भविष्य समावेशी बनाउने छौं।
बितेका वर्षहरूमा तीनपटक सत्ता सम्हालेको बीएनपीले अबको निर्वाचनमा फेरि बलियो उपस्थितिको दावि गरिरहेको छ। तरिकको स्वदेश फिर्तीलाई पार्टीले उत्साहपूर्ण रूपमा स्वागत गरेको छ र यसले आगामी चुनावी समीकरणमा ठूलो प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।
अर्कोतिर, अवामी लिग अहिले चुनावी प्रक्रियाबाट टाढा राखिएको अवस्थामा बीएनपीलाई थप अवसर मिलेको विश्लेषण गरिएको छ। पार्टीले संगठनभित्र एकता मजबुत गर्दै आगामी निर्वाचनमा अग्रणी शक्तिका रूपमा उभिन लक्ष्य तय गरेको छ।











