मिरिकको प्रमुख पर्यटकीय आकर्षणहरूमध्ये एक मिरिक आले खेल मैदान परिसरमा रहेको इको पार्कमा अब साहसिक गतिविधिहरू पनि थपिएका छन्। वन विभागद्वारा निर्मित उक्त इको पार्कमा जीपलाइन ट्रेल बुधबारदेखि सर्वसाधारणका लागि औपचारिक रूपमा सञ्चालनमा आएको छ। उक्त जीप लाइनको उद्धघाटन बुधबार डीएफओ देवेष पाण्डे, एडीएफओ समीर गजमेर, फरेष्ट रेन्जर अफिसर सरोज राई, मिरिक महकुमा शासक तेन्जी सिमकी ओगेन, जीटीए स्वास्थ विभागका कार्यकारी सभासद अरूण सिग्ची, सभासद धुर्ब बम्जनले संयुक्तरूपमा गरे। इको पार्कमा संचालनमा आएको जीपलाइनले मिरिकको पर्यटन विकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ। मिरिक झील नजिकै अवस्थित यो इको पार्क पर्यटकहरूका लागि एक शान्त र सुन्दर गन्तव्य हो। अब यस नयाँ जीपलाइन ट्रेलको उद्घाटनसँगै, साहसिक खेल मन पराउने पर्यटकहरूका लागि एउटा आकर्षण थपिएको छ। करिब २०० मिटर लामो यो जीपलाइनले इको पार्कको रमणीय दृश्यको आनन्द लिँदै रोमाञ्चक अनुभव प्रदान गर्नेछ।
