गोक, 3 दिसम्बर(निसं):अहिले विद्यार्थीहरुको शारीरिक शिक्षा अनि खेल सम्बन्धि खेलकुद कार्यक्रम आयोजन नभएको धेरै वर्ष भयो। यही कुरालाई ध्यानमा राख्दै यहाँको गोक उच्च विद्यालयले आगमी 19 दिसम्बरको दिन वरिपरिका प्राथमिक पाठशाला, एस एस के, एमएसके विद्यालयहरुका विद्यार्थी हरुलाई लिएर खेलकुद कार्यक्रम आयोजन गर्ने भएकोछ।
यस खेलकुद कार्यक्रममा जम्मा 13 वटा खेलहरु राखिएको विद्यालयका प्रधानाध्यापक नरेश योञ्जनले जानकारी दिए। यस 13 वटा खेलहरूमा पहिलो श्रेणी देखि तेस्रो श्रेणीका केटा केटी विद्यार्थीहरुको निम्ति स्पुन रेस,स्याक रेस अनि 100 मिटरको दौड प्रतियोगिता राखिएको उनले बताए। यसरी नै चौथो श्रेणी देखि छैटौं श्रेणीका केटा केटी विद्यार्थीहरुको निम्ति थ्री लेग रेस,मेन्टल म्याथ रेस अनि 200 मिटर दौड प्रतियोगिता राखिएको छ भने सातौं श्रेणी देखि आठौं श्रेणीका केटा केटी विद्यार्थीहरुको निम्ति लङ जम्प, हाई जम्प र 400 मिटरको दौड प्रतियोगिता राखिएको छ।
यसै गरि नवौँ देखि दशौं विद्यार्थीहरुको निम्ति 4 किलोमिटर म्याराथन, सटपुट,हाई जम्प,लङ जम्प इत्यादि खेलहरु सम्पन्न गरिने सह शिक्षक सनित लामाले जानकारी दिए। यस खेलकुद कार्यक्रमले विद्यार्थीहरुमा खेलकुद प्रति प्रोत्साहन अनि जागरुक गराउने पनि लामाले बताए। धेरै वर्ष देखि खेलकुद हरुको आयोजन नभएर विद्यार्थीहरुमा विविध खेलहरु विषय ज्ञान हराउँदै गइरहेको प्रधान शिक्षक नरेश योञ्जनले अवगत गराए।











