संगीतलाई साथमा राखेर विदेश संघर्षरत् गायिका पेमु शेर्पाको यात्राबारे लेख्छन् बिजनबारीबाट हिमालय दर्पणका संवाददाता सञ्जय निरौला
दार्जीलिङ पहाड़को हावामा संगीत मिसिएको छ- हरेक घाँसे ढिस्को, प्रत्येक कुना-कुनामा गीतको गुनगुन सुनिन्छ। यही उर्वर माटोले अनगिन्ती स्वरहरू जन्माएको छ, जसले संसारका कुनाकाप्चामा बसेर पनि नेपाली संगीतलाई जिउँदो बनाइरहेका छन्। यही माटोबाट उम्रिएकी एक गायिका हुन्- पेमु शेर्पा।
दार्जीलिङ शहरदेखि करिब २५ किलोमिटर टाड़ो मुण्डा बाँसघारीकी पेमु शेर्माले सानै उमेरदेखि संगीतलाई आफ्नो जीवनको श्वास बनाइन्। ला-कर्मा शेर्पा र तारा शेर्पाका छोरी पेमुलाई छ वर्षको उमेरदेखि नै बाबुको प्रेरणाले माइक्रोफोनतिर तान्यो। गाउँका साना कार्यक्रमहरूबाट शुरु भएको यात्रा काठमाड़ौंको रेकर्डिङ स्टुडियो हुँदै नेपाली चलचित्रको पर्दासम्म आइपुग्यो।
‘‘हुन त संगीतलाई विश्वको प्राण भनिन्छ, तर यो प्राण बचाउनेहरू आफै पो बाँच्दैन कि भन्ने निक्कै खतरा छ’’
तर, पेमुको कथा केवल स्वरको यात्रामा सीमित छैन- यो संघर्ष, धैर्यता र आत्मविश्वासको कथा पनि हो। कहिले काठमाड़ौंको भीड़भाड़मा आफूलाई चिनाउन संघर्ष गरिन्, कहिले परदेशमा बसेर आफ्नै स्वरलाई फेरि जिउँदो राख्ने प्रयास। सानोमा पेमुले गाउँका कार्यक्रमहरूमा गीत गाउन थालिन्। बिस्तारै गाउँदेखि बाहिरका कार्यक्रमहरूमा गाउन थालेपछि वरिपरि उनको स्वरको चर्चा हुन थाल्यो। दर्शक-श्रोताहरूको प्रशंसा त्यति बेला सानी गायिका पेमुका लागि उर्जा बन्यो। उनले सुर-तरंग सोनादामा संगीतको प्रशिक्षण लिन थालिन्। उनले संगीतमा विसारद (बीए)सम्मको शिक्षा पुरा गरिन्। संगीत महाविद्यालयमा रहँदा उनले धेरै खप्पिसहरू संगीतकर्मीहरूसँग सिक्ने अवसरहरु पाइन्। उनीहरूको सानिध्यबाट पेमु संगीतमा खारिन थालिन्। यस्तै १२ वर्षको उमेरमा मणि श्रेष्ठ, गगन खाती लगायतद्वारा निर्मित गीति एल्बममा ‘नाम नलेउ बदनाम’ बोलको गीत रेकर्डिङ गर्ने पहिलो अवसर पाइन्। यो गीत रेकर्डिङ हुँदासम्म पेमुले सांगीतिक कार्यक्रमहरूमा निरन्तर गाउँदै थिइन्।
सन् १९९७ मा गोर्खा दु:ख निवारक सम्मेलन (गोदुनिस)द्वारा गायन प्रतियोगितामा विजेता बनिन्। दार्जीलिङको लोकप्रिय ब्याण्ड कार्निभल, प्याकटिसलगायतका ब्याण्डहरूसँग धेरै कार्यक्रमहरु गर्ने अवसर प्राप्त गरिन्। संगीतको क्षेत्रमा निरन्तता दिँदै नब्बेको दशकतिर जिल्ला स्तरीय शास्त्रीय संगीतमा भाग लिइरहिन्। सन् २००० मा सोनादा क्षेत्रबाट निस्केको गीति एल्बम ‘सम्बन्ध’मा गाइन्। सन् २००२ मा उनले निरन्तर प्रयासमा आठवटा आधुनिक गीतहरू रहेको आफ्नो पहिलो एकल एल्बम ‘स्पन्दन’ काठमाड़ौबाट रेकर्ड गरिन्। जुन एल्बमले श्रोताहरूको मन जित्नसक्यो, अनि यसैले व्यावसायिक संगीततर्फ चासो जगायो।
गीतहरू रेकर्डिङलगायत अन्य कार्यक्रमहरूका लागि काठमाड़ौं आउजाउ गर्न थालिन्। उत्कृष्ट गायनले पेमुलाई नेपाली संगीतको मूल थलो काठमाड़ौंले तान्यो। काठमाड़ौले ताने पनि संगीतको क्षेत्रमा आफूलाई स्थापित गर्न निक्कै संघर्ष गरिन्। त्यहाँ उनको अघि चुनौती कड़ा थियो। यद्यपि एल्बमहरूको रेकर्डिङ गर्न आउनेजाने क्रममा बनेको चिनाजानीले त्यसबेला निकै काम लाग्यो। त्यसबेलासम्म बिरानो रहेको काठमाड़ौंलाई पेमुले नजिकबाट चिनिसकेकी थिइन्। यसै क्रममा संगीतकै सेवामा लागेर विद्यार्थीहरुलाई संगीतको शिक्षा दिन थालिन्। त्यहाँ संगीत शिक्षकको रूपमा केही वर्ष काम गरिन्। विभिन्न स्टुडियोतिर गीतहरू गाउन थालिन्, जहाँ उनले नेपाली चलचित्र जगतका कलाकारहरूसँग भेट्ने अवसर पाइन्। विभिन्न कलाकारहरूसँग नेपाली चलचित्रहरूमा गीत गाउने अवसर पाइन्। जसमा नेपाली चलचित्र ‘मिशन पैसामा’, ‘आकाशलाई सोध’सँगै चर्चित गायक राजेश पायल राईसँग ‘ढल ढल जोवन ढल्कियो’ बोलको गीत गाइन्। चलचित्र सुपरहिट नभए पनि पेमुको गीतले भने सबैको मन जित्यो। यस्तै अन्य धेरै गीतहरूमा उनले स्वर दिइन्। काठमाड़ौंमा हुँदा तामाङ भाषामा निर्मित चलचित्रहरूमा तामाङ भाषाकै गीतहरू गाइन्।
संगीतकै बलमा काठमाड़ौंमा जमेकी पेमुले संगीतलाई जीवन धान्ने माध्यम कहिले मानिनन्। बरु आफूले कमाएको आयलाई संगीतमा खर्चिदै आउँदो दिनमा संगीतको संरक्षणबारेमा सोचिरहिन्। सुपिरिचत गायिका डेजी बराईली, हिरा रसाइली, महेश सेवालगायत दार्जीलिङका चर्चित कलाकारहरूको संगत पाएकी पेमुले सन् २०१३ तिर सिक्किमबाट निस्केको ‘पेहेली’ नामक एल्बममा गएकी छिन्।
संगीतमै जिउने र यसैमा भिजेकी पेमु भन्छिन्, ‘‘हुन त संगीतलाई विश्वको प्राण भनिन्छ, तर यो प्राण बचाउनेहरू आफै पो बाँच्दैन कि भन्ने निक्कै खतरा छ।’’ यद्यपि बढ़्दो सोसियल मिडियाको प्रभावले हाल संगीतमा लागिपर्नेहरूमा कुनै ठूलो मञ्चको आवश्यक नरहेको उनको भनाइ छ। ‘‘अहिले कलाकार हुने गुणमात्रै हुनुपर्छ, उनीहरू घरभित्रबाटै व्यावसायिक बन्नसक्छन्। तर त्यसको निम्ति धैर्यता अनुशासनसँगै संगीतबारेमा सठिक जानकारी अनिवार्य हुनुपर्छ’’, उनी भन्छिन्, ‘‘यसको साथमा आफ्नो धरातल कहिले भुल्नु हुँदैन।’’ उनी अझ भन्छिन्, ‘‘हालको ग्लोबल बजारले नेपाली संगीतको भविष्य फराकिलो र उज्ज्वल बनेको छ। हाम्रो प्रारम्भिक समयमा जस्तो एल्बम निकालेर घर घरमा बेच्न पुग्नु पर्दैन। कुनै ठूलो मञ्च चाहिँदैन। विभिन्न संगीत सम्बन्धित रियालिटी-शोहरूसँगै सोसियल मिडियाका विभिन्न प्लेटफर्महरूबाट कलाकारहरू माथि पुग्नसक्छन्। यद्यपि अनुशासन, धर्यैता तथा संगीतप्रतिको लगाव भने अत्यन्तै अनिवार्य हुन्छ।’’
हाल पेमु प्रत्यक्ष संगीत गतिविधिबाट केही पर छिन्, तर संगीतप्रतिको प्रेम र लगावलाई कसेर आफूसित राखेकी छिन्। बेला-बेलामा उनी सोसियल मिडियामार्फत आफ्ना स्वरहरू सुनाउँछिन्, जसलाई धेरैले मन पराउँछन् र सुन्छन्। इजरायलमा करिब एक दशकदेखि कार्यरत् उनी भविष्यमा अझ सशक्त रूपमा संगीतमा फर्किने योजनामा छिन्। सन् २०१५ तिर नेपाली संगीत क्षेत्रमा बढ़दो प्रतिस्पर्धा र चुनौतीका कारण साथै परिवारको जिम्मेवारी पूरा गर्न कठिनाइ हुने चिन्ताले उनले वैदेशिक रोजगार रोजिन्। तर पछिल्ला वर्षहरूमा सोसियल मिडिया र विभिन्न रियालिटी शोहरूको विस्तारसँगै आफ्नै ठाउँमा बसेर पनि धेरै गर्न सकिन्छ भन्ने विश्वास उनको मनमा जागेको छ।
पेमु शेर्पा त्यस्तो एक मात्र उदाहरण होइनन्, जो गायनलाई केही समयका लागि छोड़ेर विदेशमा रोजगारीमा गएका छन्। वास्तवमा, नेपाली संगीत र चलचित्र जगतका धेरै कलाकार आज विभिन्न देशहरूमा वैदेशिक रोजगारमा कार्यरत छन्। तर विदेशमा परिश्रम गरेर त्यही आम्दानीलाई संगीतमा पुनः लगानी गर्दै त्यसलाई अझ सशक्त रूपमा अगाड़ि बढ़ाउने पेमुको सोच आफैंमा प्रेरणादायी उदाहरण हो। त्यसैले, पेमुजस्तै सोच र दृढ़ताका साथ अघि बढ़्नसक्ने युवाहरूका लागि यो सोच मार्गदर्शनको स्रोत बन्नसक्नेमा दुईमत छैन।











