असारमा खडेरी, कार्तिकमा झरी यही विरोधाभासी मौसमले पश्चिम सिक्किमका कृषकहरूलाई दोहोरो मारमा पारेको छ। असारमा पानी नपरेर धेरै किसानले खेत बाँझो राख्नुपरेको थियो, अब जब पाकेको धान उठाउने समय आयो, निरन्तर बेमौसमी झरीले बाँकी रहेको फसल पनि विगारिदिएको छ। मौसम विज्ञान विभागले पहिल्यै अत्यधिक वर्षाको चेतावनी दिएको भए पनि ग्रामीण भेगका किसानले यस्तो ठूलो क्षतिको कल्पना गरेका थिएनन्। पछिल्ला दुई दिनदेखि लगातार परेको वर्षाले औलो भेगका लिङचोम, टहारी, पार्बोक, तोयाङ, लुपुन, बिरिबुङ, पिचिथाङ, सम्बोक, याङ्ते र दोमाती क्षेत्रका खेतहरूमा पानी थिचिएर अन्न ढल्यो, मुसा–चरा र बाँदरले रमाएको छ, किसानहरू असन्तुष्ट छन्।
धान रोप्ने समयमा खडेरीले रोपाइँ नै गर्न नसकेका धेरै किसानले यो पटक खेतीबाट टाढा बस्न वाध्य भए। जसले कसरी होस् खेतमा अन्न फलाएका थिए, तिनको मेहनत अब वर्षाले बगाएको छ। “असारमा पानी नपाएर रोप्न पाएनौं, अब काट्ने बेला खेतै डुब्यो, अन्न सबै भासियो,” किसानहरूले व्यथित हुँदै बताए।
कृषक अरुण छेत्री बस्नेत भन्छन्, “हामी खेती गर्छौं, तर अहिले खेती रमाइलोका लागि होइन, बाध्यताका लागि हो। बाँदर, चराले फसल खान्छन्, झरीले भिजाउँछ। यस्तोमा मन खेतीमा लाग्ने कुरै आएन।”










