नयाँ दिल्ली, 10 नोभेम्बरः दिल्लीको लालकिल्ला नजिक एउटा कारमा भएको भीषण विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु र दुई दर्जनभन्दा बढ़ी घाइते भएका छन्। सोमवार साँझ लगभग 6:55 बजे लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर-1 नजिक पार्किङमा राखिएको इको कार अचानक विस्फोट भएको दिल्ली पुलिसले जनाएको छ।
विस्फोटपछि आगो द्रुतगतिमा फैलिँदा वरपरका गाड़ीहरू पनि जलेका छन्। विस्फोटको आवाज यति तेज थियो कि मेट्रो स्टेशनका सिसा फुटे र नजिकैको लाल मन्दिरमा कारको भाग उड़ेर पुगेको बताइएको छ। घटनापछि आसपासका दोकानहरूमा समेत आगो लागेको खबर छ र धेरै दोकानका दैलो तथा सिसा क्षतिग्रस्त भएका छन्। विस्फोटको झट्का चाँदनी चौकसम्म महसुस गरिएको छ, जसले स्थानीय बासिन्दामा त्रास फैलाएको छ। दमकल विभागले तुरुन्तै सातवटा फायर टेन्डर र एम्बुलेन्स पठाएर आगो नियन्त्रणमा लिएको छ। राहत र उद्धार कार्य जारी छ।
हाल विस्फोटको कारण पत्ता लागेको छैन र IED, वा इम्प्रोभाइज्ड एक्सप्लोसिभ उपकरण प्रयोग गरिएको हुनसक्ने खुलासा पुलिस प्रमुखले गरेकोछ। पुलिस र फरेन्सिक टोलीले घटनास्थल घेराबार गरी प्रमाण संकलन गरिरहेका छन्। एनआईए र एनएसजी टोली पनि अनुसन्धानका लागि पठाइएको छ।
सुरक्षा कारण अब दिल्लीका साथै मुम्बई, हरियाणा र उत्तर प्रदेशमा पनि उच्च सतर्कता (हाई अलर्ट) जारी गरिएको छ।











