पाँच ‘ज’ र एक ‘जाँगर’ले बनेका किसान

Share this news

सञ्जय निरौला, बिजनबारी

दार्जीलिङ बजारदेखि लगभग २५ किलोमिटर टाढ़ो गोक-1 ग्रामको गाउँ कमजेरमा एक किसान छन्, जसले घामको पहिलो किरणभन्दा अगाड़ि धरती स्पर्श गर्छन्। बारीमा पसिना बगाउँदै, मौरीको भुनभुनसँगै, चियाको चुस्की लिँदै वर्षभर लाखौँका काँक्रा फलाउने उनी हुन् दिपेन खरेल- एक प्रेरणादायी पात्र, जो परम्परागत ज्ञान र आधुनिक प्रविधिको संगमले दार्जीलिङ भेकमै एक सफल उद्यमी किसान बनेका छन्। कृषिको सम्मानस्वरूप ‘कृषि रत्न पुरस्कार’ पाएका खरेलको बगान आज फार्म स्कूल बनेको छ। उनी मात्र किसान होइनन्, गाउँमै रोजगारी र सम्भावनाको बीउ रोप्ने संकल्प हुन्।

युवा दर्पण 

दार्जीलिङ बजारको भीड़बाट सड़कहरू छिचोल्दै गुरुदेवको दर्शन टकभरमा गर्दै सुवास घिसिङले निर्माण गरेको मुक्ति पुल तरेर केही माथि पुगिन्छ गोक बजार। त्यसैको अलि मुन्तिर राङभाङ खोलाभन्दा अलिक मास्तिर अवस्थित छ कमजेर बस्ती- यो हो दार्जीलिङ-सिक्किमको सीमावर्ती गाउँ। बिहानीको घामको किरणले धरतीलाई स्पर्श गर्नुअघि नै उनी स्पर्श गर्न पुग्छन् धरतीलाई। त्यही स्पर्शबाट शुरु हुन्छ उनको दिनचर्या। स्वस्थ रहन कोही वकमा जान्छन्, कोही जीममा जान्छन्, तर उनी घाँसको मुठा बोकी दार्मे र कोरलीलाई खुवाउँछन्, कोदालो र काँटा लिएर बारीमै जीम गर्छन्। उनी फलाउँछन् बारीमा वर्षभरी लाखौँका काँक्रा र करेलासँगै वर्षभर खाने धान र मकैजस्ता अन्न।

‘‘जाँगर गर्नेलाई देश तथा विदेश कतै जानु पर्दैन गाउँमै आयआर्जन राम्रो हुन्छ’’

आफ्नै काकाबाट प्रेरणा पाएर सानैदेखि खेतीपाती भनेपछि मरिहत्ते गर्ने खरेल अहिले दार्जीलिङ भेककै उद्यमी किसानको रूपमा उदाएका छन्। मेहनत र लगनशीलता भएमा रोजगार खोज्न होइन दिन सकिन्छ भन्ने उदाहरण बनेका छन् उनी। यसैको कदर गर्दै तथा खेतीमा परम्परागत तथा आधुनिकताको मिश्रण गरि नयाँ तौरतरिकाले गरेको भन्दै उनलाई सन् २०१९ मा पश्‍चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीको बाहुलीबाट दार्जीलिङ पुलबजार खण्ड स्तरीय ‘कृषक रत्न पुरस्कार’ले सम्मान प्रदान गरिएको छ। बिहानैदेखि हरियालीले ढाकिएको खेतको आलीमा रमाउने उनी भन्छन्, ‘‘एक सफल किसान हुनुपर्छ भने हामीसँग पाँचवटा ‘ज’हरू हुन अनिवार्य छ। जसमा पहिलो ज- जमिन, दोस्रो ज- जल, तेस्रो ज- जंगल, चौथो ज- जन र पाँचौ ज- जनावर अनिवार्य हुनुपर्छ।’’ उनी अझ भन्छन्, ‘‘त्यस पाँचवटा ‘ज’लाई चलाउने अत्यन्तै महत्त्वपूर्ण ‘ज’ हो जाँगर, त्यो नभए सबै निष्क्रिय हुन्छन्। यसैले सफल किसान हुनुमा जाँगर नै अत्यन्तै महत्त्वपूर्ण छ।’’ उत्तम खेती, मध्यम व्यापार तथा निज नोकरी भन्ने मूलमन्त्र मान्ने खरेल भन्छन्, ‘‘जाँगर गर्नेलाई देश तथा विदेश कतै जानु पर्दैन गाउँमै आयआर्जन राम्रो हुन्छ।’’ यसैले पहिला आफै उद्यमी भएर अघि आउने सबैलाई उनी आह्वान गर्छन्। युवाहरूलाई पलायन होइन स्वनिर्भर बन्ने उनको सुझाव छ।

कुलप्रसाद खरेल र गोमादेवी खरेलका छोरा दिपेनले सन् १९९६ तिर स्नातक उत्तीर्ण गरेका हुन्। हाल उनी गाउँकै शिशु शिक्षा केन्द्रमा कार्यरत छन्। काकाले दार्जीलिङका विभिन्न स्थानहरूसँगै स्थानीय स्तरमा आयोजित कृषि मेलामा विभिन्न कृषि उत्पादन बोकेर जाँदा सानैदेखि पछ्याउँदै हिड़्ने खरेलले कृषिलाई नै जिउने साधन माने। उनको बारीमा सालभर काँक्रा करेला भेन्डी बैगुन, भैंसीसिङ्गे, तुनेबोडी, घिरौलाजस्ता लहरे तरकारीसँगै खोर्सानी वर्षामा तथा कोपी, आलु, साग, मुलाजस्ता तरकारी हिउँदमा उत्पादन हुने गर्दछ। यसैको भरमा उनको घरको खर्च इतिश्री चल्नेसँगै छोराछोरीहरूको पठनपाठनलगायत चाड़पर्व मरौबिहा सबै धान्नेगर्छ। यसका साथै उनी मकै र धानजस्ता अन्न पनि उत्पादन गर्दछन्।

खेतीबाट वर्षेनी ठोस रकम नआए पनि घरमा पैसारुपियाँको कमि नहुने बताउने खरेलले सिजनको शुरुमा घरैमा तीन सय रुपियाँ प्रति केजीसम्म काँक्रा बेच्ने गर्दछन्। हप्तामा दश मनसम्म काँक्रा टिपेको उनी बताउँछन्। यसैले उनको बगानलाई खण्ड कृषि विभागले गएको केही वर्षयता फार्म स्कूलको रूपमा घोषणा गरेको छ। वर्षभर दार्जीलिङ, सिक्किमका विभिन्न स्थानहरूबाट कृषिको व्यहारिक तालिमको निम्ति विद्यार्थीहरूसँगै स्वनिर्भर समूहका सदस्यहरू पनि तालिमको निम्ति आउने गर्दछन्। यस्तै उनको खेतीलाई देखेर धेरैले कृषि पेशालाई अप्नाएको तथा आफूसँग कृषिबारेमा जानकारी लिएर धेरैले काम गर्दै आएको खरेलको भनाइ छ। उनैको हिउँदे खेतीमा दार्जीलिङ पुलबजार खण्डको मदेशसरह स्प्रीङकल चलेको लगायतको अनुभव उनी साझा गर्छन्।

यति मात्रै होइन उनको खेतीमा मदेशमा जस्तै सुपारी-पान, मरिच, नरिवलको उत्पादन उत्तिकै हुन्छ, जुन पहाड़को निम्ति निक्कै अनौठो उत्पादन हो। भौगोलिक रूपमा मदेशजस्तै देखिने कमजेर बस्ती बजारभन्दा केही टाढ़ामा अवस्थित छ। उत्पादन भएको सागसब्जी सिक्किमको जोरथाङ, नाम्ची तथा गान्तोकसम्म पुग्ने भएकाले बजारीकरणको समस्या हालसम्म भएको छैन। दार्जीलिङ पहाड़मा मात्रै बजारीकरण गर्नुपर्ने भए असुविधा हुनसक्ने उनको भनाइ छ भने पहाड़को कृषि उत्पादनहरुले प्रदर्शन गर्नपाउने कृषि मेला हुनुपर्ने उनको अनुरोध सम्बन्धित सरकारप्रति छ।

दिपेन खरेलजस्ता किसानहरूको कथा केवल व्यक्तिगत सफलता होइन, सामूहिक सम्भावनाको चित्रण हो। उनले खेतीलाई केवल जीवनयापनको माध्यम होइन, आत्मसम्मान र सामाजिक रूपान्तरणको मार्ग बनाएका छन्। गाउँमै बस्दै आधुनिक सोच, परिश्रम र प्रतिबद्धता मिलाएर आत्मनिर्भर जीवन सम्भव छ भन्ने सन्देश दिन्छन् उनी। यस्ता प्रेरणादायी पात्रको योगदानलाई समाजले चिन्नु जरुरी छ, र उनकै बाटो पछ्याउँदै दार्जीलिङको ग्रामीण अर्थतन्त्र सुदृढ़ बन्नसक्ने सम्भावना छ।


Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ