ललितपुर सिटीको अपराजित यात्रा

Share this news

काठमाडौँ — ललितपुर सिटी एफसीका प्रशिक्षक साइमन ग्रेसनले सुरुमै भनेका थिए, टिमको लक्ष्य लिग चरणमा अपराजित रहनु हो । डिफेन्डिङ च्याम्पियनले आफ्नो वचन बुधबार पूरा गरेको छ ।

नेपाल सुपर लिग (एनएसएल) को आफ्नो अन्तिम लिग खेलमा झापा एफसीलाई बराबरीमा रोक्दै ललितपुरले प्रतियोगिता इतिहासमै लिग चरणमा अपराजित हुने पहिलो टिम बनेको छ । त्यति मात्र होइन, टोलीको प्रतियोगितामा अपराजित यात्राले पनि कीर्तिमान ९ खेल पुर्‍याएको छ ।

यसअघि नै क्वालिफायर–वानका लागि छनोट भइसकेको हुनाले ललितपुरसामु ढुक्क भएर खेल्ने अवसर थियो । यो नतिजापछि ललितपुर अंकतालिकाको शीर्षमा उक्लेको छ । टोलीको १२ अंक भएको छ । टोलीले गर्न नसकेको काम एउटै रह्यो, शीर्षस्थानमा रहने निश्चितता । लिग चरणको अन्तिम खेलमा धनगढी एफसीले बिहीबार एफसी चितवनको सामना गर्दा ललितपुरलाई उछिन्ने अवसर हुनेछ । संयोगले क्वालिफायर–वानमा ललितपुरको प्रतिद्वन्द्वी धनगढी नै हो ।

पोस्टम्याच कन्फ्रेन्समा ग्रेसनले आफ्नो टिम साँच्चै अपराजित रहनुलाई ठूलै उपलब्धि माने । उनले भने, ‘समग्रमा हाम्रा खेलाडीले राम्रो प्रयास गरे । तीन जित र तीन बराबरीको अपराजित यात्रा राम्रै रह्यो ।’ उनले आफ्नो टिमको ध्यान त्यही क्वालिफायर–वानमा हुने बताए । यसपल्ट मिडियासामु प्रस्तुत हुने खेलाडी सनिश श्रेष्ठ रहे । उनको भनाइ थियो, ‘यो खेल सोचेजस्तै भयो । लिग यात्रा मिश्रित खालको रह्यो, सुरुमा गति लिन गाह्रो भयो । अपराजित रह्यौं, त्यसमा खुसी छौं ।’

फेरि असफल

दोस्रो सिजन एनएसएल खेलिरहेको झापा फेरि एकपल्ट असफल रह्यो । प्लेअफ नै पुग्न सकेन । गत सिजन प्लेअफ नजिक पुगेर त्यसलाई आत्मसात गर्न असफल झापा यसपल्ट त लिग चरणको आफ्नो अन्तिम खेल अगाडि नै प्रतियोगिता बाहिरिसकेको थियो । त्यसैले ललितपुरको सामना गर्दा झापा आफैं पनि तनावबाट मुक्त रहेको स्थिति थियो । झापाले एउटै खेल जित्न सकेन, पाँच खेल बराबरी खेलेर ५ अंकमै मात्र सीमित रह्यो ।

दशरथ रंगशालामा भएको खेलमा ललितपुरले नवीन लामाको गोलबाट ५५ औं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि लाकेन लिम्बूले झापाका लागि ६५ औं मिनेटमा बराबरी गोल फर्काए । यो खेल आफैंमा ‘अर्गानिक’ रह्यो, किनभन्दा अन्तिम १० मिनेट दुवै टिमका सबै खेलाडी नेपाली रहे, कोही विदेशी रहेनन् । अझ लतिलपुरले दोस्रो हाफमै सबै नेपाली खेलाडी उतारेको थियो । विदेशी खेलाडीको बाहुल्य रहेको यो सिजन यो खेल यही कारणले पनि विशेष रह्यो ।

कटुवालले मागे माफी

झापाका प्रशिक्षक प्रवेश कटुवालले आफ्ना लागि यो प्रतियोगिता ठूलो शिक्षाका रूपमा रहेको बताए । उनले थपे, ‘हामी प्लेअफ पुग्न सकेनौं, त्यसैले निराश छौं । एक प्रकारले हाम्रो यात्रा पीडादायी नै रह्यो । त्यसैले म झापा टिमका सबै समर्थक, प्रशंसक र लगानीकर्तासँग माफी माग्न चाहन्छु । हामीले सबै खेलमा अवसर सिर्जना गर्न नसकेको पनि होइन, तर ती गोलमा परिणत भएन । मेरा लागि यसपल्टको प्रतियोगिता एकदम राम्रो सिकाइ रह्यो ।’

खेलपछि चर्चाको एउटा विषय एरोन थापा रहे । अन्तिम खेलमा उनले सुरुदेखि नै खेल्ने अवसर पाए । तर उनलाई पर्याप्त मौका नदिएकोमा भइरहेको आलोचनाबारे कटुवाल मात्र होइन, व्यवस्थापक विजेन पुडासैनीले पनि आफ्नो मत राखे । ‘हामीले एरोनलाई सक्दो बढी मौका दिएका नै हौं । उनी प्रतिशाली खेलाडी हुन्, त्यसैले उनलाई अनुबन्ध पनि गर्‍यौं,’ कटुवालले भने । व्यवस्थापक पुडासैनीले भने एरोनबारे जे जस्तो अनावश्यक चर्चा भइरहेको छ, त्यसमा कुनै प्रकारको सत्यता नभएको दाबी गरे ।


Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ