काठमाडौँ — वेभ हस्पिटालीको आयोजनामा आगामी जेठ ९ र १० मा ‘काठमाडौं इन्टरनेसनल गीतार फेस्टिभल २०२५’ हुँदैछ । ६ विदेशी संगीतकर्मीसँगै गीतारिस्ट किशोर गुरुङले बसुन्धरास्थित ग्लोबल म्युजिक कन्जरभेटरीमा आयोजना हुने कार्यक्रममा प्रस्तुति दिनेछन् ।
कार्यक्रममा जर्मनी, इरान, थाइल्यान्ड, लिचेस्टाइन, अमेरिका, फ्रान्सका संगीतकर्मीले क्लासिकल गीतारमाथि ‘इन्ट्रुमेन्टल’ प्रस्तुति दिनेछन् । प्रस्तुतिसँगै विदेशबाट आएका संगीतकर्मीबाट ‘मास्टर क्लास’ पनि आयोजना गरिने तयारी छ । संगीतका विद्यार्थीलाई क्लासिकल गीतारमा तिखार्न पनि यो मास्टर क्लास संचालनमा आउने किशोरले बताए ।
‘प्रस्तुतिका लागि नेपाल आइपुग्ने सबै गीतारिस्टहरु अवार्ड जितिसकेका संगीतकर्मीहरु हुन्,’किशोरले भने,’खासमा अहिले उनीहरु प्रस्तुति दिँदै थाइल्यान्ड आइपुग्दै छन् । त्यसैले पनि उहाँहरुलाई नेपाललाई निमन्त्रणा दिएँ ।’
दुई दिनसम्म आयोजना हुने कार्यक्रममा प्रत्येक दिन चार कलाकारले प्रस्तुति दिनेछन् । किशोरका अनुसार उनीहरुले दुई घण्टाको प्रस्तुति दिनेछन् । यी संगीतकर्मीलाई नेपाल ल्याउने तयारी पछिल्लो १ वर्षदेखि नै भएको थियो ।
यही कार्यक्रममा किशोरले १५ वर्षपछि क्लासिकल गीतार समाउँदै प्रस्तुति दिनेछन् । यसबीच ‘फोकल डिस्टोनिया’ भएपछि किशोरले यसरी देश/विदेशमा प्रस्तुति दिन छाडेका थिए ।’