बदलिएको सपनाले बनायो नयाँ पहिचान

Share this news

सञ्जय प्रधान- 

बाबुको इच्छा थियो छोरीलाई पुलिस अधिकारी बनाउने, तर छोरीले रोजिन् अर्को चुनौतीले भरिएको चिया बगान। चिया बगानको प्रबन्धन क्षेत्रमा पुरुषकै वर्चस्व रहँदै आएको छ। यो परम्परालाई तोड्दै पुलिस अधिकारी स्व० परशुराम लिम्बू र प्यारी लिम्बूकी छोरी लक्ष्मी लिम्बू कौशल बनिन् दार्जीलिङ पहाड़ी भेकको पहिलो महिला एसिस्टेन्ट म्यानेजर। यसका साथै उनी कन्फेडेरेसन अफ् इण्डियन इन्डस्ट्रिज (सीआईआई)को पश्‍चिम बंगालको प्रमुख बनेर उद्योग तथा व्यापार क्षेत्रलाई नयाँ उचाइँमा पुर्‍याउने कार्यमा लागिन्।

नारी दर्पण 

 सपनाको पहिलो खुड्किलो

३ मई १९७४ मा जन्मिएकी कालेबुङको सिन्देबुङ डुङ्ग्रा बस्ती निवासी लक्ष्मी लिम्बू कौशलले प्रारम्भिक शिक्षा अरुणाचल, मेघालयमा हासिल गरिन्। दार्जीलिङको सेन्ट जोसेफ कलेजबाट पोलिटिकल साइन्स (अनर्स)मा स्नातक गरिन्।  बाबु स्व० परशुराम लिम्बू अरुणाचल प्रदेशमा राष्ट्रपति मेडलद्वारा सम्मानित नेफाका पुलिस अधिकारी थिए। उनी भन्छिन्, ‘‘मलाई बाबाले पुलिस अफिसर हुनुपर्छ भन्नु हुन्थ्यो।’’ प्रेरणाको लागि भारतका चर्चित पुलिस अधिकारी किरण वेदीको फोटो देखाउँथे। उनी भन्छिन्, ‘‘मेरो रोल मोडल किरण वेदी बन्यो।’’ पुलिस सेवाकै लागि कलेजमा एनसीसीको उत्कृष्ट केडेट बनेर पश्‍चिम बंगाल र सिक्किमबाट स्वर्ण पदक प्राप्त गरिन्। एनसीसीबाट उनी युथ एक्सचेन्ज कार्यक्रमको लागि क्यानडामा चयन भएकी थिइन्।

चिया बगानले बदलियो सपना

लक्ष्मीकी भेना प्रेम तामाङ चिया बगानमा डायरेक्टर थिए। उनीसित विभिन्न चिया बगानमा जाँदा एकैजना पनि महिला प्रबन्धनमा देखिनन्। ६० प्रतिशत महिलाहरूले पत्ती टिपेको देख्दा चिया बगानमा प्रबन्धनको क्षेत्रमा काम गर्ने विचार गरिन्। पुलिस सेवाको लक्ष्यलाई पन्साएर चिया बगानमा काम गर्ने भनेर परिवारमा सल्लाह गरिन्। यसपछि उनी शिव मन्दिर सिलगढ़ीमा नेशनल इन्स्टिच्युट अफ् टी म्यानेजमेन्टमा पोस्ट ग्राजुएट कोर्स गरिन्। यहाँ उनले स्वर्ण पदक प्राप्त गरिन्।

पहाड़को पहिलो महिला एसिस्टेन्ट म्यानेजर 

चिया खेतीको कोर्स सकेपछि २२ वर्षको उमेरमा सन् १९९७ मा मिरिकअन्तर्गत सियोक चिया बगानमा जुनियर एसिस्टेन्ट म्यानेजरको पदमा नियुक्त भइन्। यहाँ तीन वर्ष काम गरेपछि सन् २००७ देखि गुडरिक ग्रुपको दार्जीलिङ स्थित चिया बगान बार्न्सबेगमा एसिस्टेन्ट म्यानेजरको पदसम्म पुगेर काम गरिन्। प्रबन्धनको क्षेत्रमा बसेर चिया बगानको काम गर्न कड़ा चुनौती थियो। बगानको टाड़ो ठाउँमा जानलाई मोटर बाइक र गाड़ी चलाउन सिकिन्। कहिले राति १२ बजे एक बजे चियाको कारखानामा पुग्थिन्, कहिले बगानको दुर्गम ठाउँमा अप्ठ्यारो बाटोमा हिँड़ेर पुग्थिन्। यो समय निक्कै कठिन संघर्ष र कड़ा चुनौतीले भरिएको उनी बताउँछिन्। १० वर्ष यसरी चिया बगानमा काम गरिन्।

‘‘सफलताको यात्रा सजिलो छैन, तर दृढ़ निश्‍चयले सम्भव छ’’

सीआईआईमा जिम्मेदारी

चिया बगानमा कार्यरत रहँदै सन् २००७ मा सीआईआईको उत्तर बंगाल सम्हाल्न दिल्लीबाट लक्ष्मीले अफर पाइन्। सिलगढ़ी सरुवा हुनुपर्ने द्विविधामा रहँदा संयोगवश भारतीय सेनामा रहेका उनका पति लेफ्टिनेन्ट कर्णल विक्रान्त कौशलको पनि सिलगढ़ीको बेङ्डुबीमा सरुवा भयो। उनले चिया बगानको काम छोड़ेर सीआईआई उत्तर बंगाल र सिक्किमको प्रमुखको जिम्मेवारी सम्हालिन्। यहींबाट पदोन्नति भएर सीआईआई पश्‍चिम बंगालको प्रमुख बनेर कलकता गइन्।

सीआईआईमार्फत उनले साना-मझौला उद्योगहरूलाई चिया तथा कृषि उत्पादनसँग जोड़्न महत्त्वपूर्ण भूमिका खेलिन्। अदुवा, अलैंची, अम्लिसो, महजस्ता उत्पादन प्रवर्द्धन गर्न दार्जीलिङ पहाड़का किसानहरूसँग प्रत्यक्ष सम्पर्क गरिन्। सीआईआईबाट प्रतिनिधि मण्डल लिएर इङ्गल्याण्ड, रुस, चीन, म्यानमार, नेपाल, भुटान, अमेरिका पुगिन्। सन् २००७ देखि २०२२ सम्म सीआईआईबाट उत्तर बंगाल क्षेत्रको औद्योगिक विकासमा महत्त्वपूर्ण योगदान दिइन्। सन् २०२२ देखि लक्ष्मी टाउनशिप-लक्ष्मी ग्रुपमा निर्देशकको रूपमा कार्यरत रहँदै सीआईआई उत्तर बंगालको चेयरमेनको अतिरिक्त पद सम्हालिरहेकी छिन्। उनी कालेबुङ रत्न पुरस्कार, स्टार एचिभर्स अवार्डलगायत धेरै पुरस्कारहरूले सम्मानित भइसकेकी छिन्। उनी सिलगढ़ीको उत्तरायणमा बस्छिन्।

‘‘संकल्पित हुनुपर्छ’’

यस वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको थिम ‘एक्सिलेरेट एक्सन’अर्थात ‘तीव्र कार्यन्वयन’को बारेमा कुरा गर्दा उनी भन्छिन्, ‘‘मुख्य रुपमा केवल थिम मात्र नलिएर एउटी महिला जब कुनै व्यवसायमा आउँछिन्, आफूलाई महिलाको रुपमा मात्र नलिएर इमान्दारितापूर्वक समर्पित भएर काम गर्नुपर्छ। एकजना मान्छे भएर काम गरे कुनै पनि स्तरमा तीव्र कार्यन्वयन गर्न सकिन्छ। त्यति बेला निर्णयहरू दह्रो हुनुपर्‍यो।’’ उनी अझ भन्छिन्, ‘‘महिलाको हैसियतमा कतिवटा निर्णय दह्रो लिनुपर्छ। सानो व्यवसाय गर्नुछ भने पनि आफू संकल्पित हुनुपर्छ। आज मेरो तीन दशकको करियरमा चिया बगानमा हुँदा सजिलो थिएन। महिलालाई हरेक मोड़मा समस्या हुन्छ, कारण धेरै काम गर्नुपर्छ। घर हेर्नुपर्छ, आफ्नो काम गर्नुपर्छ अनि आफ्नो समाजमा पनि सहभागी हुनुपर्‍यो। त्यसकारणले गर्दा यो ‘एक्सिलेरेट एक्सन’ हरेक पाइला हेरक काममा निर्णय तीव्र हुनुपर्‍यो।’’

लक्ष्मीको सफलताको पछि निक्कै संघर्ष रहेको उनको कुराबाट बुझिन्छ। आफ्नो सफलताको पछि कति आँसु बगेको, कयौँ रातहरू अनिदो रहेको र कहिले पतनकै करिब पुगेको उनी बताउँछिन्। परिवारको सहयोग महिला उद्यमशीलताको प्रमुख आधार रहेको उनको भनाइ छ। उनी भन्छिन्, ‘‘छोरी तीन चार महिनाकी हुँदा पनि मैले निरन्तर काम गरें, किनभने मेरी आमा साथमा थिइन्।’’ महिला उद्यमीहरूलाई सशक्त बनाउन उनी सधैं मार्गदर्शन गर्न तयार रहेको बताउँछिन्। पुरुषको वर्चस्व रहने निकायहरूमा उर्जाशील रहेकी लक्ष्मी भन्छिन्, ‘‘सफलताको यात्रा सजिलो छैन, तर दृढ़ निश्‍चयले सम्भव छ।’’ भर्खरै आफ्नो करियरलाई लिएर जिन्दगीको दौड़ लगाउन शुरु गरेकी छोरी विदिशा कौशललाई पनि यही मन्त्र दिन्छिन्।


Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ