गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) मिरिक समष्टिअन्तर्गत ओकेटी–९ मा एक महत्वपूर्ण सांगठनिक सभा सम्पन्न भएको छ। समष्टि अध्यक्ष प्रसित राईको अध्यक्षतामा किरण राईको निवासमा आयोजित उक्त सभाको सञ्चालन हर्षित राईले गरेका थिए। सभामा पुरानो शाखा कमिटी विघटन गरी नयाँ शाखा कमिटी सर्वसम्मत रूपमा गठन गरिएको छ। नवगठित कमिटीमा किरण राई सभापति, विकास राई उपसभापति, हर्षित राई सचिव, कपिल राई सह–सचिव तथा विशाल प्रधान र विज्ञान राई खजाञ्जी पदमा चयन भएका छन्। त्यसैगरी, गोर्खाल्याण्ड आन्दोलनको उन्मुक्ति सङ्ग्राममा अग्रणी भूमिका निर्वाह गरेका हेमराज राई, मदन राई, डम्बर राई, बलिदास राई, डी.बी. राई तथा एम.के. राईलाई प्रमुख सल्लाहकारको जिम्मेवारी प्रदान गरिएको छ। नवगठित शाखा कमिटीमा गरी जम्मा २१ सदस्य रहेका छन्। नवनिर्वाचित सभापति किरण राईले संगठनलाई थप सशक्त बनाउन निरन्तर घरदैलो अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै निकट भविष्यमा गोर्खा राष्ट्रिय युवा संगठन र गोर्खा राष्ट्रिय नारी संगठन गठन गर्ने घोषणा गरे। कार्यक्रमलाई सम्बोधन गर्दै समष्टि अध्यक्ष प्रसित राईले गोर्खा समुदायको संवैधानिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यसहित संगठनलाई अझ सुदृढ बनाउन सबै कार्यकर्ताले अनुशासित, इमान्दार र एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिए। सभाको अन्त्यमा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै संगठन विस्तार तथा जनसम्पर्क अभियानलाई तीव्रता दिने निर्णयका साथ सभा सम्पन्न भएको थियो। उक्त जानकारी सहदेव रणपहेलीले प्रेस विज्ञप्तिमार्फत दिएका छन्।












