भारतीय घरेलु क्रिकेटमा फेरि एकपटक म्याच फिक्सिङ्गको आरोप सतहमा आएको छ। असम क्रिकेट सङ्घ (एसीए) ले सैयद मुश्ताक अली टी–२० ट्रफी २०२५ को लिग चरणका क्रममा भ्रष्ट गतिविधिमा संलग्न रहेको आरोपमा चार खेलाडीलाई तत्काल निलम्बन गरेको छ। निलम्बित खेलाडीहरूमा अमित सिन्हा, इशान अहमद, अमन त्रिपाठी र अभिषेक ठाकुर रहेका छन्। एसीएका सचिव सनतन दासका अनुसार यी खेलाडीहरूले असम टोलीका वर्तमान खेलाडीहरूलाई निश्चित प्रदर्शनका लागि उक्साउने प्रयास गरेका थिए। घटनापछि बीसीसीआइको एन्टी–करप्सन एन्ड सेक्युरिटी युनिट (एसीएसयू) ले अनुसन्धान गरेको र प्रारम्भिक रूपमा गम्भीर अनियमितता भेटिएको बताइएको छ। एसीएले चारै खेलाडीविरुद्ध गुवाहाटी क्राइम ब्रान्चमा एफआइआरसमेत दर्ता गरिसकेको छ।
बीसीसीआइ सचिव देवजीत साइकियाले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट गर्दै दोषी पाइए थप कारबाही गरिने बताएका छन्।











