प्रकृति संरक्षण र सफा–हरियो कालेबुङ निर्माण गर्ने उद्देश्यका साथ आज जन गोर्खाद्वारा कालेबुङ टाउन हलमा एक उल्लेखनीय वातावरण संरक्षण कार्यक्रम आयोजन गरिएको थियो। कार्यक्रममा कालेबुङ जिल्ला अधिकारी श्री बालासुब्रमण्यम टी. (IAS), कालेबुङ विधायक रुदेन सादा लेप्चा, कालेबुङ नगरपालिकाका अध्यक्ष रवि प्रधान, वन विभागका D.F.O, जि.टि.ए सभा, ग्राम पञ्चायत, ब्लक १, २ र ३ समथीका अध्यक्षहरू, सेंट जोसेफ कन्भेन्ट स्कूलका प्रिन्सिपल, बिकिरण फाउन्डेशन कालेबुङका बिक्रम राई, साथै विभिन्न संघ–संस्था, विद्यालयका शिक्षक–विद्यार्थी तथा सम्माननीय व्यक्तिहरूको उपस्थितिले कार्यक्रमलाई विशेष बनाएको थियो। यस अवसरमा जन गोर्खाले जिल्ला अधिकारी श्री बालासुब्रमण्यम टी., सेंट जोसेफ कन्भेन्ट स्कूलका प्रिन्सिपल, नगरपालिका अध्यक्ष रवि प्रधान, बिकिरण फाउन्डेशनका बिक्रम राई तथा तीन ब्लक समथी अध्यक्षहरूलाई सम्मानित पनि गरियो। कार्यक्रममा उपस्थित वक्ताहरूले वातावरण संरक्षण, प्राकृतिक स्रोतसाधनको बचत तथा कालेबुङलाई सफा र हरियो बनाउन सबैको सक्रिय सहभागिताको आवश्यकतामा जोड दिए। साथै, भावी पुस्ताले वातावरण संरक्षण र दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा विशेष जोड दिइयो।
