खरसाङ, (निसं): खरसाङ्को गिद्ध पहाड़स्थित भ्यु पोइन्ट नजिक आज बिहान एउटा चितुवा मृत अवस्थामा फेला परेको छ। उक्त चितुवा मृत अवस्थामा देखिएपछि स्थानीयहरुले वन विभागलाई खबर गरेपछि उक्त मृत चितुवाको पोष्ट मोर्टम गरिएको र यसको रिपोर्ट केही दिनपछि आउने जानकारी प्राप्त भएको छ। उक्त चितुवाको पोष्ट मोर्टम खरसाङ महकुमा अस्पतालको सहयोगमा गरिएको बताइएको छ। यस विषयमा डीएफओ आईएफएस देवेश पाण्डेले उक्त मृत चितुवाको पोष्ट मोर्टम गरिएको र मृत्युको कारण भीरबाट खसेर हुनसक्ने अनुसन्धानबाट खुलेको बताएका छन्। उनले यस विषयमा आफुलाई खरसाङ रेञ्जको रेञ्जर अफिसरले जानकारी गराएको पनि बताएका छन्। यस विषयमा वन विभाग, खरसाङ रेञ्जको रेञ्जर अफिसर मनोजकुमार छेत्रीले बताए अनुसार गिद्ध पहाड़मा एउटा चितुवा मृत पाइएको विषयमा जानकारी प्राप्त भएको र जानकारी पाउनसाथ आधा घण्टाको समयमा नै उक्त मृत चितुवा उद्धार गरेर खरसाङ महकुमा अस्पतालको सहयोगमा पोष्ट मोर्टम गरेर आवश्यक प्रक्रिया शुरु गरिएको जानकारी गराएका छन्। उनले यो मृत फेला परेको चितुवा फिमेल चितुवा रहेको र लगभग एक वर्षको रहेको पनि जानकारी गराएका छन्। रेञ्जर अफिसर मनोजकुमार छेत्रीले उक्त चितुवा खानेकुराको खोजीमा जाँदा भीरबाट खसेर मरेको हुनसक्ने सम्भावना रहेको कारण उक्त क्षेत्रमा निक्कै ठूलो चट्टानहरु र भीर रहेको बताएका छन्। उनले यस क्षेत्रमा बिहान बेलुका मानिसहरु एक्लेै नहिँड्न र एकजना मात्र होइन तर समूहमा नै हिँड़डुल गर्नु पर्ने र यस क्षेत्रमा सुरक्षित रहनु पर्ने साथै चितवाबाट सचेत र सुरक्षित रहने आह्वान गरेका छन्।











