Nadong Bhutia

नयाँ पुस्ताका फूटबलरहरूलाई उज्यालो बाटो खोल्दै नादोङ भुटिया

Share this news

संघर्ष र चुनौतीबाट उक्लिएका फूटबल खेलाड़ीको खेल यात्राबारे लेख्छन् बिजनबारीबाट लेख्छन् हिमालय दर्पणका संवाददाता सञ्जय निरौला

फूटबलले हजारौँ युवाको जीवन बदलिदिन्छ, तर केहीका लागि यो मात्र खेल होइन-भाग्य बदल्ने यात्राको शुरुवात हुन्छ। कालेबुङको साङ्से बस्तीमा जन्मिएका नादोङ भुटिया त्यही उदाहरण हुन्, जसले पहाड़को सानो मैदानबाट शुरु गरेर अन्तर्राष्ट्रिय मैदानसम्म पुगे। अथक मेहनत, चोटपटक र चुनौतीभित्रबाट उक्लिँदै उनी न केवल आफैं फूटबलमा चम्किए, आज पहाड़का नयाँ पुस्ता जन्माउने प्रशिक्षकका रूपमा पनि प्रेरणाको स्रोत बनेका छन्।

कालेबुङको साङ्से ग्रामस्थित साङ्से बस्तीमा निमाजी भुटिया र छिरिपुदा भुटियाका छोरा नादोङ सानैदेखि फूटबलमा आकर्षित थिए। प्राथमिक कक्षामा पढ़्दा गाउँकै सानो मैदानमा खेल्न थाले। प्राथमिक शिक्षा पछि कुमुदिनी होम्स कालेबुङ पुगे, जहाँबाट उनको फूटबल यात्रा औपचारिक रूपमा शुरू भयो। विद्यालयस्तरका जुनियर प्रतियोगितामा उनको खेल-कौशल छिट्टै चर्चामा आयो र यतिबेलासम्म उनले फूटबललाई आफ्नो भविष्यका रूपमा सोचिसकेका थिए।

साथीहरूको सुझावमा उनले आर्मी बोइज स्पोर्ट्स क्लबद्वारा अलगढ़ामा आयोजित ट्रायल पास गरे र फूटबल तालिमका लागि दानापुर, बिहार पुगे। प्रशिक्षण सन् २००७ सम्म निरन्तर चल्यो। यसै क्रममा उनले सुब्रतो कप २००३ मा अन्डर-१४ अनि २००४ देखि २००६ सम्म अन्डर-१७ तर्फबाट खेल्ने मौका पाए, जहाँ उनले राम्रो ख्याति कमाए। सन् २००७ मा बिहार राज्यलाई प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त भयो। उत्कृष्ट प्रदर्शनका आधारमा उनी भारतीय सेनामा प्रवेश गर्न सफल भए र सन् २००८ देखि आवद्ध रहे। सेनास्तरका धेरै महत्वपूर्ण खेलहरूसँगै उनले सेनाको तर्फबाट पनि धेरै प्रतियोगितामा भाग लिए, जसमा सन् २००९-१० को डुरन्ड कप प्रमुख मानिन्छ।

बिस्तारै सेनाको अनुमतिसँगै उनी देशका विभिन्न लिग प्रतियोगिता खेल्ने पेशेदार क्लबहरूसँग आबद्ध भए। जसमा भाइचुङ भुटियाको नेतृत्वमा रहेको युनाइटेड सिक्किमसँग २०१२-१३ मा खेल्दै आईएमजी रिलायन्स, मुम्बई सिटी एफसी २०१४ सम्म उनले यात्रा गरे। मुम्बईमै रहँदा केही समय शिलोङको दलमा लोनमा खेले। पछि एटीकेमा २०१५-१६ सम्म आबद्ध भएर ‘ए’ डिभिजन लिग खेले। त्यही समयमा एटीके र मुम्बई सिटीबाट हिरो इण्डियन सुपर लिगमा उनले उत्कृष्ट प्रदर्शन गरे। सन् २०१५ को एएफसी कपमा भारतको प्रतिनिधित्व गर्ने अवसर पाए। ‘ए’ डिभिजन क्लबमा रहँदा उनी विभिन्न देशमा तालिम लिन पुगे। नादोङका अनुसार, एटीकेका कोच एन्टोनियो लोपेज हबासको मार्गदर्शनमा म्याड्रिड जाने अवसर पाए।

सन् २०१६ मा चोट लागेर उनी छ महिनासम्म मैदानबाट बाहिर रहे। निको भए पनि फर्किनु उनका लागि चुनौती थियो। त्यो कठिन समय सम्झिँदै उनी भन्छन्, ‘‘त्यतिबेला म धेरै पीड़ामा थिएँ। पुराना क्लबहरूसँग सम्पर्क टुटेपछि कसरी फर्कने भन्ने द्विविधा थियो।’’ तर भुटान ‘ए’ डिभिजन क्लब ड्रुक युनाइटेडले उनलाई अवसर दियो, जहाँ उनले छ महिनासम्म खेल्दै पुनः आफ्नो लय फेला पारे।

सन् २०१८ मा पञ्जाबको मिनरुबा फूटबल क्लबबाट आई-लिग खेले र क्लबलाई विजयी बनाए। सोही वर्ष उनी श्रीनगरको ‘बी’ डिभिजन लिग रियल कश्मीर एफसीसँग आवद्ध भए। एक सिजनको लागि कन्ट्रयाक साइन गरेका नादोङ सिजनको सर्वाधिक गोलकर्ता बनेपछि क्लबले उनलाई राख्यो। रियल कश्मीर एफसीलाई आई-लिगमा भाग लिने जम्मु-काश्मीरको पहिलो दल बनाउन उनले महत्त्वपूर्ण योगदान दिए। तर सन् २०१९ मा फेरि घाइते भएपछि डाक्टरले फूटबल खेल्न रोक्नलाई कड़ाइका साथ भने। फूटबल बिना बाँच्न नसक्ने नादोङ एकाएक अलमलिएको अनुभव गरे। त्यसपछि आफू खेलाड़ी बन्ने होइन, खेलाड़ी जन्माउनेतर्फ केन्द्रित भए। हितैसीहरूको सुझावमा सन् २०२० को जुलाईमा ‘नादोङ भुटिया फूटबल एकाडेमी’ जन्मियो। सिलगढ़ीमा शुरु भएको एकाडेमीमा धेरै विद्यार्थी आए। उनले व्यावसायिक कोचहरूसहित भविष्यका उत्कृष्ट खेलाड़ी तयार गर्ने संकल्प लिए। तर क्षेत्रका खेलाड़ीहरूबाट टाढ़िएको अनुभूति भइरह्यो। साना गाउँका बालकले देश-विदेशमा खेलिरहेका दृश्य उनले मनमनै कोरे। त्यही सोचले आफ्नै क्षेत्रका स्कूलमा फूटबल शुरु गराउन प्रेरित गर्‍यो। पहाड़बाटै अब्बल दर्जाका फूटबलर जन्माउने लक्ष्यसहित उनले कुमुदिनी होम्समा रेसिडेन्सियल फूटबल एकाडेमी स्थापना गरे, निजी लगानी ब्यहोर्दै आत्मसन्तुष्टिपूर्वक। अब उनको यात्रा उत्कृष्ट खेलाड़ी उत्पादनतर्फ अघि बढ़िरहेको छ।

भविष्यमा विश्‍वकपमा गाउँकैहरू देख्ने सपना बोकेका नादोङ फूटबललाई जीवनको हिस्सा मान्छन्। अहिले कोच रहेका उनी भन्छन्, ‘‘फूटबल सबैले बुझ्ने सरल खेल हो। पहाड़मा त झनै यसको छुट्टै महत्व छ। देशले क्रिकेटलाई भगवान मानेझैं पहाड़को कुनाकन्दराले फूटबललाई भगवानसरह मान्छन्।’’

उनका अनुसार, युवाहरूमा जोश जाँगर छ, तर पहाड़को ठूलो समस्या भनेको मैदानको अभाव हो। ‘‘मैदान त छन्, तर मदेशको तुलनामा कठिन र छाँटकाँट नमिल्दो। सम्भावना भए पनि खेलाड़ी जन्माउने वातावरण तयार गर्न सकिएको छैन’’, नादोङ भन्छन्। यसतर्फ सरकारको ध्यान नपुगेको उनको टिप्पणी छ।

‘‘पहाड़मा केही मैदान छन् जहाँ स्तरीय फूटबल आयोजना गर्न सकिन्छ, तर समय मिलाउनु चुनौतीपूर्ण छ’’, उनी कालेबुङ मेला ग्राउण्डकै उदाहरण दिँदै भन्छन्, ‘‘त्यहाँ धेरै चाप छ, कार्यक्रमहरूकै भीड़ले फूटबल तालिम निरन्तर चलाउन सकिँदैन। पहाड़का धेरै मैदानको स्थिति यस्तै छ। तर मदेशमा खेलका लागि छुट्टै निश्‍चित मैदान भएकाले तालिम सहज हुन्छ। सम्बन्धित सरकारलाई यस्तो अवस्थाबारेमा थाहा नभएको हो कि? कानमा तेल हालेर बसेको वा यसबारेमा ढोका ढकढक्याउनेको कमि भएको हो?’’  नादोङले नबुझेको बताउँछन्।

युवाहरूका लागि उनको सुझाव छ, ‘‘फूटबलमा भविष्य देख्नेहरू पहाडमै सीमित नबनी मदेशतर्फ पनि तालिमका अवसर खोज्नुहोस्, त्यहाँ पर्याप्त मैदान पाउनुहुन्छ।’’ खेलकुदमा भविष्य उज्ज्वल देख्ने नादोङका लागि खेल परिचय मात्र होइन, समर्पण र त्यागको परिणाम हो। सानोतिनो उल्झनमा नअड़िकन सफलता देखेर अघि बढ़्न सबैलाई उनी आग्रह गर्छन्।

पहाड़मा पूर्वाधारको अभावले राम्रा खेलाड़ीहरू अघि बढ्न नसक्ने धारणा उनी राख्छन्। क्षेत्रीय प्रशासनले यसलाई गम्भीरतापूर्वक लिएर राज्य सरकारसमक्ष प्रस्ताव अघि बढ़ाई पूर्वाधार विकासमा काम नगरेसम्म खेलबाट भविष्य बनाउन चाहने युवाहरूलाई ठूलो चुनौती रहने उनको भनाइ छ।

नादोङ भुटिया एआईएफसीको ‘डी’ र एफसीको ‘सी’ लेभलका प्रमाणित कोच हुन्। उनले सन्तोष ट्रफीमा सिक्किमको प्रतिनिधित्व गरेका छन्। एन्टोनियो लोपेज हबासले उनलाई ‘स्पिडस्टर’को उपाधि दिएका छन्। साथै स्थानीय, जिल्ला र राष्ट्रिय स्तरमा धेरै पुरस्कारसमेत प्राप्त गरिसकेका छन्।

नादोङ भुटिया, जसले फूटबलमा धेरै चोट खपे, चुनौतीको सामना गरेर आज पहाड़का दर्जनौँ युवाका प्रेरणादायी मार्गदर्शक भएर उभिएका छन्। आफ्नो उपलब्धिहरू उनी अब नयाँ पुस्ताका कदमहरू सशक्त बनाउन खर्चिरहेका छन्।


Share this news
आजको रोजाइ

दोयाक “द ओपन स्टोन भिलेज म्युजियम” ग्रामीण पर्यटन

नयाँ पुस्ताका फूटबलरहरूलाई उज्यालो बाटो खोल्दै नादोङ भुटिया

नयाँ पुस्ताका फूटबलरहरूलाई उज्यालो बाटो खोल्दै नादोङ भुटिया

शान्ता लामा शिल्ड मिनी पोस्ट फुटबलको फाइनल आइतबार हुने

शान्ता लामा शिल्ड मिनी पोस्ट फुटबलको फाइनल आइतबार हुने

आइजीजेएफले सबै राजनैतिक दल, संघ संस्थाहरूसंग भेट गर्ने

आइजीजेएफले सबै राजनैतिक दल, संघ संस्थाहरूसंग भेट गर्ने

भारतीय गोर्खालाई व्यवस्था होइन, आफ्नै पुर्ख्यौली भूमि (माटो) चाहियो

सिटिजन एक्शन पार्टीको केन्द्रीय कार्यकारी परिषदको बैठक सम्पन्न

सिटिजन एक्शन पार्टीको केन्द्रीय कार्यकारी परिषदको बैठक सम्पन्न

सिङताम खामदोङ्ग निर्वाचन क्षेत्रमा वार्डस्तर समिति गठनको पाँचौँ दिन

सिङताम खामदोङ्ग निर्वाचन क्षेत्रमा वार्डस्तर समिति गठनको पाँचौँ दिन

ब्लक पसौं र शाखा पसौं अभियानमा लाग्न पर्ने आवश्यकतामा जोड

ब्लक पसौं र शाखा पसौं अभियानमा लाग्न पर्ने आवश्यकतामा जोड

SDRF जारीको लागि गर्भनर डा. आनन्द बोसलाई बिष्टद्वारा पत्राचार

SDRF जारीको लागि गर्भनर डा. आनन्द बोसलाई बिष्टद्वारा पत्राचार

डा.किङ्ग र डुप्छेन लामाको हिन्दी अलबम “पहाडों की रानी” आउने

डा.किङ्ग र डुप्छेन लामाको हिन्दी अलबम “पहाडों की रानी” आउने

आजको रोजाइ