उपकरण खरिदमा बेवास्ता : वीरमा यूरो र प्रसूतिमा जटिल शल्यक्रिया ठप्प

Share this news

काठमाडौँ — चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा यूरो सर्जरी सम्बन्धी उपकरण नहुँदा चार महिनादेखि शल्यक्रिया ठप्प छ। नारायणी अस्पताल वीरगञ्जमा पनि यूरोलोजी सम्बन्धी विषेशज्ञ चिकित्सक छन्। तर, स्वास्थ्य सेवा विभागले उपकरण खरिदमा ढिलाइ गर्दा शल्यक्रिया हुन सकेको छैन।

स्वास्थ्य सेवा विभागको ढिलासुस्तीकै कारण परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पनि दुरबिनमार्फत गरिने पाठेघरको जटिल खालको शल्यक्रिया सेवा ठप्प छ। मुत्र प्रणालीसँग पत्थरी, मृगौला, पिसाब थैली, प्रोस्टेटलगायतको शल्यक्रिया हुन्छ।

वीरका चिकित्सकहरूका अनुसार २०७४ मा खरिद गरेको यूरोलोजीसँग सम्बन्धित प्रविधियुक्त उपकरण खिएका कारण प्रयोग गर्न मिल्ने अवस्था छैन। नयाँ उपकरणको माग गरिए पनि उपलब्ध नहुँदा सेवा ठप्प भएको हो।

नारायणी अस्पताल वीरगञ्जले पनि दुई वर्षअघि स्वास्थ्य सेवा विभागमा करिब ६ करोड रुपैयाँ बराबरको अत्याधुनिक प्रविधियुक्त उपकरण माग गरेको थियो। अर्थ मन्त्रालयले नारायणी अस्पतालमा यूरो सर्जरीसम्बन्धी उपकरण खरिदका लागि बजेटको समेत व्यवस्था गर्‍यो। तर, विभागले हालसम्म खरिद गर्न सकेको छैन। प्रसूति गृहले पनि एक वर्षअघि स्वास्थ्य विभागसँग ल्याप्रोस्कोपी मेसिन माग गरेको थियो।

वीर अस्पतालका यूरोलोजी विभाग प्रमुख प्रा.डा.रविन बहादुर बस्नेतले यूरो सर्जरी सम्बन्धी उपकरण उपलब्ध गराउन अस्पताल प्रशासनसँग पटक-पटक माग गरेपनि बेवास्ता गरेकाले सेवा बन्द गर्नु परेको बताए।

‘शल्यक्रिया गर्न आवश्यक कतिपय औजारहरू पुरानो भएर खिएका छन्। स्वास्थ्य मन्त्रालयले शल्यक्रियाको पालो कुर्नेलाई तीन महिनाभन्दा बढी मिति नतोक्न निर्देशन जारी गरेको छ,’ उनले भने, ‘यस्तो स्थितिमा कसरी निर्देशन पालना गर्न सकिन्छ ?’

उनका अनुसार अस्पतालमा शल्यक्रियासँग सम्बन्धित सबैभन्दा बढी यूरोलोजीका बिरामी आउने गरेका छन् । ‘यसमा पनि सबैभन्दा बढी पत्थरीका बिरामी छन्। यूरो सम्बन्धी बिरामीको चापकै कारण अन्य अस्पतालमा यूरोलोजीलाई सर्जिकल विभाग अन्तर्गत राखिएपनि वीरमा भने छुट्टै विभाग खडा गरिएको हो,’ उनले भने, ‘प्राय क्यान्सर जस्ता रोग लागेका बिरामीको मात्र चिरफार गरेर शल्यक्रिया गर्ने गरेका छौँ।’

प्रसूति गृहका निर्देशक डा. श्रीप्रसाद अधिकारीले हाल अस्पतालमा भएको ल्याप्रोस्कोपी मेसिन पुरानो भएका कारण सामान्य खालको बिरामीको मात्र शल्यक्रिया गर्दै आइरहेको बताए । ‘मेसिनको स्क्रीन धमिलो देख्ने भएकाले जोखिम मोलेर शल्यक्रिया गर्नुपर्ने बाध्यता छ,’ उनले भने।

नारायणी अस्पतालका निमित्त प्रमुख डा. चित्ररन्जन साहले स्वास्थ्य विभागले बजेट हुँदा हुँदै पनि समयमा सामान खरिद गर्न नसकेकोबारे सम्बन्धित निकायले छानविन थाल्नुपर्ने बताए । ‘यूरो सम्बन्धी सेवा सुचारू गर्न नसक्दा नेपाली मात्र नभई सीमा नाकासँग जोडिएका भारतीय समेत मर्कामा परेका छन्,’ उनले भने, ‘अहिले प्राय बिरामी विना चिरफार प्रविधियुक्त मेसिनबाट शल्यक्रिया गर्न चाहान्छन् । चिरफार नै गरेर शल्यक्रिया गर्नुपर्ने बिरामी निकै कम छन् ।’

अहिले वीर, नारायाणी र प्रसूति गृहले अस्पतालमा यी सम्बन्धित उपचारका लागि आउने बिरामी रेफर गर्नुको विकल्प छैन । कतिपय बिरामी महँगो शुल्क तिरेर निजी अस्पतालमा शल्यक्रिया गराउन बाध्य बनेका छन् । चिकित्सकहरूका अनुसार प्रविधिमार्फत् सरकारी अस्पतालमा शल्यक्रिया गराउँदा २५ देखि ३० हजार रुपैयाँ मात्र लाग्छ भने त्यही प्रविधिबाट निजीमा शल्यक्रिया गराउन कम्तीमा साढे दुई देखि ३ लाख रुपैयाँ शुल्क लाग्छ ।

वीरमा यूरो सम्बन्धी शल्यक्रिया सातामा चार दिन हुन्छ । एक पटक शल्यक्रिया गर्दा सरदर २२ जना गरेर सातामा सरदर ८० जनाको शल्यक्रिया हुने गरेको छ । प्रसूति गृहमा ल्याप्रोस्कोपी पुरानो भएका कारण दैनिक ८–१० जनाको शल्यक्रिया हुने गरेकोमा अहिले २–४ जनाको मात्र हुने गरेको अस्पताल प्रमुख डा. अधिकारीले बताए ।

वीर अस्पतलका प्रशासन प्रमुख सिताराम खड्काले यूरो सम्बन्धी प्रविधियुक्त सामान खरिद गर्न टेन्डर आह्वान गरिसकिएको दाबी गरे। ‘चालु आर्थिक वर्षभित्र खरिद गरिसक्छौं,’ उनले भने । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले टेन्डर एउटा मात्र कम्पनीले हालेको र विना प्रतिस्पर्धा टेन्डर दिन नमिल्ने भएकोले सामान खरिद गर्न नसकिरहेको बताए । ‘यस बारेमा निर्णय गर्न फाइल अध्ययन गरिरहेका छौं,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यूरो सम्बन्धी सामान खरिदमा गर्न टेन्डर आह्वान गर्दा कहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्ने, कहिले मुद्दा पर्ने जस्ता समस्याले समयमा खरिद गर्न नसकेको बताए । ‘विभागले गर्नुपर्ने सबै टेन्डर आह्वान गरिसकेको छ,’ उनले भने, ‘स्वायत्त संस्था जस्तै प्रसूति गृहले सकेसम्म आफूलाई चाहिने मेसिन उपकरण आफैँले खरिद गर्नुपर्छ ।’

यूरो सम्बन्धी रोगको विना चिरफार प्रविधिमार्फत शल्यक्रिया गर्न यूरोडायनामिक्स, रेट्रोग्रेड इन्टर्नल सर्जरी (आरआइआरएस), होलमियम लेजर इन्युक्लियसन अफ प्रोस्टेट (होललेप), लेजर, एक्स्ट्रा कर्पोरल शकवेभ लिथोट्रिप्सी (इइसडब्लुएल) जस्ता प्रविधिको प्रयोग गरिन्छ ।

वीर अस्पतालका युरालोजी विभागका प्रमुख डा.बस्नेतका अनुसार यूरोडायनामिक्स प्रविधिले पिसाबथैली र नलीको अवस्थाबारे पत्ता लगाउँछ । आरआइआरएसले पिसाबको बाटोबाट गई प्वाल नपारीकन मिर्गौलामा भएको पत्थरीलाई लेजरको माध्यमबाट फुटाएर निकाल्छ । होललेपले लेजरको माध्यमबाट प्रोस्टेट निकाल्न सहयोग पुर्‍याउछ ।

वीरका यूरोलोजी विभाग प्रमुख डा.बस्नेतले होललेप गरेपछि दुई दिनमै बिरामी डिस्चार्ज हुन सक्ने बताए । ‘सामान्य काममा फर्कँदा असर हुँदैन,’ उनले भने, ‘यो प्रविधि अपनाउँदा बिरामीलाई रगतको अभाव होला कि भन्ने चिन्ता हुँदैन ।’

उनले लेजर प्रविधिलाई पत्थरी फुटाउन प्रयोग गरिने बताए । ‘ल्याप्रोस्कोपिक सर्जरी भनेको प्वाल पारेर मिर्गौला झिक्ने हो। नलीको क्यान्सर भएमा मिर्गौला, नली र पिसाब थैलीसम्म निकाल्न सकिन्छ,’ उनले भने।


Share this news
आजको रोजाइ
फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

आजको रोजाइ