नृत्यको छायाँमा जीवन जीउँदै— लोकनृत्यकी प्रवर्द्धक पन्नु   

Share this news

सञ्जय प्रधान-  

नृत्यमा आत्मा झल्काउँछिन्, अभिनयमा जीवन देखाउँछिन्- पन्नु गजमेर। उनले नृत्यलाई केवल गतिका रूपमा होइन, आत्माको अभिव्यक्तिका रूपमा बुझेकी छिन्। कथकको गहिरो साधना र लोकनृत्यको रंगीचंगी लयलाई आत्मसात् गर्दै उनले सिर्जनशीलताको बाटो रोजेकी छिन्। नृत्य, अभिनय र कोरियोग्राफीको यस त्रिवेणीमा पन्नु गजमेरको यात्रा गजबकै छ। उनी दर्शकको मन मात्र होइन, भावना पनि नचाउन जान्दछिन्।

दार्जीलिङको रमाइलो गाउँ लेबोङमा जन्मिएकी पान्नु गजमेर नृत्य मात्र प्रस्तुत गर्दिनन्, उनी जीवनलाई नृत्यमार्फत जिउँछिन्। स्व० विक्रम गजमेर र राधा गजमेरकी छोरी पन्नुले नाँच्न चार वर्षको उमेरदेखि शुरु गरेकी हुन्। बाबु मादल बजाउँथे, दिदी पिंकी गजमेर कथक नृत्यमा स्वर्ण पदक विजेता, दाजु पप्पु (प्रवेश) ड्रमर रहेको परिवारमा वातावरण संगीतमय थियो। उनका पति महेन्द्र थापा दार्जीलिङ पहाड़का एकजना सुपरिचित नाट्य कलाकार साथै उद्घोषक हुन्। सन् १९९३ मा दार्जीलिङमा कथकका गुरुजी गगन लेप्चासित कथक र लोकनृत्य सिक्न शुरु गरिन्। उनको देवासनपछि दार्जीलिङकै त्रिवेणी संगीतलयमा लह्मु शेर्पासित करिब २५ वर्ष नृत्य सिकिन्। कथक र लोकनृत्यमा उनले स्नातक गरिसकेकी छिन्।

निराशाका पलहरूमा पनि नृत्यले मलाई आशा र ऊर्जा दिन्छ। मेरो लागि नृत्य नै साधना हो, ध्यान हो  

नृत्यलाई केवल आफूसित र मञ्चमा मात्र सीमित राखिनन्, यसको कला अरुलाई सिकाउने क्रममा निरन्तरता दिइन्। बढ़्दो आधुनिकिकरणसँगै नेपाली लोकनृत्यको अघि कन्टेम्पोरेरी, हिप-हप नृत्य कड़ा चुनौतीको रुपमा खड़ा भएको छ। यस्तो चुनौतीको सामना गर्दै नेपाली लोकनृत्य अन्य समुदायमा पनि बुझाउने र प्रवर्द्धन गर्ने कार्य गर्दै आइरहेकी छिन्।

सन् २०१९ देखि सिलगढ़ीदेखि करिब १० किलोमिटर टाड़ो सालबारीमा नटराज कला केन्द्र स्थापना गरेर कथक, नेपाली लोकनृत्य, राजस्थानी लोकनृत्य साथै बलिवुड नृत्यहरू सिकाउँदैछिन्। नटराज कला केन्द्रलाई एउटा पूर्ण विद्यालयकै ढाँचामा संचालन गरिरहेकी छिन्। यहाँ नृत्यको विषयमा पाठ्यक्रमअनुसार पढ़्नुपर्छ, अनि सिक्नुपर्छ। तीन वर्षका बालबालिकादेखि लिएर करिब ३८ वर्षसम्मकाहरू पनि नृत्य सिक्न आउँछन्। अहिले यहाँ करिब ४० जना विद्यार्थीहरू छन्। मिरिकबाट सहयोगी गुरुका रुपमा प्रेम विश्‍वकर्म आउँछन्। पन्नुका अनुसार, नटराज कला केन्द्रको नृत्यका विद्यार्थीहरूको परीक्षा बंगीय संगीत परिषद र सर्व भारतीय संगीत-ओ-संस्कृति परिषद कलकताबाट हुनेगर्छ। परीक्षाको लागि कलकताबाट केन्द्रमै परीक्षकहरू आउँछन्। केन्द्रकै माध्यमबाट नृत्यमा स्नातक, स्नातकोत्तर साथै पीएचडी पनि गर्न सकिने उनी बताउँछिन्। कोभिड-१९ को महामारीमा नृत्यको क्लास अनलाइन संचालन गरिन्।

नृत्यलाई जीवनशैलीको रुपमा अपनाएर पन्नु शास्त्रीय नृत्य कथकका साथमा नेपाली लोकनृत्यको प्रवर्द्धनको निरन्तर यात्रामा हिँड़िरहेकी छिन्। उनी जीटीएको सूचना अनि सांस्कृतिक विभाग, दार्जीलिङमा नृत्यको सह-प्रशिक्षक हुन्। सालबारीमा हप्तामा दुई दिन शनिबार र आइतबार नृत्यको प्रशिक्षण संचालन गर्छिन्।

सन् १९९६ देखि सोनी टीभी च्यानलमा हुने ‘बुगी-वुगी’ नृत्य प्रतियोगिता देशभर लोकप्रिय बनेको थियो। त्यति बेला अहिलेको जस्तो टीभीमा हुने ठूला रियालिटी शोहरू विकसित भएका थिएनन्। ‘बुगी-वुगी’को प्रभावले यही नाम राखेर यतातिर पनि केही संघ-संस्थाहरूले नृत्य प्रतियोगिता आयोजना गर्ने गर्थ्यो। यस्तै सन् २००१ तिर, खरसाङको गोदुनिस हलमा बुगी-वुगीकै नाममा नृत्य प्रतियोगिता आयोजना गरिएको थियो। यसमा उनको बेजोड़ एकल र युगल नृत्य प्रदर्शनले हलका दर्शकहरूलाई स्तब्ध बनाएको थियो। यसमा उनले एकलमा शीर्ष स्थान अनि युगलमा दोस्रो शीर्ष स्थान हासिल गरेकी थिइन्। दार्जीलिङ पहाड़को लोकप्रिय ब्याण्ड कार्निभलको कार्यक्रमहरूमा करिब २५ वर्ष नृत्य गरिन्। गुवाहाटी, शिलोङ, नागाल्याण्ड, मिजोरम, छिमेकी मुलुक नेपालका विभिन्न ठाउँमा आफ्नो नृत्यद्वारा दर्शकहरूको धेरै प्रशंसा पाएकी छिन्। लद्दाखमा आयोजित विराट महोत्सव ‘नरोपा उत्सव’मा उनले भारतका सुपरिचित डान्स मास्टर टेरेन्स लुइससित नृत्य प्रदर्शन गरिन्।

हाम्रो स्वाभिमान ट्रस्टको आयोजनामा नयाँ दिल्लीको तालकोटरा स्टेडियममा हुने ‘हरितालिका तीज’को कार्यक्रममा सन् २०१३ देखि २०१४ सम्म निरन्तर नृत्य प्रदर्शन गरिन्। यस ट्रस्टबाट उनी सम्मानित भइसकेकी छिन्। नृत्यको क्षेत्रमा विशिष्ट कार्यको निम्ति सन् २०१८ मा स्पीड मिडिया इन्टरटेन्मेन्टद्वारा दिल्लीमा ‘नेपाली गौरव’ पुरस्कार, मिजोरममा ‘मिजोरम म्युजिक वर्ल्ड अवार्ड २०२१’ लगायत धेरै पुरस्कारहरूले सम्मानित भइसकेकी छिन्। यसका साथै सिलगढ़ीको गैर सरकारी संस्था कञ्चनजंघा उद्धार केन्द्रबाट पनि सम्मानित भएकी छिन्।

उनी इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’को ‘मेरो डान्स युनिभर्स’ सन् २०२३ मा सिलगढ़ी, ‘हिमाली प्रतिभाको खोज, सिक्किम’, ‘नर्थ ईस्ट ट्यालेन्ट हन्ट’ जस्ता प्रतियोगिताहरूमा निर्णायक रहिसकेकी छिन्। यसबाहेक अन्य नृत्य प्रतियोगिताहरूमा पनि निर्णायक रहँदै आएकी छिन्। उनले थुप्रै भिडियो एल्बमहरूमा आफैले नृत्य गरेकी छिन् भने कोरियोग्राफी पनि गर्दै आएकी छिन्।

नृत्यमा मात्र होइन, अभिनयमा पनि उनले सशक्त उपस्थिति जनाइसकेकी छिन्। ‘दार्जीलिङ मेल’, ‘अंगालो यो मायाको’, ‘द युम्थाङ’ जस्ता चलचित्रहरूले उनको बहुपक्षीय प्रतिभाको परिचय दिएको छ। उनले जोशन तामाङको नाटकहरू ‘बलिदान’, ‘भूकम्प’, ‘बाध्यता’मा प्रमुख रुपमा प्रभावकारी अभिनय गरिसकेकी छिन्।

हिजोआज नृत्यमा करियरको राम्रो अवसर रहेको उनको भनाइ छ। ‘‘यसको लागि नृत्यको डिग्री हुनु राम्रो हो’’, पन्नु भन्छिन्। शरीरलाई सुगठित र स्वस्थ राख्नमा नृत्य प्रभावकारी रहने उनी बताउँछिन्। मोबाइलको लतबाट पनि नृत्यले छुटकारा दिलाउने बताउँदै उनी भन्छिन्, ‘‘नृत्यले डिप्रेसनबाट बाहिर निकाल्छ। लजाएर बोल्दै नबोल्ने पनि बोल्छन्। माइन्ड फ्रेस हुन्छ।’’ उनले आफ्नो केन्द्रमा नृत्यका साथमा योगा पनि सिकाउँछिन्। ‘‘निराशाका पलहरूमा पनि नृत्यले मलाई आशा र ऊर्जा दिन्छ। मेरो लागि नृत्य नै साधना हो, ध्यान हो’’, पन्नु भन्छिन्। नृत्यको क्षेत्रमा उनको यात्रा संघर्षपूर्ण छ। उनी भन्छिन्, ‘‘संघर्ष अझै जारी छ।’’ आफ्नो संघर्षलाई उनले अभियान बनाएकी छिन्। नेपाली लोक संस्कृतिको मेरुदण्ड लोकनृत्यको संरक्षण र प्रवर्द्धन गर्न उनी संघर्षरत् छिन्। लोकनृत्यले मानव समाजको जनजीवन, धार्मिक संस्कार, सामाजिक संस्कार र विकासलाई दर्शाउँदछ। उनी आफ्नो पति महेन्द्र थापासित नेपाली लोकनृत्यको प्रवर्द्धन र संरक्षणको विशेष अभियानमा लागेकी छिन्। पन्नु गजमेरको नृत्ययात्रा केवल कला होइन, नेपाली संस्कृतिलाई उज्यालो बनाउने अभियान हो।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ