खरसाङ, (निसं): खरसाङ महकुमा अन्तर्गत टुंग सन्त मेरिज समष्टिको महारानी चियाबारीमा हिमालयन फ्रि चर्चको आयोजनामा प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम सम्पन्न भएको छ। महारानी चियाबारीको स्कूल परिसरमा सम्पन्न उक्त प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रममा प्रमुख वक्ताको रुपमा प्रेरित ध्रुव शिष्य उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सन्त मेरिज ग्राम पञ्चायत एकको पञ्चायत प्रधान रोशनहाङ सुब्बा, महारानी चियाबारीको प्रबन्धक, समाजको सभापति कर्म थामी, रेभ सिमोन मुखिया लगायत अन्यहरु उपस्थित रहेका थिए।
स्थानीय पास्टर सुनिल तामाङ र केवल सेञ्चुरीले सञ्चालन गरेको कार्यक्रममा शारदा गजमेर, पास्टर प्रमीत सुनाम र अन्यले गीत प्रस्तुत गरेका थिए भने नानीहरुले समूह नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा आराधनामा जोना तामाङले अगुवाई गरेका थिए। कार्यक्रममा वचनको लागि प्रार्थना पास्टर आनन्द लामाले गरेका थिए। प्रमुख वक्ताको रुपमा बोल्दै प्रेरित ध्रुव शिष्यले बाईबलको प्रकाश 21 को 4 बाट सन्देश बाँडेका थिए। उनले मानिसहरुको मनको पीर मेटाउन क्रिसमसको बेलामा संसारमा जन्मनु भएको यीशुले मेटाउन सक्छ, किनभने यीशुले सबैलाई प्रेम गर्नुहुन्छ भनी बताएका छन्।
उनले भने, यीशु सबैको लागि निर्मल र स्वच्छ रहेको साथै यस क्षेत्रमा मनका पीर रहेको छ भने र मनको बह पोग्नु छ भने प्रेमको परमेश्वर तपाईसित छ। पीरमा परेकाहरुलाई परमेश्वरले माया गर्नु हुन्छ। येशूले सबैलाई माया गर्नु हुन्छ। यस अवसरमा प्रेरित ध्रुव शिष्य लाई हिमालयन फ्रि चर्च महारानीको तर्फबाट सम्वर्द्धना जनाइएको छ। यस अवसरमा उनलाई खदार्पणसहित शल ओढाएर सम्बर्ध्दना पत्र प्रदान गरेर सम्वर्ध्दना जनाइएको छ।
यसै कार्यक्रममा महारानी गाउँका 12 जना वरिष्ठ नागरिकहरुलाई चर्चको तर्फबाट खदार्पणसहित उपहार प्रदान गरेर सम्मान जनाइएको छ। यस अवसरमा सबै वरिष्ठ नागरिकहरुका लागि प्रार्थना पनि गरिएको छ। कार्यक्रमलाई विशिष्ट अतिथिको रुपमा उपस्थित पञ्चायत प्रधान रोशनहाङ सुब्बालेआफ्नो सम्बोधनमा सबैलाई क्रिसमसको शुभकामना व्यक्त गरेका थिए। उनले महारानी आफ्नै बुथ रहेको र यहाँको जनताले जिताएर पठाएको कारणले आफु पञ्चायत प्रधान जस्तो गरिमामय पदमा आसिन रहेको पनि बताएका छन्। उनले चर्चलाई आवश्यकता परेमा कुनै पनि प्रकारको सहयोग गर्न तयार रहेको पनि बताएका छन्।
कार्यक्रममा चर्चको तर्फबाट केक काटेर प्रि क्रिसमस पालन गरिएको छ। यस अवसरमा केकको लागि प्रार्थना सेविका निता छेत्रीद्वारा प्रार्थना गरिएको थियो। कार्यक्रममा धन्यवाद ज्ञापन पास्टर सुनिल तामाङले राखेका थिए भने अन्तिम प्रार्थना र आशिष रेभरेन्ट सिमोन मुखियाले राखेका थिए। महारानीमा सम्पन्न प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै हिमालयन फ्रि चर्च महारानीको पास्टर सुनिल तामाङले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका छन्।










