खरसाङ, (निसं): साहित्यकार एवं समाजसेवी चन्द्र शर्माको बिहीवार अन्तिम संस्कार गरिएको छ। उनको अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई श्रध्दाञ्जली अर्पण गर्नलाई केही समय गोर्खा जनपुस्तकालयको टीएस गुरुङ मञ्चमा राखिएको थियो, जहाँ उनलाई खरसाङ क्षेत्रका वरिष्ठ साहित्यकारहरु, समाजसेवीहरु र अन्यले श्रध्दाञ्जली अर्पण गरेका थिए। यसावधि चन्द्र शर्मा विषयमा वरिष्ठ व्यक्तित्वहरुले श्रध्दाञ्जलीको शब्द अर्पण गर्दै वक्तव्य राखेका थिए। यस श्रध्दाञ्जली अर्पण कार्यक्रमलाई गोर्खा जनपुस्तकालयको मूल सचिव विनोद रसाइलीले सञ्चालन गरेका थिए।
खरसाङका वरिष्ठ साहित्यकार एंव समाजसेवी चन्द्र शर्माको बुधवार राती 8ः15 बजीतिर निधन भएको छ। उनको 78 वर्षको उमेरमा खरसाङ महकुमा अस्पतालको आईसीयुमा निधन भएको छ। उनी मधुमेह रोगले पीड़ित थिए भने गत शनिवार 13 दिसम्बरको दिन अस्पतालमा उपचारको लागि भर्ना भएका थिए।
साहित्यकार चन्द्र शर्माको भतिज नन्दन शर्माले जानकारी गराए अनुसार चन्द्र शर्मा विष्णुमाया शर्मा फाउण्डेशनको संस्थापक, शिवकुमार राई अकादमीको संस्थापक साथै सचिव, गोर्खा जनपुस्तकालय खरसाङका संरक्षक, साई समिति खरसाङ्को मुख्य सदस्य, आकाशवाणी खरसाङका समाचार वाचक पनि रहेका थिए। उनले विभिन्न पुस्तकहरु सम्पादनको कार्य गरेका छन् भने विभिन्न भाषामा रहेका बहुमूल्य पुस्तकहरु पनि अनुवाद गरेका छन्।










