विनाशकारी चक्रवात ‘दितवा’ का कारण अस्थायी रूपमा बन्द भएका श्रीलङ्काका अधिकांश सरकारी तथा निजी विद्यालयहरू मङ्गलबारदेखि पुनः सञ्चालनमा आएका छन्। शिक्षा मन्त्रालयका सचिव नालाका कालुवेवाका अनुसार चक्रवातबाट प्रभावित कुल १० हजार ७६ विद्यालयमध्ये ९ हजार ९२९ विद्यालयमा पठन-पाठन पुनः सुरु भइसकेको छ। उनका अनुसार सबैभन्दा बढी असर परेका उवा, मध्य तथा उत्तर-पश्चिमी प्रान्तका १ सय ४७ विद्यालय भने अझै सञ्चालनमा आउन बाँकी छन्। क्षतिग्रस्त पूर्वाधारको मर्मत र सरसफाइ कार्य जारी रहेकाले ती विद्यालय ढिलो खुल्ने जनाइएको छ।
यसैबीच, विद्यार्थीहरूको पठन-पाठनमा अवरोध नआओस् भन्ने उद्देश्यले श्रीलङ्का यातायात बोर्ड र श्रीलङ्का रेलवे विभागले चालु शैक्षिक सत्रभर निःशुल्क यातायात सेवा उपलब्ध गराउने घोषणा गरेका छन्। परीक्षा तालिकामा समेत आवश्यक समायोजन गरिएको छ। श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्रका अनुसार ‘दितवा’ चक्रवातले निम्त्याएको बाढी र पहिरोका कारण हालसम्म कम्तीमा ६ सय ३० जनाको मृत्यु भएको पुष्टि भएको छ भने २ सय १० जना अझै बेपत्ता छन्।
चक्रवातबाट ६ देखि ७ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ। इसेन्सियल सर्भिसेजका नवनियुक्त कमिश्नर जनरल प्रवात चन्द्रकेर्थीका अनुसार क्षतिको विस्तृत मूल्याङ्कन अझै जारी छ।
संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) ले स्याटेलाइट तस्बिरको आधारमा गरेको विश्लेषणमा करिब १.१ मिलियन हेक्टर जमिन डुबानमा परेको देखिएको छ, जुन श्रीलङ्काको कुल भूभागको करिब २० प्रतिशत हो।











