गोर्खाबाहुल क्षेत्रको लागि स्थायी समाधान सम्बन्धित वार्तालाई अगाड़ि बढ़ाउन भारतका राष्ट्रीय सुरक्षा उपसल्लाहकार (Dy-NSA) रहेका पंकज कुमार सिंह, आइपीएस (सेवानिवृत्त) लाई इन्टरलोक्युटर नियुक्त गरिएको घोषणाका लागि दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका जनताको तर्फबाट सांसद राजु विष्टले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहप्रति हार्दिक कृतज्ञता टक्र्याएका छन्। सांसद विष्टले प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी दिएका छन्। विज्ञप्तिमा उल्लेख गरिए अनुसार यो क्षेत्रको इतिहासमा पहिलोपटक कुनै रक्तपात, राजनीतिक अशान्ति, वा एउटा पनि ज्यान नगुमाइकन इन्टरलोक्युटरको नियुक्तिको चरणमा पुगेको बताइएको छ। पहाडी जनताको लागि, यो दार्जीलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रका जनताको एक उल्लेखनीय विजयको द्योतक हो। विष्टले, आफूमा शुरूदेखि विश्वास रहिआएको छ कि दिगो राजनीतिक समाधानको मार्ग वार्तालाप अनि शान्तिको मार्गद्वारा प्रशस्त हुनु आवश्यक रहेको बताएका छन्। अघाडि लेखिएको छ, इन्टरलोक्युटरको नियुक्तिले गोर्खाबाहुल क्षेत्रका जनताको आकांक्षाहरूको सम्बोधनको दिशामा एक महत्त्वपूर्ण पाइलालाई दर्शाउँछ। इन्टरलोक्युटरको भूमिकाले यो क्षेत्रका राजनीतिक प्रतिनिधिहरू लगायत सबै सरोकारवालाहरूमाझ वार्ताको मार्ग प्रशस्त गर्ने सांसद विष्टले विश्वास व्यक्त गरेका छन्।
