कालेबुङका विधायक रूदेन सादा लेप्चाले, अनित थापाको नेतृत्वलाई लाभाले अङ्गालेको कारण यहाँ निरन्तर विकास सम्भव भएको बताएका छन्। उनी
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनअन्तर्गत अभियान्त्रिकी विभागले लाभा उच्चतर माध्यमिक विद्यालयको भुइँतला तथा चार तल्ले भवन निर्माण कार्यको विधिवत शिलान्यासको क्रममा बोलिरहेका थिए। शिलान्यास समारोहमा प्रमुख अतिथि मुख्य कार्यपाल अनित थापा, विशिष्ट अतिथि माननीय विधायक रूदेन सादा लेप्चा, उप–मुख्य कार्यपाल सञ्चबीर सुब्बा साथै क्षेत्रीय प्रशासकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो। समारोह लाभास्थित छोर्तेन परिसरमा आयोजना गरिएको थियो।
विधायक रूदेन सादाले मुख्य कार्यपाल अनित थापाप्रति कृतज्ञता व्यक्त गर्दै भने, “आजको शिलान्यास कार्यक्रमले केवल लाभा मात्र होइन, सम्पूर्ण कालेबुङलाई गर्वको अनुभूति गराएको छ। यो भवन निर्माण लाभाको विकास यात्रामा एउटा ठूलो कदम हो, र आगामी दिनमा यस्ता विकासमुखी परियोजनाहरू अझ लाभामा आउनेछन्। अनित थापाको नेतृत्वलाई लाभाले अङ्गालेको कारण यहाँ निरन्तर विकास सम्भव भएको छ।”
आज शिलान्यास गरिएको निर्माण योजनाको लागत ५ करोड ३ लाख रूपैयाँ रहेको छ। यस अवसरमा विधायक लेप्चाले बाग्राकोटमा निर्माण हुने कार्यको पनि रकम अनुमोदन भइसकेको जानकारी दिएका छन्।










