गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाको उपस्थितिमा टुंग सन्त मेरिज समष्टिकाे सभासद नुरी शेर्पाले रिबन काटेर सिंगेल चियाबारीको नयाँ धुरामा नवनिर्मित सार्वजनिक भवनको उदघाटन गरेका छन्। उक्त सार्वजनिक भवनको निर्माण राज्य फण्ड अन्तर्गत खरसाङ सिँचाई विभागबाट गरिएको छ। यस सार्वजनिक भवनको निर्माण कार्य 43 लाख 1 हजार 5 सय 94 रुपियाँमा गरिएको छ। उक्त सार्वजनिक भवनको उदघाटन समारोहमा प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए। सन्तोष तामाङले सञ्चालन गरेको उदघाटन कार्यक्रममा जीटीएको प्रमुख सल्लाहकार अमर लामा, क्षेत्रीय सभासद नुरी शेर्पा र जीटीए प्रमुख अनित थापाले सम्बोधन गरेका थिए। आफ्नो सम्बोधनमा जीटीए प्रमुख अनित थापाले सिंगेल चियाबारीको जीर्णावस्थामा रहेको बाटो झट्टै बनाइदिने घोषणा गरेका छन्। उनले पहिला यहाँ कसैले आएर रोड बनाइदिने आश्वासन दिएकोले पर्खिरहेको तर अहिलेसम्म नबनाइदिएपछि स्थानीयहरुको मागमा अब यो बाटोको निर्माण कार्य चाँडै शुरु हुने घोषणा गरेका छन्। यस कार्यक्रममा नै टुंग सन्त मेरिज समष्टिकाे मार्गरेट्स होप क्षेत्रबाट 32 जनाले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल हुँदै पार्टीको झण्डा थापेका छन्। यस अवसरमा सबै समर्थकहरुलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव अमर लामा, नारी शक्तिका केन्द्रीय अध्यक्षा अनु छेत्री लगायत अन्यको बाहुलीबाट झण्डा प्रदान गरेर पार्टीमा स्वागत गरिएको छ। सिंगेल चियाबारीको नयाँ धुरामा नवनिर्मित सार्वजनिक भवनको उदघाटन कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै क्षेत्रीय सभासद नुरी शेर्पाले विस्तृत रुपमा जानकारी गराएका छन्।











