सिलगढी मेट्रोपोलिटिन पुलीसको भक्ति नगर थाना टोलीले अवैध रूपमा ग्यास सिलिन्डर संकलन तथा बिक्री भइरहेको घटनाको पर्दाफास गरेको छ। प्राप्त गोप्य सूचनाका आधारमा पुलीसले इस्टर्न बाइपास क्षेत्रस्थित एक पसलमा गैरकानुनी रूपमा ग्यास सिलिन्डर भण्डारण गरिएको जानकारी पाएको थियो। सूचना प्राप्त हुनासाथ पुलीस टोलीले रातिको समयमा छापा मारेको थियो। छापाका क्रममा वार्ड नम्बर ४० अन्तर्गत पर्ने उक्त पसलबाट घरेलु प्रयोगका ठूला तथा साना ग्यास सिलिन्डर धेरै मात्रामा फेला परेका थिए। पुलीसले त्यहाँबाट ८ वटा घरेलु ग्यास सिलिन्डर र १२ वटा साना सिलिन्डर बरामद गरेको छ। साथै, दुई वटा डिजिटल मेसिन र ग्यास रिफिलिङका लागि प्रयोग हुने दुई वटा नोजलसमेत जफत गरिएको पुलीसले जनाएको छ। यस अवैध कारोबारमा संलग्न रहेको आरोपमा पसल सञ्चालक उत्तम दत्तालाई पुलीसले पक्राउ गरेको छ। उनी सिलगढीको नगर निगमअन्तर्गत वार्ड नम्बर ४१ को शास्त्री नगर क्षेत्रका बासिन्दा रहेको बताइएको छ। पक्राउ परेका दत्तालाई आज जलपाइगडी अदालतमा पेश गरिएको छ।
भक्ति नगर थाना पुलीसले अवैध ग्यास रिफिलिङ कानुनी रूपमा अपराध मात्र नभई स्थानीय बासिन्दाको ज्यानका लागि समेत गम्भीर जोखिम हुने भन्दै यस्ता गतिविधिमाथि निरन्तर निगरानी र कडा कारबाही गरिने स्पष्ट पारेको छ।











