वयोवृद्ध बहुप्रतिभाशाली जीबी बल (बल सर) द्वारा लिखित दुईवटा नयाँ पुस्तक पुन: पाठकहरूको बीचमा उपलब्ध भएको छ। खरसाङ निवासी 90 वर्षीय बहुप्रतिभाशाली जीबी बलको थप दुईवटा पुस्तक प्रकाशित भएको छ साथै पाठकहरूको निम्ति उपलब्ध रहेको जानकारी सोमवार हिमालय दर्पणसित बोल्दै स्वयम् जीबी बलले जनाएका छन्।
तिनले थप जनाए अनुसार, गत वर्ष 10 जुलाईमा अर्थात् नौ महिना अघि तिनको दुईवटा पुस्तकहरू, इतिहास यसरी बरालिन्छ संस्मरण अनि श्रद्धाञ्जली तिमीलाई कविता संग्रह प्रकाशित गरेका थिए। नौ महिनापछि एकपल्ट पुन: तिनले दुईवटा नयाँ पुस्तकहरू पाठकहरूको निम्ति लिएर आएका छन्। यी दुईवटा नयाँ पुस्तकहरू मध्ये एउटा लघु उपन्यास जुनेली रेखाको अर्को पाटा सोल्जर्स क्लबदेखि शिवधामसम्म, रहेको छ भने अर्को किताबको नाम मनको गुनासो सम्पादकमार्फत् रहेको छ, जसमा तिनले सरकार, पत्रकार साथै साहित्यकारहरूद्वारा भएको भूल वा त्रुटिहरूलाई सच्चाउने प्रयास गरेका छन्। लेटर टू द एडिटर अर्थात् सम्पादकलाई चिठ्ठी, सुनचरी समाचार पत्रको समयमा तिनले चिठ्ठी-चपेटा स्तम्भमा लेख्ने गर्थे भने त्यसलाई समेटेर यस किताबमा लेख्ने प्रयास गरेको तिनले बताए। त्यसरी नै, लघु उपन्यास जुनेली रेखाको अर्को पाटा सोल्जर्स क्लबदेखि शिवधामसम्म, वास्तवमा साहित्यकार इन्द्र सुन्दासका उपन्यास जुनेली रेखाको दोस्रो भाग तिनले लेख्ने प्रयास गरेको हुँ भनी बताए ।
यी दुई किताबहरू प्रकाशित गरेर पाठक समक्ष अहिले लिएर आएको बलले बताए । बल सरले यो पनि जनाए कि यी दुईवटा पुस्तकहरू प्रकाशन संगै तिनको जम्मा 10 वटा विभिन्न पुस्तकहरू अहिलेसम्म प्रकाशित भईसकेका छन्, यद्यपि अहिलेसम्म तिनले आफ्नो कुनै पुस्तकको भूमिका नलेखाएको अनि विमोचन समारोह पनि नगरेको बताए । तिनको पुस्तक कुनै किताब-दोकानमा बेच्नको निम्ति पनि दिएका छैनन्। पाठकहरूले तिनको किताब घरबाट नै खोजी-खोजी लाने गरेको तिनले बताए। आज तिनले पाठकहरूलाई यही नै जानकारी गराइरहेको छन् कि बल सरको दुईवटा नयाँ किताब पाठकहरूको निम्ति प्रकाशित भईसकेको छ।
ज्ञात रहोस् जीबी बलले, हुन् त सानो उमेर देखि नै लेख्ने गर्थे भने तिनले 40 वर्षसम्म कुनै किताब लेखेनन्, कारण त्यस समय तिनी आफ्नो स्कूलको कार्यमा नै व्यस्त थिए । वेस्ट बेङ्गल बोर्ड अफ कमर्शियल एजुकेशन अन्तर्गत रहेको एउटा आफ्नै नर्थ बेङ्गल कमर्शियल इन्स्टीट्यूशन मार्फत् जन-मानसमा शिक्षा वा तालिम प्रदान गर्ने गर्थे। अवकाशको समय आउँदा अनि तिनी 58 वर्ष पुगे, त्यस समय सन् 1994 देखि तिनले लेख्न शुरुवात गरेको थिए, जसलाई वर्तमानमा पनि यथावत् राख्दै अहिले 90 वर्षको उमेरमा पाठकहरूको निम्ति तिनले दुईवटा नयाँ पुस्तकहरू लिएर अघि आएका छन्। यस बाहेक बल सरको एउटा अंग्रेजी पुस्तक पनि लगभग तयार भईसकेको छ अनि आउँदो एक डेढ़ महिनामा उक्त किताब पनि पाठकहरूमा उपलब्ध रहनेछ।












