खरसाङ,
(सुवास छेत्री): प्रायः पचास दिनको अवधिभित्र पङ्खाबारी रोडमा आधा दर्जनभन्दा धेर गाडी दुर्घट भइसकेको कारण सबैलाई चिन्तामा पारेको छ। गत 4 अक्टोबर आएको विनाशकारी पैह्रोको कारण रोहिणी रोडको एक ठाउँमा पैह्रो गएर रोड बाधित बनेपछि सिलगढी-खरसाङ-दार्जीलिङ माझ चल्ने अधिकांश गाडीहरू पङ्खाबारी रोड अनि राष्ट्रिय राजमार्ग भएर कुदिरहेका छन्। यसै क्रममा पङ्खाबारी रोडमा प्रायः पचास दिनभित्रमा आधा दर्जनभन्दा धेर गाडी दुर्घटना भएको छ। घटनामा तीनजनाको ज्यान समेत गइसकेको छ भने धेरैजना घाइते भएका छन्। बिहीवार पनि यहाँ एउटा गाडी दुर्घटनाग्रस्त भएपछि पचास दिनभित्रमा आधा दर्जन जति गाडी दुर्घटना भइसकेको छ। यसरी गाडीहरू पङ्खाबारी रोडमा पटक-पटक दुर्घटना हुनुका धेरै कारणहरू मध्ये एउटा त सडक साँघुरो भएको हो भने अर्को कारण केही चालकहरूलाई यस सडकबारे सटीक अनुभव नहनुले हो भनी बताउँछन् यस सडक भएर प्रतिदिन हिँड्ने चालकहरू। विशेषगरी मधेस क्षेत्रका चालकहरू जो प्रथमचोटि अथवा एक वा दुइचोटि मात्र यस सडकबाट भएर गाडी कुदाइरहेका छन् उनीहरूलाई सडकको बनावटबारे थाहा हुँदैन, त्यसर्थ उनीहरूले प्रायजसो तीन नम्बर गियरमा गाडी कुदाउँछन्, जसको कारण अधिक ओह्रालो अथवा छोटो गोलाइमा गाडीले नियन्त्रण हराउँदा गाडी दुर्घटना हुन्छ भन्ने भनाइ यहाँका अनुभवी चालकहरूको छ। तिनीहरूको सल्लाह अनुसार यस सडकमा प्रायः एक वा दुइ नम्बर गियरमा गाडी कुदाउनुपर्छ। त्यसबाहेक यस पङ्खाबारी सडकमा यति धेरै गाडी दुर्घटना हुनुको अर्को कारण गाडीहरू धेर कुद्नाले पनि हो भनी बताउँछन्? भने केही चालकहरूले धेरै तेज गतिमा गाडी कुदाइरहेकोले पनि यो सानो अनि साँघुरो सडकमा दुइवटा गाडी छिर्न नसक्दा यसरी दुर्घटना हुने गरेको पनि देखिएको छ। यस प्रकार पङ्खाबारी रोडमा पटक-पटक हुने गाडी दुर्घटनालाई रोक्न सम्बन्धित विभाग अनि प्रशासनले शिघ्र पाइला चाल्नु पर्ने औ यहाँको रोहिणी रोडको पैह्रोलाई पनि चाँडो रोकथाम गरेर सडक सुचारू गर्ने आग्रह यस सडक भएर कुद्ने गाडीका चालकहरूले गरिरहेका छन्।











