परम्पराको धरोहरलाई नृत्यमार्फत उचाइ दिँदै कोमल गुरुङ

Share this news

सञ्जय प्रधान 

सानै उमेरदेखि नृत्यप्रति आकर्षण राख्ने कोमल गुरुङले एकदिन नर्तकी बन्ने कल्पना भने गरेकी थिइनन्। तर नृत्यप्रेमले चलायमान बनाएको सोही यात्राले उनलाई आज सिक्किमकी अग्रणी नृत्य प्रशिक्षकका रूपमा स्थापित गराएको छ। गान्तोकको आरिथाङमा जन्मिएकी कोमल सानोमा पुलिस अफिसर बन्न चाहन्थिन्। स्कूलको कार्यक्रम र प्रतियोगितामा देखाएको असाधारण प्रतिभाका कारण नृत्यकै मार्गतर्फ मोड़िइन्।

देवीलाल गुरुङ र गोमा गुरुङकी छोरी कोमल विद्यालयको मञ्चमा चम्किएको क्षणदेखि नृत्यलाई नै जीवनमार्ग बनाउने अठोटमा उभिइन्। वेस्ट प्वाइन्टमा अध्ययनपछि उनले कलकाताको भवानीपुर एजुकेशन सोसाइटी कलेजबाट इतिहासमा एमए गरिन्। स्कूलको कार्यक्रम र प्रतियोगितामा उत्कृष्ट प्रदर्शनले उनले प्रेरणा पाइन्। स्कूलमा मिरिक निवासी गुरुमा सबिता गजमेरले नृत्यको क्षेत्रमा प्रोत्साहन दिन्थिन्। समग्र परिवारमा पहिलो नृत्य कलाकार कोमल शास्त्रीय नृत्य सिक्न र यसमा जुट्न सानैदेखि तत्पर थिइन्। यही चाहनाले सन् २०११ मा कलकाताको ‘भारतीय नाट्य कलालय’बाट भरतनाट्यममा तीन वर्षको डिप्लोमा गरिन्। पढ़ाइपछि घर फर्केर त्यसै बसिनन्, उनले नृत्य प्रशिक्षण केन्द्र खोलेर आत्मनिर्भर बन्ने बाटो रोजिन्। एमए गरेकी छोरी सरकारी नोकरी गरोस् भन्ने आमाबाबुको चाहना भए पनि नृत्यमै भविष्य बनाउने उनको अठोट बलियो थियो। त्यतिबेला नृत्यको भविष्य आजको जस्तो उज्यालो नदेखिँदा परिवारले यसलाई जोखिम मानेका थिए।

‘‘नृत्य-संगीतले धेरै कुराहरू सिकाउँछ। पहिला नाच्नु दु:खिया काम हो भनिन्थ्यो। अहिले यो पुरानो विचारधारा बदलिएको छ’’

सरकारी नोकरीमा उनको चासो थिएन। आमाबाबुको चाहनालाई शिरोपर गर्दै सरकारी नोकरीको अन्तरवार्ता दिइन्, दुईपल्ट नियुक्तिपत्र आयो, तर उनले स्वीकारिनन्। नियतिले उनलाई कीर्तिमानका लागि रोजेको थियो। सिक्किममा नृत्य प्रवर्द्धन गर्ने यात्रामा लागेर सन् २०१४ मा उनले गान्तोकमा ‘तपश्री डान्स एण्ड म्यूजिक एकडेमी’ स्थापना गरिन्। एकाडेमी ‘प्रयाग संगीत समिति अलाहावाद’सित सम्बद्ध छ। थुप्रै घाम-पानी, हुरी-बतासको सामना गर्दै यो एकाडेमीले एक दशक पूरा गरिसकेको छ। यहाँबाट शास्त्रीय नृत्यमा डिग्री लिन सकिन्छ।

अहिले एकाडेमीमा ६० जनाले प्रशिक्षण लिइरहेका छन्। विद्यार्थीहरूको संख्या कोर्स पूरा हुने र नयाँ भर्ना हुने क्रममा फेरिँदै जान्छ। यहाँ नृत्य सिक्ने बालबालिकालाई आत्मरक्षाका लागि मार्सल आर्ट्स पनि सिकाइन्छ। कन्टेम्पोरेरी नृत्यका लागि आवश्यक ‘एरियल एक्ट’ समेत सिकाइन्छ, जसमा लुगा-डोरीमा झुण्डिएर नृत्य गरिन्छ। टीभीका रियालिटी शोहरूमा उपयोगी यो विधा सिक्किममा केवल ‘तपश्री डान्स एण्ड म्यूजिक एकडेमी’मै उपलब्ध रहेको कोमल बताउँछिन्।

कोमलको एकाडेमीमा भरतनाट्यमसँगै नेपाली लोक नृत्यहरू पनि सिकाइन्छ। यसका लागि उनले काठमाड़ौं-पोखरामा तालिम लिएकी छिन्। एकाडेमीमा मारुनी, चुट्के, कौड़ा, घाटु, झ्याउरे, टप्पा, सोरठी आदि नृत्यहरू सिकाइन्छ। नाच्नुसँगै लोक नृत्यका कथाहरू, भेषभूषा र गरगहनाबारे पनि विद्यार्थीहरूलाई बुझाइन्छ। घाटु नृत्यका लागि सिक्किमका नेपाली लोक संगीतका विशेषज्ञ पद्मश्री पुरस्कारले सम्मानित नरेन गुरुङले तयार गरेका गीतहरू चलाउने गरेको कोमल बताउँछिन्। घाटुका कथाहरू र सोरठी नृत्यका कथा- जसमा राजा जयसिंह र रानी हेमैतीको कथा विद्यार्थीहरूलाई सुनाइन्छ। यसको उद्देश्य भनेको भविष्यका पुस्ताले पनि यी परम्पराहरू अघि बढ़ाउन सकून् भन्ने रहेको छ।

एकाडेमीमा तीनजना प्रशिक्षक र पाँचजना कर्मचारी छन्। कोमलका अनुसार, पहिलो ब्याचका विद्यार्थीहरू पेशागत रूपमा नृत्य गर्छन्। उनीहरूले नृत्यबाटै कलेजको शुल्कदेखि अन्य खर्चसमेत व्यवस्थापन गर्छन्। कतिपय नृत्य सिकेका विद्यार्थीहरू विभिन्न स्कूलमा शिक्षक बनेका छन्। नृत्य मात्र होइन आत्मनिर्भर बनेर जीवन जिउन पनि सिक्छन्। उनी भन्छिन्, ‘‘यसले (नृत्य एकाडेमी) सामाजिक रूपमा काम गरेको छ। नानीहरुलाई गलत मार्गमा जान दिँदैन। नानीहरूलाई यसबाट पेशेदार रुपमा केही राम्रो काम गर्नसक्ने बनाउनसकेको छ।’’ उनी थप्छिन्, ‘‘नृत्य-संगीतले धेरै कुराहरू सिकाउँछ। पहिला नाच्नु दु:खिया काम हो भनिन्थ्यो। अहिले यो पुरानो विचारधारा बदलिएको छ।’’

पहिला ‘बालिका निकेतन’मा नि:शुल्क नृत्यको कक्षा संचालन गर्थिन्। हिजोआज ‘बालिका  निकेतन’ बन्द भएको उनी बताउँछिन्। यस वर्ष १६ मईमा सिक्किमको ५०औँ राज्य दिवसको अवसरमा पल्जर स्टेडियममा भएको कार्यक्रममा 11 सयजनाको समूहलाई नेपाली लोक नृत्य ‘चुट्के’ नचाएर ‘तपश्री डान्स एण्ड म्यूजिक एकडेमी’ले ‘इन्टरनेशनल बुक अफ् रेकर्ड्स’मा आफ्नो नाम दर्ता गराएर कीर्तिमान स्थापित गरेको छ। ११ सयजनालाई ‘चुट्के’ नृत्य सिकाएर नचाउनु चुनौतीपूर्ण कार्य थियो, यसको लागि एकडेमीका विद्यार्थीहरू लगायत १८ वटा स्कूलका विद्यार्थीहरूलाई सहभागी गराइएको थियो। नृत्यको लागि ‘चुट्के’ गीत नरेन गुरुङले तयार गरेका थिए। यसको थिम राखिएको थियो ‘अस्तित्व’। थिम ‘अस्तित्व’ राख्नुको कारणबारे उनी भन्छिन्, ‘‘हाम्रो नेपाली भेकलाई विश्‍वभर चिनाउनका लागि ‘अस्तित्व’ राखेका हौँ।’’ सन् २०१७ मा भएको ‘नर्थ ईष्ट गट ट्यालेन्ट’मा एकाडेमी विजयी भएको थियो। उनी विभिन्न संघ-संस्थाबाट सम्मानित भइसकेकी छिन्।

एक दशकमा नृत्यको करियर कतिको दह्रो भएको छ? प्रश्‍न गर्दा उनी भन्छिन्, ‘‘यो आफूमाथि नै निर्भर हुन्छ। आफ्नो काम इमान्दारीपूर्वक गरे राम्रो हुनेछ। अहिले सरकार पनि सहयोगी छ। आफ्नोमा गर्ने क्षमता छ भने सक्छ नै भन्ने लाग्छ। म अहिले यहाँ आइपुग्दा सक्छ नै भन्ने लाग्छ।’’ उनी अझ भन्छिन्, ‘‘जुनै काममा पनि दु:ख नगरी सुख हुँदैन। आफूलाई मन परेको काम गर्नु ठूलो कुरा होइन। राम्रोसँग गरे केही पनि गर्न सकिन्छ। मन परेको काम गर्दा पैसाले मात्र होइन मनले पनि सुख पाइन्छ जस्तो लाग्छ।’’

यस एकाडेमीमा विद्यार्थीहरूलाई सामाजिक कार्य र पर्यावरण संरक्षणको महत्व बुझाइन्छ। प्राकृतिक प्रकोपमा विद्यार्थीहरू सहयोग गर्न अघि सर्छन्। ‘‘संगीत, कला आदिले मानिसको मानसिक तथा शारीरिक अवस्थालाई धेरै सहयोग गर्छ। अहिले नानीहरूले फोन छोड्दैनन् भन्ने अभिभावकबाट कुरा सुन्छौं। संगीतले भावनात्मक रूपमा सहयोग गर्छ र डिप्रेसनमा जान दिँदैन’’, उनी भन्छिन्। उनको एकाडेमीमा पाँच वर्षदेखि १२-१३ वर्षका बालबालिका तथा ठूलाहरू पनि आउँछन्। बढ़ीजस्तो बालिकाहरू हुन्छन्। यहाँ बाल सुरक्षाबारे सचेत गराइन्छ, जसमा ‘गुड टच’ र ‘ब्याड टच’बारे बुझाइन्छ।

सिक्किममा नृत्य शिक्षालाई आधारभूत संरचना बनाउन कोमल गुरुङको प्रयास केवल पेशागत सफलतामा सीमित छैन। उनी नेपाली लोकनृत्यका गाथा, पहिचान र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउँदै सांस्कृतिक संरक्षणको महत्वपूर्ण काम गरिरहेकी छिन्। समर्पण, अनुशासन र निरन्तर अभ्यास- यही तीन आधारमा उनले युवा प्रतिभालाई उज्यालो भविष्योन्मुख बनाउँदै सिक्किममा नृत्यको जग अझ दह्रो बनाइरहेकी छिन्।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ