खरसाङ, (निसं)ः जीटीएको 28 नम्बर खरसाङ शहर चिम्नी देवराली समष्टि अन्तर्गत खरसाङ नगरपालिकाको वार्ड नम्बर 4 मा हिमाली बोर्डिङ स्कूल नजिक रहेको छोईधिम एकाडमी प्रि-नर्सरीमा एक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। आइतवार सम्पन्न भएको यो सचेतना मूलक कार्यक्रममा वर्तमानमा बाल-बालिकाहरूलाई पढ़ाउने अथवा शिक्षा प्रदान गर्ने तौर-तरिकामा आएको परिवर्तनको बारेमा उपस्थित अभिभावक, स्थानीय मानिसहरूलाई अवगत गराइयो।
वर्तमानको बदलिएको परिस्थिति र बाल-बालिकाको मनोस्थितिलाई हेरेर कस्तो तरिकाले, कुन नयाँ तरिकाले, कसरी पढ़ाउने भन्ने विषयमा चर्चा गरियो। यस सचेतना कार्यक्रममा समष्टि सभासद् श्याम शेर्पा, डाक्टर आमसु प्रधान, प्रा. प्रजवल प्रधान, गोर्खा भूतपूर्व सैनिक कल्याण समितिका प्रतिनिधिहरू भूतपूर्व कप्तान अमृत प्रधान, भूतपूर्व कप्तान अजय तामाङ, सुवेदार मेजर पवन राई, साथीसङ्गी सेल्फ हेल्प ग्रुपका सदस्यहरू अनि अन्यान्यको उपस्थिति रहेको थियो।
कार्यक्रममा भविष्यको लागि पठन-पाठन र शिक्षणको तौर-तरिका बारेमा योजनाहरू विषय चर्चा-परिचर्चा गरियो। यस कार्यक्रमको सञ्चालन छोई धीम एकाडमीकी निर्देशक पुनम तामाङले गरेकी थिए। तिनले एकाडमीको उद्देश्य र यो सञ्चालन कसरी भइरहेको छ भन्ने बारेमा प्रकाश पारिन्। वर्तमानमा शीतकालिन बिदा रहेको महिनाहरूमा शिक्षक-शिक्षिकाहरूलाई प्रशिक्षण प्रदान गर्न एकाडमीको योजना रहेको तिनले बताइन्।
कार्यक्रममा उपस्थित सबै अतिथिहरूले एकाडमीलाई आ-आफ्नो क्षमता अनुसार सहयेोग गर्ने आफ्नो वक्तव्यमा बताए। गोर्खा भूतपूर्व सैनिक कल्याण समितिका प्रतिनिधिहरूले विभागबाट प्राप्त योजनाहरूलाई यस एकाडमीलाई प्रदान गराउन सहयोग गर्ने वचन दिए। सभासद् श्याम शेर्पाले एकल प्रयासमा सञ्चालन भइरहेको यस एकाडमीको प्रशंसा गर्दै सबैले यस्तै हिम्मत र जाँगर देखाउन पर्छ भन्दै, एकाडमीलाई आफूले सकेको सहयोग प्रदान गर्ने बताए।











