104 वर्षीय बौद्ध धर्म गुरु स्याङ्देन म्हेमे (चन्द्रवीर लामा) को सोमबार अन्तिम संस्कार सम्पन्न गरियो। खरसाङ महकुमा अन्तर्गत महानदी ग्राम पञ्चायतको सिविटार बाघमारा बस्ती निवासी एवं झ्याङ्तेर सामतेलिन छ्योलिङ गुम्बाका मुख्य धर्म गुरु स्याङ्देन म्हेमेको गत बिहीवार राति 104 वर्षको उमेरमा निधन भएको थियो। लगभग पाँच दिनपछि उनको अन्तिम संस्कार गाउँमा नै सम्पन्न गरियो। उनको अन्तिम संस्कारको क्रममा बिहान 7 बजीको समयमा बाघमारा बस्तीस्थित निजी वासस्थानबाट पार्थिव शरीरलाई आँगनमा निकालेर बौद्ध धर्मको रीति अनुसार पूजा अर्चना गरेर आफन्तजन र अन्यको अन्तिम दर्शनको लागि राखिएको थियो भने यसावधि परिवारको सदस्यहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए। यस कर्ममा स्याङ्देन म्हेमेकी वृद्धा पत्नी मामाले पनि अन्तिम दर्शन एवं श्रद्धञ्जली अर्पण गरेकी थिइन्। त्यसरी नै उनका चारजना छोराहरु, बुहारीहरु, छोरीहरु, नाता नातिनीहरु आदिले पनि श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यसपछि बौद्ध परम्परा अनुसार उनको पार्थिव शरीरलाई घरबाट निकालेर बाघामारा बस्तीस्थित झ्याङ्तेर सामतेलिन छ्योलिङ गुम्बाको परिदर्शन गरिएको थियो भने अन्तिम दर्शनको लागि गुम्बामा राखिएको थियो। केही घण्टा गुम्बामा राखेर पूजा अर्चना गरेपछि गुम्बाबाट पार्थिव शरीरलाई निकालेर घरकै नजिकमा लगेर बौद्ध धर्म परम्परा अनुसार चारैतिरबाट लामा गुरुहरुद्वारा पूजा अर्चना गरेर अन्तिम संस्कार सम्पन्न गरियो। स्याङ्देन म्हेमेको अन्तिम संस्कारको समय तीनधारे, महानदी, घैयाबारी, खरसाङ, सालबारी, सिलगढी, सोनादा, दार्जिलिङ, कालेबुङ, मङ्पु, सिटोङ, सिक्किम, नेपाल लगायतका क्षेत्रहरुबाट उनका शिष्यहरु, धर्म गुरुहरु, शुभचिन्तकहरु र आफन्तहरु उपस्थित रहेका थिए। लामा म्हेमे चन्द्रवीर लामाको अन्तिम संस्कारमा उपस्थित पद्ममा छ्योलिङ गुम्बा तीनधारेका सचिव महेन्द्र तामाङ, महागुरु थुडुप गुम्बा समिति सिमरिङका महासचिव दावा छिरिङ लामा, निमा होईसेर छ्योलिङ गुम्बा मालुटार पाख्रेखोलाका लामा पूर्ण लामा, मारेबुङबाट आएका प्रताप तामाङ बल, खरसाङ चिमनीका लामा धोर्जे आदिले श्रद्धाञ्जलीसहित स्याङ्देन म्हेमेको विषयमा जानकारी गराएका छन्।
