लोक संगीतको मेरुदण्ड ‘मारूनी’ जोगाउँदै के बी वातर

Share this news

लोक संगीतको मेरुदण्ड मारूनीजोगाउँदै के बी वातर पहाड़का परिचित साम्यवादी नेता के बी वातरले गर्दै आएका मारुनी संरक्षणबारे लेख्छन् हिमालय दर्पणका संवाददाता सञ्जय निरौला

दार्जीलिङका मञ्चहरूमा कहिले राजनीतिक भाषणका स्वर गुञ्जिन्छन्, कहिले मादलको धिन्ताङ धिन्ताङ। यी दुवै ध्वनिबीच एउटा साझा नाम गुञ्जिन्छ- के बी वातर। राजनीतिका मञ्चमा जति जोशका साथ बोल्छन्, लोक संस्कृतिको मञ्चमा उति नै आत्मीयताका साथ बजाउँछन् मादल। पहाड़का परिचित साम्यवादी नेता मात्र होइनन् उनी, नेपाली लोक संस्कृतिको मेरुदण्ड मारुनी नृत्यका संरक्षक पनि हुन्।

दार्जीलिङ पुलबजार खण्डको गोक ग्रामअन्तर्गत रङ्दु गाउँको सामान्य परिवेशमा जन्मिएका वातरको बाल्यकाल मादलका ताल र लोक भाकासँगै हुर्कियो। राजनीति त पछि आयो, पहिला आयो संस्कृतिप्रतिको मोह। जब तिहारको साँझ गाउँभरमा धुन गुञ्जिन्थ्यो, उनको हृदयमा त्यो ताल बस्थ्यो। यही मोहले उनलाई राजनीतिसँगै लोक परम्पराको बाटोमा हिँड़ाउन प्रेरित गर्‍यो। उनको जीवन, मानौं दुई तालको संगम हो- एउटा समाज रूपान्तरणको राजनीतिक ताल, अर्को मौलिकता जोगाउने सांस्कृतिक ताल। दुवैलाई सन्तुलनमा राख्दै उनले तीन दशकभन्दा बढ़ी समयदेखि ‘मारुनी’को संरक्षणमा लागिरहेका छन्।

‘‘मारुनी नृत्य कसैको पेवा नृत्य  होइन। यसले समग्र नेपालीलाई प्रतिनिधित्व गर्छ?’’

सानो बालक हुँदै बाबु-बाजेहरुले घन्काएको धिन्ताङ धिन्ताङले मादलको नजिक ल्यायो। त्यसपछि मादल उनको प्रिय बन्यो। दशैंपछि तिहारको निम्ति साँझपख घरघरमै अभ्यास गर्ने मादलको समला र झ्याउरेले कुना-कन्दरा मात्रै होइन उनको मनभित्र नै छोयो। बिस्तारै उनले मादलको खरिमा हात पुर्‍याउन थाले। उनको हातले पनि ठूला-बड़ाको सहयोगमा सहजै मादलको तालहरू टिप्न थाल्यो। त्यसबेलासम्म के बी वातर मादले बन्ने लायकका बनिसकेका थिए। यसपछि शुरु भयो उनको मारुनी यात्रा। परम्परागत हस्तान्तरण गर्ने सोचले उनका पुर्खाहरुले हस्तान्तरण गरेको साधरण मारुनीले उनको चित्त बुझेन। केवल मनोरञ्जनको साधन होइन सम्पूर्ण जतिलाई प्रतिनिधित्व गर्ने नाँच बनाउने सोचमा लागे।

के बी वातरले सन् १९९५ मा मन मिल्नेहरूसँग शुरु गरे चन्द्रोदय क्लब। जसको मुख्य लक्ष्य मारुनीलाई सक्रिय बनाउँदै केवल पर्वविशेषका लागि नभएर नयाँ पिढ़ीसम्म पुर्‍याउनु थियो। यद्यपि पहिलो वर्ष संगठित बनाउन र नयाँहरूलाई तालिम दिनमै बित्यो। सन् १९९६ देखि शुरु भयो चन्द्रोदयको मारुनी यात्रा। पहिला पहिला पाङ्दुरे मात्रै देखेकाहरूलाई नयाँ मारुनी निक्कै आकर्षक लाग्यो। अब गाउँसँगै चन्द्रोदयको मारुनी गोक, पुलबजार, बिजनबारी, रेलिङ, कैंजले, झेपीलगायतका स्थानहरूतिर माग बढ़्न थाल्यो। कलाकारहरूलाई भ्याइनभ्याई हुनथाल्यो वर्षैपछि गाई तिहार औंसीबाट शुरु हुने मादले नाँच कोजाग्रत पुर्णिमासम्म चल्नथाल्यो। गाउँमा मारुनी नाँच्न थालेपछि मौरीको गोलाले जस्तो दर्शकहरूले घेर्न थाले। कलाकारहरूको हौसला बढ्दै गयो। बिस्तारै लोक संस्कृति बोकेको नृत्य क्षेत्रलाई प्रतिनिधित्व गर्दै बाहिर निकाल्ने अवसरहरु मिल्न थाल्यो। यसैमा के बी वातरको नेतृत्वमा रहेको चन्द्रोदय क्लबले सन् तिर दार्जीलिङ गोर्खा पार्वत्य परिषद (दागोपाप) स्तरीय प्रतियोगिता जित्न सफल बन्यो। पछि २००३ तत्कालीन दागोपापका अध्यक्ष सुवास घिसिङको पहलमा नेपाल तथा भारतलाई लिएर आयोजना गरेको अन्तर्राष्ट्रिय स्तरीय मादले प्रतियोगतामा उत्कृष्ट प्रदर्शन गर्न सफल बन्यो। दार्जीलिङ पहाड़ी भेक साथै छिमेकी राज्य सिक्किमतिर हुने विभिन्न जातगोष्ठीद्वारा गरिने सांस्कृतिक-धार्मिक कार्यक्रमहरुमा सहभागी बने।

मुख्य रूपमा पुर्वेली भाकामा खप्पिस के बी वातर मादल बजाउँदै गीतहरू गाउन उत्तिकै निपुण छन्। उनका अनुसार, बजाउने तालमा मनोरञ्जनसँगै वियोग, मिलन, देवता पुज्नेलगायतमा भिन्नभन्नै रहन्छन्। यसका साथै बिहान, दिउँसो र बेलुकीको प्रहरअनुरुप बजाउने भिन्नाभिन्नै ताल रहन्छ। मादलकै तालमा मारुनीको श्रृङ्गार पनि रहन्छ। हेर्दा मनोरञ्जनको निम्ति राखेजस्तै देखिने ‘पुरुसुङ्गे’को नाँचमा ठूलो जिम्मेवारी हुन्छ। जसले मारुनीलाई अंगरक्षकको रूपमा सहयोग गर्छ।

मारुनीबारेमा के बी वातर भन्छन्, ‘‘मारुनी नृत्य कसैको पेवा नृत्य होइन। यसले समग्र नेपालीलाई प्रतिनिधित्व गर्छ। आज मारुनी भन्दै युवायुवतीहरु नृत्य गर्ने गर्दछन् त्यो कदापि मरुनी होइन। वास्तविक मारुनी भनेको युवकलाई युवतीको रूपमा श्रृङ्गार गरेर नचाउने भिन्नै महत्त्व बोकेको नृत्य हो। जसले हाम्रो समाजमा एक छुट्टै मनोरञ्जन प्रदान गर्दै कलाकार जन्माउँछ।’’ तथापि आजको दिनमा यसलाई बचाई राख्नु निक्कै चुनौती रहेको बताउँदै उनी भन्छन्, ‘‘हाम्रा दर्शकहरू सीमित भइसकेका छन्। शुरु शुरुमा विभिन्न स्थानहरूबाट मागहरू आउने यस नाँचमा युवा वर्गले त्यति धेरै चासो देखाउँदैनन्। जसले यो मौलिकता बोकेको नाँचलाई मेरा पुर्खाले मलाई हस्तान्तरण गरे सरह अबको दिनमा हस्तान्तरण गर्नेहरू पाउन निक्कै मुश्किल छ। नयाँ-नयाँ प्रविधिको पिसाइमा यो नाँच हेर्नेहरूको कमि नभए पनि नाँच सिक्नेहरूको दैनिक रूपमा अभावले मारुनी केवल औपचारिक नाँच बन्न पुगेको छ।’’

अर्कोतिर आफ्नो टोलीबाट उत्पादन गरिएका मारुनीहरूले कुनै ठूलो मञ्चसम्म नपुगे पनि आउँदो ५० वर्षसम्म यो परम्परागत नृत्यलाई समाजमा बचाइराख्न उनी प्रतिवद्ध छन्। नयाँ पुस्ताले नसिके पनि मारुनीको दुमु आफूहरूले बचाइराख्नेमा उनी केही हदसम्म ढुक्क पनि छन्। लगभग ३० वर्ष पुरा गरिसकेको चन्द्रोदय क्लबले हालसम्म लगभग एक दर्जन मारुनी बीसभन्दा अधिक मादले जन्माइसकेका छन्। आफ्नो समूहको आफन्तमा मृत्यु भएमा देउसी नखेल्ने समूहले लगभग २० वर्षदेखि देउसी पूरा गरिसकेका छन्।

विभिन्न मनोरञ्जनको साधन आए पनि लगभग ३० वर्षदेखि यस जातीय नृत्यलाई सामुहिक रूपमा संरक्षण गर्दै आएका के बी वातर मादलेसँगै मारुनीका एक संरक्षक हुन्। जसले राजनैतिक मञ्चका प्रतिद्वन्द्वीता बिर्सिंदै नेपाली लोक संगीतको मेरुदण्ड मारुनी नाँचलाई बचाउनुपर्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्। उनीसँगै उनको सांस्कृतिक टोलीले देखेको सपना युवा पिढ़ीमा जातीय संस्कार बोकेको विभिन्न साजबाज, नाँचहरू बचाउने कर्तव्य केवल उनीहरूको मात्रै नभएर सम्पूर्ण समाजको हो।

के बी वातरका हातबाट घन्किने मादलको ताल केवल मनोरञ्जनको स्वर होइन- त्यो पहिचानको धुन हो। आधुनिकताको छालमा पुराना स्वरहरू हराउँदै गर्दा, उनले तीन दशकदेखि मादलको धिन्ताङ धिन्ताङमा इतिहास र संस्कृति जोगाइरहेका छन्।


Share this news
आजको रोजाइ
लोक संगीतको मेरुदण्ड ‘मारूनी’ जोगाउँदै के बी वातर

लोक संगीतको मेरुदण्ड ‘मारूनी’ जोगाउँदै के बी वातर

माल्तुम-दश नम्बर सडक निर्माणको लागि शिलान्यास

माल्तुम-दश नम्बर सडक निर्माणको लागि शिलान्यास

सांसद राजु बिष्ट सुवेन्दु अधिकारीसँग पुगे ऋचा घोषको घर

सांसद राजु बिष्ट सुवेन्दु अधिकारीसँग पुगे ऋचा घोषको घर

सब-इन्स्पेक्टर भर्तीमाथि CAP र SDF को झुटो आरोप

सब-इन्स्पेक्टर भर्तीमाथि CAP र SDF को झुटो आरोप

दिलीपकुमार बराइली जस्ता एक योग्य भरपर्दो व्यक्तिलाई समाजले गुमायोः जागृति परिवार

दिलीपकुमार बराइली जस्ता एक योग्य भरपर्दो व्यक्तिलाई समाजले गुमायोः जागृति परिवार

पार्मटी अध्नयक्ष  घिसिङ अनि अन्य नेतृत्वहरूले दिल्लीमा निभाउन पर्ने भूमिका निभाउदैछन्ः गोरामुमो

पार्मटी अध्नयक्ष घिसिङ अनि अन्य नेतृत्वहरूले दिल्लीमा निभाउन पर्ने भूमिका निभाउदैछन्ः गोरामुमो

टासी साम्तेनलिङ गुम्बामा पाँच दिवसीय तारादेवी पूजा समापन

टासी साम्तेनलिङ गुम्बामा पाँच दिवसीय तारादेवी पूजा समापन

बाईपास रोडको हावा घर सोचनीय बन्दैछ

बाईपास रोडको हावा घर सोचनीय बन्दैछ

भागोप्रमो टुङ सन्तमेरिज समष्टिको सभा

भागोप्रमो टुङ सन्तमेरिज समष्टिको सभा

सशस्त्र सीमा बल मुख्यालयद्वारा आयोजित फुटबलमा विष्ट

सशस्त्र सीमा बल मुख्यालयद्वारा आयोजित फुटबलमा विष्ट

आजको रोजाइ