कालेबुङ जिल्ला प्रहरीद्वारा एन्सियन्ट सिल्क रुट चिल म्याराथन रेसको चौथो संस्करण आयोजन गरिने भएको छ। उक्त सम्बन्धमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। जुन म्याराथन पुरुष र महिला दुवै वर्गका लागि खुला रहनेछ र यसलाई ५ कि.मि. १० कि.मि. र २१ कि.मि. गरी तीन वर्गमा विभाजन गरिएको छ। प्रहरी प्रमुख हरि पाण्डे, आइ.ओ. सञ्जय थापा, एम.टी.ओ. सूरज लामा र पूर्व भारतीय हकी टिमका कप्तान भरत क्षेत्री उपस्थित रहेर कार्यक्रमको विस्तृत जानकारी दिए। यो म्याराथनको दर्ता मिति प्रारम्भमा २ अक्टोबर २०२५ सम्म मात्र रहेको भए पनि अहिले १५ अक्टोबर २०२५ सम्मका लागि दर्ता अवधि थप गरिएको छ। त्यस्तै, म्याराथन रेस आगामी २ नोभेम्बर २०२५ मा आयोजना हुने जानकारी पनि दिइयो। जसमा कालेबुङ तथा वरपरका क्षेत्रका सर्वसाधारणलाई ठूलो सङ्ख्यामा सहभागिता जनाई सफल बनाउन अपील गरियो। एन्सियन्ट सिल्क रुट चिल म्याराथनले स्वास्थ्य, एकता र साहसिकताको भावना प्रबर्द्धन गर्नुका साथै कालेबुङको सांस्कृतिक तथा ऐतिहासिक सम्पर्कलाई उजागर गर्ने उद्देश्य लिइएको छ।
