काठमाडौँ — नर्भिक इन्टरनेसनल अस्पताल आज वैशाख १ देखि ३३ औं वर्षमा प्रवेश गरेको छ । सन् १९९३ मा नर्भिक हेल्थकेयर एन्ड रिसर्च सेन्टरबाट सुरु अस्पताल तीन दशकभन्दा लामो अवधिमा मुलुकको सर्वश्रेष्ठ ‘मल्टी स्पेसियालिटी अस्पताल’ भएको छ ।
३३ औं वार्षिकोत्सवको अवसरमा अस्पतालले विविध कार्यक्रम गरेको थियो । हाल १ सय ४० बेड क्षमतामा सञ्चालनमा रहेको अस्पतालले आफ्नो क्षमता वृद्धिका लागि अत्याधुनिक ८ तले भवन बनाउने क्रममा छ ।
सन् २०२५ भित्र सक्ने लक्ष्य राखिएको भवन निर्माणसँगै ३ सय बेडको क्षमता हुनेछ । अस्पताल सन् २०२१ को जुलाइ १७ देखि पब्लिक लिमिटेडमा गएको छ । निकट भविष्यमै सर्वसाधारणका लागि शेयर जारी गर्ने अस्पतालले जनाएको छ ।
स्थापनाको ४ वर्षपछि अर्थात् सन् १९९७ मा भारतको स्कर्ट हर्ट इन्स्टीच्युटको सहकार्यमा हर्ट कमान्ड सेन्टर स्थापना गरेको अस्पतालले सन् १९९९ मा न्युरोलोजी सेवा सुरु गरेको थियो । त्यसपछि सन् २००४ मा प्रसूति सेवा, २००५ मा युरोलोजी र सीटी स्क्यान सेवा, २००६ मा घुँडाको रिप्लेसमेन्ट सर्जरी, २००८ मा गंगादेवी चौधरी क्याथल्याब, २०१३ मा गाइनोलोजी र २०२२ मा मिर्गौला प्रत्यारोपण सेवा सरु गर्यो ।
सौन्दर्य तथा छाला रोग, मधुमेह तथा इन्डोक्राइनोलोजी, छाती तथा श्वासप्रश्वासजन्य रोग, बालबालिकाका स्वास्थ्य समस्या, ग्यास्ट्रोइन्टेरोलोजी, न्यूरोसाइकियाट्री, आइभीएफ, ओरल तथा म्याक्सिलोफेसियल, प्लास्टिक रिकन्सट्रक्टीभ सर्जरी, अर्थोपेडिक, पिडियाट्रिक अर्थोपेडिक, फिजियोथेरापीलगायतका सेवाहरू अस्पतालले दिइरहेको छ ।
पछिल्लो समयमा अस्पतालमा विभिन्न जटिल समस्याको पनि सफल उपचार सम्पन्न भएका छन् । अस्पतालमा टाउकोमा पानी जम्ने समस्याका लागि ‘प्रोग्रामेबल सन्ट सिस्टम’ विधिबाट उपचार गरिएको छ भने पहिलो पटक पेटको सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिबाट सफल उपचार भएको छ । कलेजोको समस्या ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार गरिएको छ । चिरफार नगरी मेरुदण्डको शल्यक्रिया सुरु गरिएको छ ।
यसबाहेक अस्पतालले सब–स्पेसियालिटी क्षेत्रको रुपमा विकास भइरहेको इमर्जेन्सी सेवालाई पनि प्रभावकारी रुपमा सञ्चालन गरिरहेको जनाएको छ । स्थापनायताका तीन दशकभन्दा लामो अवधिमा हामीले २५ लाखभन्दा बढी बिरामीलाई सेवा दिइसकेको अस्पतालले जनाएको छ । सातै महादेशका ३० भन्दा बढी मुलुकका नागरिकलाई गुणस्तरीय उपचार सेवा दिएको अस्पतालको दाबी छ ।
प्रविधिको विकाससँगै अस्पतालले डिजिटल प्रणाली पनि अंगीकार गरेको छ । अस्पताललाई डिजिटलाइज्ड गर्ने क्रममा छुट्टै एप विकास गरिएको छ । नर्भिकले बिरामीको गुणस्तरीय र विश्वसनीय उपचार सेवामा सदैव प्रतिबद्ध रहने जनाएको छ ।