मिनरल स्प्रीङ, 3 जुलाई(निसं); निक्कै लामो समयदेखि जीर्ण अवस्थामा रहेको सडकको कारण समस्या भोग्दै आएका हरसिहहट्टा अनि मिनरल स्प्रीङ क्षेत्रका वाहन चालक, मालिक अनि उक्त सडक भएर ओहोर-दोहोर गर्ने जनसाधारण तथा यात्रुहरुले सुगम यात्राको उपभोग गर्न पाउने भएका छन् ।विगत दिनमा ठाउँ- ठाउँमा गएको पैह्रो अनि सडकमा लगाइएको अलकत्रा उप्किएर खाल्डो परेको सडकमा वाहनहरु खूबै होशियारीसित चलाउनु पर्ने अवस्था थियो भने अब हुन लागेको प्रधानमन्त्री ग्राम सडक योजनाले उक्त सडकको रुप परिवर्तन हुनेछ भनी भुक्तभोगी जनसाधारण आशावादी छन्। दैनिक रुपमा सयौं वाहनहरु ओहोर-दोहोर गर्ने सो सडक हरसिंह मिनरल स्प्रीङको आम जनताको निम्ति जीवन रेखाको रूपमा रहेको छ। उक्त सडक भएर दैनिक रुपमा विध्यार्थी, व्यवसायी, विरामी, पर्यटक, कर्मचारी आदि आवतजावत गर्ने गर्छन्। अहिले घरी विभिन्न स्थानमा पर्यटन व्यवसायसित सम्बन्धित होमस्टेहरु पनि सन्चालनमा रहेको हुनाले बाटोको अवस्था हेरेर होमस्टेमा आउने पर्यटकहरुले नकारात्मक टिका टिप्पणीहरु गरेको पनि सुनिन्थ्यो।तर अब बाटोको अवस्थामा सुधार आउने भएपछि सबैले हर्ष प्रकट गरेका छ्न् औ बाटोको मरमती कार्य असल अनि गुणस्तरीय हुनेछ भनी आशा राखेका छन्।
लेबोङ हरसिहहट्टादेखि दवाईपानी मिनरल स्प्रीङको जीरो प्वाइन्टसम्म स्वीकृत उक्त सात किलोमिटर भन्दा अधिक लामो सडक मर्मतको प्रधानमन्त्री ग्राम सडक योजनाले सडक सम्बन्धित समस्या भोग्दै आइरहेका जनसाधारणले राहत प्राप्त गर्ने भएका छन्। चरणवद्ध रूपमा कार्य सन्चालन गरिने क्रममा हाल पैह्रोले क्षति पुर्याएको सडकको अंश मरमती गरिने कार्य थालिएको छ।यस मरमती कार्य तहत निम्न हरसिहहट्टाको विभिन्न स्थानमा विगत धेरै वर्ष अघि गएको पैह्रो ग्रस्त सडक क्षेत्रमा मर्मतको कार्य आरम्भ गरिएको छ।
