brainstorming on the collection of stories 'Feelings of Life'

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

Share this news

जीवनका अनुभूतिहरू

  डा. सुकराज दियाली,
                                सिलगढी।

सन् १९८९ तिर दार्जीलिङमा भेटघाट भएको। त्यतिबेला रूबेन गुरूङलाई व्यक्तिको केवल हिसाबमा चिनें। ‘दाज्यू’ भनेर सम्बोधन गर्थें। तर पछि आफू कलेज पढ्न दार्जीलिङमा बस्दा एक दिन पनि भेटिनँ उनलाई। २००५ मा राजधानी दिल्लीको फिक्की अडिटोरियममा आयोजित एउटा ठूलो समारोहमा मेरो ‘चित्रण’ कविता सङ्ग्रहको विमोचन हुने भयो। त्यस विमोचन समारोहमा उनलाई भेटें। एकक्षण त अचम्मै लाग्यो। नेपाल वान टेलिभिजनको सीनियर प्रोडक्शन अफिसर हुनुहुँदोरहेछ। मेरो पुस्तक विमोचन गरेको खिचेर टेलिभिजनबाट प्रसारण गरिदिनुभयो। हाम्रो भलाकुसारी भएपछि हामी छुट्टियौं त्यहाँबाट। दोस्रो रूपमा यसरी रूबेन गुरूङलाई मिडियाकर्मी भनेर चिनें। तर त्यो भेटघाटपछि, त्यहाँदेखि उता दाज्यूसित भेट भएन धेरै लामो समयसम्म।  सन् २०१३ को जुलाई महीनामा हामी मिजोराम जाने भयौं। दाज्यूलाई पनि दिल्लीबाट मिजोराम लाने हाम्रो प्रस्तावलाई डा. किङ्ग गुनु घर्तीले स्वीकार गरे। हामी २७ जना मिडियाकर्मीको हिसाबमा मिजोराम पुग्छौँ। हाम्रो सम्बन्ध त्यहाँदेखि अझै कसिलो भएर गयो। त्यसपछि 2014 मा अचानक माथिल्लो महानन्दा पूल मुन्तिर, सिलगढ़ीमा भएको  मेरो घरमा आइपुग्नुभो, धेरै लामो बातचित भयो। दाज्यूले सिलगढ़ीमा बिताएका कुराहरू गर्नुभयो। त्यतिबेला सिलगढ़ीमा नाटक खेल्नु, नाटक लेख्नु, कविता/कथा सिर्जनाको संसारका कुराहरू बताउनुभयो। 1986 मा कटुवाल नाट्य निकेतन अहिले हरिभक्त कटुवाल राष्ट्रिय प्रतिष्ठान स्थापना गरेको कुराहरू थाहा लाग्यो।
सिलगढ़ीको उठ्बसमा ८० को दशकमा भारतको पहिलो नेपाली दैनिक हिमालचुली 1983 मा प्रिन्टिङ प्रेसमा काम गर्नुभाको रहेछ। त्यतिबेला भारतबाट निस्किएको पहिलो देवराज भट्टाराईको गोजीका मुक्तक प्रकाशित गर्न उनले पनि आफ्नो केही भूमिका निभाएको कुरा थाहा लाग्यो। साहित्यप्रतिको चासो र साहित्यिक सङ्घ-संस्थासित जोड़िएर काम गर्ने उच्च विचार थिएछ भन्ने कुरो हामीलाई थाहा लाग्छ- ‘हरिभक्त कटुवाल प्रतिष्ठान’ को संस्थापक अध्यक्षले प्रमाण दिन्छ। उसरी नै त्यतिबेला बी. बी. विश्वकर्मसित सम्बन्धित रही बाटुली प्रकाशन एवं ‘प्रतिभा परिचय’ पत्रिकामा प्रत्यक्ष-अप्रत्यक्ष योगदान पुऱ्याएको साथै नाटक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेको कुराहरूबाट तेस्रो चोटि रूबेन गुरूङ साहित्यकार, अभिनेता भनी चिनें।
तेस्रो चोटिको परिचयमा साहित्यकार भनेर चिनेपछि उनी कुन विधामा साहित्यिक सिर्जनामा लागिपरेका रहेछन् भनी खोज्दै जान्छु। रूबेन गुरूङ कविताभन्दा कथाहरू राम्रा राम्रा सिर्जना गर्दा रहेछन्। यता हुँदा कथाहरू लेखेका रहेछन्।
रचनाहरू सिलगढी/दिल्लीमा एकदमै कम मात्रामा प्रकाशन गर्न रूचाउने। बेला-बेलामा मौका पाउँदा मात्रै कविता/कथा/निबन्ध प्रकाशन गर्ने स्थानीय पत्र-पत्रिकामा, नत्र भने लेख्दै थन्काइराख्ने प्रवृत्ति। कतै मैले लेखेको कथा, कथा हुँदैन कि ? भन्ने आशङ्का मनमा पाल्ने प्रवृत्तिका। कथाकारको व्यथा नै एउटा कथा हो भन्ने कुरो थाहा लाग्छ-रूबेन गुरूङसितको घनिष्ठताले उनी स्वयं एउटा मार्मिक कथा हुन्। उनको जीवन कथै कथाले निर्माण भएको छ। जिन्दगीमा झेलिनुपर्ने, रेटिनुपर्ने धारहरू र पिसिनुपर्ने चक्काहरू पिस्सिँदै आएका रहेछन्। भताभुङ्ग भएको च्यातिएको जिन्दगीको पन्ना बटुलेर एउटा बल्ला (बलियो) किताब बनिएको छ रूबेन गुरुङको। तरै पनि कतिवटा पन्नामा जिन्दगीका अक्षरहरू नबुझ्ने छन्। समयको चश्मा लगाएर हेर्दा पनि नहुने पातुलो अक्षरमा रूबेन कहिले हाँस्दै जीवन बाँचेपनि मनको पीड़ामा जल्दै गरेका हुन्छन्। बिहोशिएर बाँचे तापनि रूबेन गुरूङका कथाहरू मालतीको प्रतिशोध जस्तै दबिएको, भासिएको प्रतिशोधभित्रको प्रतिशोध कथाहरू एक-एक लेख्दै गए। कोही साथीहरू नाटककार भए, कोही कवि, कोही गायक-सङ्गीतकार, कोही अफिसर, कोही प्रतिष्ठित समाजसेवक, कोही राजीतिमा लागी सत्ताको मोहमा परे। रूबेन गुरूङ दिल्लीको चर्को घाम, कहिले हिउँदो ठिहीमा जीवन खोज्दै बाँचे। थुप्रै हराए कम्ती पाए। जति पाए त्यतिमा नै जीवनभरि स्वीकार गरे।
आफ्ना समकालीन साथीहरू विकास कार्की (सलुवा), अशोक प्रशान्त (सिलगढ़ी), गौतम तामाङ, खरसाङ,  डा. सञ्जय बान्तवा (उविवि), डा. कृष्णराज घतानी, उत्तर ब‌ङ्गाल विश्वविद्यालय; बी.बी. चामलिङ, सिक्किम, नर्थ तकभर, सिङला,  मणिकुमार राई, लिजाहिल चियाबारी, विजय राई आदिहरूको समकालीनतामा कलम चलाइरहे। दार्जीलिङबाट सिलगढ़ी बसाइँ सरेपछि सिलगढ़ीमा साहित्यिक माहौल भेटेपनि दैनिक समाचार कार्यालयमा व्यस्त जीवन बिताउनुपर्यो। उसरी नै दैनिक समाचार पत्रबाट प्रिन्टिङ प्रेसको कार्यमा संलग्न भएपछि त्यतै व्यस्त। केही वर्ष सिलगढ़ी शहरमा बिताएपछि लाग्छन् राजधानी दिल्लीतिर रोजगारको जीवन खोज्दै। उनले जीवनका धेरै समय र ऊर्जाशील उमेर दिल्ली महानगरीमा बिताए। मिडियाकर्मी, वर्ष 2000 मा आरनोवा सामाजिक संस्था खोलेर समाजसेवा, यताबाट गएका अलपत्र भएकाहरूलाई सहयोगको हात बाँट्दा, पारिवारिक झमेलासङ्ग जुझ्दा आधाउधी जीवन बिताए। दिल्लीमा हुँदा थुप्रै कथाहरू सिर्जना गरेका थिए, कति कथाहरू तौलाइमा बेचिए, कति आगोले खाए, कति कथाहरू परिवार अनि आफैसङ्ग मन दुःखेपछि च्यातिएर फ्याँकिए, केही कथाहरू आकाशवाणी दिल्लीबाट प्रसारण भए। ती कथाहरू नै बटुलबाटुल गरेर एउटा सिङ्गोरकथा स‌ङ्ग्रह भयो। अब रूबेन गुरुङको।
मिडियाकर्मी, नाटककार, सम्पादक, समाजसेवी, परिवारको निम्ति पैसा कमाउने मशीनदेखि उठेर नेपाली साहित्य जगतमा कथाकार भनी चिनिएलान्।
रूबेन गुरूङले किन कथा लेखे ? जसले जस्तो भोग्छ जिन्दगी, उसले उस्तै देख्छ जिन्दगी। भोगाइमा परेका अनुभूतिहरू कतिले शब्दमा उर्ताछन्। कतिले मनमानै चेप्टाएर राख्छन्। प्रतिभाशाली व्यक्तिले ती अनुभूतिलाई चित्रमा प्रकट गर्छन्, कसैले कवितामा, कसैले कथामा, कसैले उपन्यासमा। रूबेन गुरूङले आफ्नो जीवनका केही अनुभूति कथामा पात्र-पात्राद्वारा चित्रण गरेका छन्। उनीभित्र साहित्यिक व्यक्तित्वको उर्वरताले कथातिर धकेलेका छन्। आफ्नो जीवनका केही तीता-मीठा अनुभूतिहरूलाई कथामा बाँधेर पाठकलाई पस्किनु सफल बनेका छन्। अघि नै भनिहालें रूबेन गुरूङको जीवन नै मार्मिक कथाहरू बनेका छन्। हरेक दिन एउटा कथासितै जीवन दिनचर्या बितेको छ। मानौं कथा-कथाको एउटा कालो कथा हो-कथाकार रूबेन गुरूङ। भनिन्छ- साहित्यिक व्यक्तित्वहरू कवितामा भन्न नसकेका कुराहरू कथामा भन्छन्।
यसैले कथाकारले कथामा आफ्ना अनुभूतिहरू सन्तुष्टि प्रकारले राख्नसक्ने आभासले कथा लेखे-रूबेन गुरूङले। कथा लेखिसकेपछि मन हलुङ्ग भएर ठूलो श्वास फेरेका छन् रूबेन गुरूङले। यस अर्थमा पनि कथा लेखे भनी अन्दाज काट्न सकिन्छ।
जीवनका अनुभूतिहरूः ‘जीवनका अनुभूतिहरू’ भित्र १० वटा कथा समावेश गरेका छन्। कथामा केही कथाको पृष्ठभूमि गाउँ-घरकै भए तापनि कथाको परिवेश र वातावरण दिल्ली महानगरीकै पृष्ठभूमिमा रहेको पाइन्छ। कथाकार चियाकमानको गाउँमा पनि बाँचेको बाल्यकाल र युवा अवस्थाको जीवन धान्न ठूलो-ठूलो शहर अनि महानगरीमा पनि जीवनका केही अमूल्य क्षणहरू बिताएका छन्। त्यसैले गर्दा उनले शहर गाउँ-बस्तीको जीवनशैलीलाई छामेर कथामा कथावस्तु बुन्ने गरेका छन्।
रूबेन गुरूङको कथामा प्रणयवाद भए तापनि जीवनदर्शनका कुराहरू कथाले अघि सार्न सफल भएको देखिन्छ। मान्छेलाई जीवन धान्न पर्दा देखापरेको उतार-चढ़ाउ तथा प्रतिरोध, कुण्ठा, विरक्तपना, धोकाबाजी, विश्वासघात, प्रेमआघात, अहम्, ईर्ष्या, डाह, द्वन्द्व जस्तो जीवनका नेगेटिभ पक्षहरू सहन गर्नुपरेको कुरालाई कथा पात्र-पात्राले भोगेका छन्। त्यतिमात्र नभएर कथामा जुन प्रकारको नायक-नायिकाले समस्याको सामना तथा भोगेका छन् त्यो अति नै मार्मिक रहेको कथाको गतिशीलताबाट थाहा लाग्छ।
जीवनको अप्ठयारो स्थिति र अवस्थामा सुगम बनाई जीवन धान्नु कति गाह्रो छ भन्ने विषयमा कथाको पात्र-पात्राको जीवनचरित्रबाट थाहा लाग्छ। कथा मीठो पढिरहुँ जस्तो, पढ्दा समय बितेको पत्तै नपाउने अत्यन्तै मार्मिक घटना र उपघटनाले घटेको कथाहरू, केही कथाहरू सत्य घटनामा आधारित छन् जस्तो लाग्न स्वाभाविक हो। ‘जीवनका अनुभूतिहरू’ कथा सङ्ग्रहका कथाहरू सफलता, रजनी, प्रमिलाको रित्तो संसार, उन्मुक्ति, जानुका, विशालको माया, उसको फोन आएन, लालिमा, कनिका र शङ्काले जलेकी मालती हुन्। ‘जीवनका अनुभूतिहरू’ कथा सङ्ग्रहभित्रको पहिलो कथा मालतीको प्रतिशोध राखेका छन्। यस कथामा ठूलो-ठूलो शहर-बजारमा नारीहरूप्रति तथा पुरुषहरूको दृष्टिकोण प्रस्तुत गरिएको छ। नारीहरूमाझ भएको घटनालाई प्रस्तुत गरेका छन्। गाउँ-बस्ती, अभेक ठाउँबाट पढ़िलेखेकी छोरी-चेली ठूलो-ठूलो अफिसमा काम गर्दा उनीहरूप्रति मालिक, प्रवन्धक टोलीको व्यवहार तथा उनीहरूमाझ भएको घटनाले हाम्रो छोरी-चेली, दिल्ली, मुम्बई जस्ता शहरमा के गरेर जीवन बिताउँछन् भनी कथाकारले कथामा प्रस्तुत गरेका छन्। “कुनै कुनै समुदाय पुरुषप्रधान नभई स्त्रीप्रधान पनि छन्। यस्तो हुँदाहुँदै पनि कुनै न कुनै तरीकाले उनीहरू पुरुष जातिबाट पीड़ित भएकै छन्। आधुनिककालमा स्त्री जाति शिक्षित अनि सचेत हुँदाहुँदै पनि उनीहरूको अझ बढ़ी दुरुपयोग भइरहेको छ।” हेमविक्रम अमात्यले जुन कम्पनीको म्यानेजर पदमा जागीर गरिहेको छ, त्यहाँ पनि स्त्री जातिको दुरुपयोग भइरहेकै छ।” यसरी शिक्षित अनि सचेत नारी हुँदाहुँदै पनि उनीहरू सामाजिक कुदिशातिर गतिशील रहनुपरेको स्थितिलाई ‘मालतीको प्रतिशोध’ कथामा कथाकार गुरूङले प्रस्तुत गरेका छन्। लालिमा कथाको प्रमुख पात्रा लालिमा छिन्। लालिमाले देखाएको आदर्श व्यवहार-आचरणपछि गएर घमण्ड/अहंमवादमा परिणत हुन्छ। त्यही आदर्शवादले लालिमाको जीवन पश्चातापको ज्वालामा जल्नथाल्छ। यता आकाश पुरुषपात्रमा पनि उस्तै आदर्शता र सेवाको भावना तर उनले लालिमा जस्ती नारीलाई आफ्नो जीवनमा पाउन नसक्दा कम्पनीको उच्चपद त्यागेर शहर छोडी निखोज हुन्छ। पात्र-पात्रामाझको प्रणय-बन्धन सुगठित हुन नसक्दा तथा एकार्कामा बुझाबुझ नहुँदा उत्पन्न घटना विछोडले दुवैको जीवनमा जाती नहुने घाउ बनेको यो प्रणय-विच्छिन्नताको घटनाले वियोगको मार्मिकतालाई रोचक ढङ्गमा प्रस्तुत गरेका छन् कथाकार रूबेन गुरूङले।
उसको फोन आएन कथामा नेपालको पाल्चोक बस्ने डोल्मा विदेश गएर पैसा कमाउने लोभमा फसेको आजभोलि हाम्रो समाजले भोगिरहेको विषयलाई टिपेका छन्। एक्काइस वर्षीय डोल्मा खाडी देश ओमन तीन वर्ष काम गरी फर्किएकी थिइन्। तर विदेश जान कम्मार कसेकी डोल्मा, नेपालमा आफ्नो घर, आमा-आपा, दिदी र भाइलाई घरको खेतबारी बेचेर पैसा विदेश हानिएकी डोल्मा अहिले दिल्लीमा म्यानपावर एजेन्सीमा फसेकी छिन्। नेपालबाट छोरी-चेलीलाई खाडी देश जान सरकारले रोक लगाएको छ। तर म्यानपावर एजेन्सीहरूले उनीहरूलाई भारतबाट उडाउँछन्। डोल्मा पनि पैसा कमाउन दिल्लीबाट उड्ने सपना लिएर आएकी थिइन् तर उनी म्यानपावर एजेन्सीबाट ठगिएपछि घर फर्किन शरम पचाएर विभिन्न पीड़ा झेल्दै बसिरहेकी छन्। दिल्लीमा रहेका दाज्यू-भाइ, दिदी-बहिनी नेपालीभाषीहरूसित सहयोग माग्दा ‘म्यानपावर एजेन्सी’ -लाई किसिम गर्दा पनि पैसा फर्काउन नसक्दा अन्तमा पुलिस केस हुन्छ। पुलिसमार्फत काम गर्दा ६० हजारजति पैसा फर्काइदिन्छ अन्य रकम लिएर म्यानपावर एजेन्सीले नै त्यहाँबाट सुइँकुच्चा ठोक्छ। दिल्लीमा डोल्मालाई समानराजले सहयोग गर्छ। उसले डोल्मालाई “तेस्रो मुलुक जाने चक्कर पनि मस्तिष्कबाट हटाऊ, बरू तिम्रो काम गर्ने आत्मविश्वास छ भने यहीं बसेर काम गर पैसा कमाइहाल्छौ” भन्ने जस्तो सर-सल्लाह दिन्छ। तर डोल्माले यहाँको पैसा थोरै हुन्छ भन्दै धेरै कमाउने मनसुबा पोख्छिन्।
अन्तमा डोल्मा मुम्बई हुँदै हङ्कङ् जाने क्रममा मुम्बईमा नराम्रो ढङ्गमा नराम्रो जग्गामा बेचिन्छे। समानराजले एउटा अंग्रेजी दैनिकमा फोटोसहितको समाचार पढ़छ। “बेचिएका तीन युवतीहरूलाई माइती नेपाल र मुम्बई पुलिसले उद्धार गर्यो”-फोटोमा छापिएका तीन युवतीमध्ये बीचमा डोल्मा थिई। यस्ता थुप्रै डोल्माहरू दिनहुँ नर्कमा धकेलिंदैछन् भन्दै यो कथामा आजको युवा-युवतीलाई उपयोगी रहने अप्रत्यक्षरूपमा / प्रत्यक्षरूपमा सचेत गराएका छन्-कथाकारले। हाम्रो समाजमा हाम्रो छोरी-चेली अन्जान मान्छेको भनाइमा पोलिसीमा परेर लोभ-लालचमा फसेर दिनरात यस्ता घटनाहरू हामी खबरकागजमा पढ़िरहन्छौं।
‘अज्ञात भविष्य प्रमिलाको थाप्लोमा’ कथाभित्र दिल्ली शहरको भीड़मा गाड़ी दुर्घटनाले जन्माएको प्रमिलाको रित्तो संसार, मार्मिक घटना, जसले बालिका प्रमिलाको नयाँ जग्गा, अन्यभाषीको माझ बालिका प्रमिला ठूलो समस्यामा फसिन्छे।  नेपालबाट दिल्ली शहरमा काम गर्न आएकी प्रमिलाको बाबाले आफ्नो परिवारलाई घरि दिल्ली, घरि नेपाल लाने / ल्याउने क्रम गर्थे। प्रमिलाका बाबा-आमा थिए। त्यही भएर बेरोजगारीले पिसिएका उनका बाबाले दिल्ली शहरमा जीवन धान्ने केही थोक गर्दै थिए। यस्तै जानेआउने क्रममा एक दिन दिल्लीमा सपरिवार नै गाड़ी दुर्घटनामा पर्छन्। प्रमिलाको बाबाको घटनास्थलमा मृत्यु हुन्छ। अन्य गाड़ीमा सवार गरिरहेको यात्री जति घटनास्थलमा मृत्यु हुन्छ। प्रमिलाकी आमा सिकिस्त अवस्थामा (कोमामा परेको अवस्था) दिल्लीकै कुनै अस्पतालमा भर्ना गराइएकी छन्, छेउमा प्रमिला नानी खेलिरहेकी। उसलाई थाहा छैन आमा मृत्युसित लडिरहेकी, बाबाको मृत्यु भइसकेको कुरा। उनी बालिका, कहाँबाट कसरी, कहाँ जाने, कुनै कुराको थाहा नभएको बालिका प्रमिलाको भविष्य/वर्तमान रित्तो र अन्योलमा रहेको। जीवनको के भरोसा, मान्छेको जीवनमा आइपुगेको आपत्-विपत् सङ्‌कटलाई टार्न सकिँदैन। यस्तो मार्मिक स्थितिलाई कथाकार गुरूङले कथामा प्रस्तुत गरेका छन्।
जानुकाः जानुका कथाकी नायिका मंगल भन्ने पुरुषले झुक्काएर विवाह गरी दुइ छोरीकी आमा बनिसक्दा मंगलको जेठी श्रीमती पनि रै’छिन् भनी थाहा लाग्छ। मंगलले जानुकालाई कहिले पनि भनेन पहिला विवाह गरेको भनी, अन्जानमा मंगल जस्तो धोकेबाजको यौवन शोषण हुनपुग्छिन् जानुका। अन्तमा मंगलबाट ठूलो धोका पाएपछि जानुका आफ्नो माइतघर वृद्ध बाबा र वृद्धा आमाको शरणमा बसी दुइ छोरीलाई हुर्काई-बढ़ाई गर्ने निर्णय लिएर कालेबुङतिर लाग्छिन्। जीवनको अमिलो क्षणमा पश्चातापको आँसु पिउँदै जानुका आफूले गरेको भूललाई स्वीकार गर्दै आँसुको धारा पिउँदै मंगलजस्तो पुरुषको जालबाट मुक्ति हुन्छ।
‘समय चुपचाप बोल्छ’ कथामा दिल्ली महानगरको पृष्ठभूमिमा रहेको शहरिया जीवनशैलीमा घटित घटना, जुन घटनामा विशाल, सुम्निमा र सन्तोकीमाझ भएको त्रिकोणी प्रेमले घटाएको विशालले अन्तमा जीवनको कर्तव्यपालनको यो प्रणयवादी कथाले पाठकलाई एउटा सन्देश दिन चाहेको छ। हाम्रो समाजमा रहेको इमानदारी एवं अरूप्रतिको तथा जसले गाँसबास दिए उनीहरूप्रति आफ्नो विश्वास र इमानदारी कहिले पनि डगमगाउन दिनेछैन-विशालले जस्तै।
उन्मुक्तिः  यो कथामा नारी-बेचविखनको घटनाक्रममा अति नै सुन्दर प्रकारले घटनालाई बुनेका छन्। उन्मुक्ति नायिकाले आफ्नै नाम अनुरूप उन्मुक्ति पाएको। घटना गाउँको सिधा-सोझा, सुन्दर परिवारको बाबुकाजी र उन्मुक्तिको सरल-सुन्दर वैवाहिक
जीवनलाई गाउँकै ऐतीमाया दिदीले भत्काउन चाहेको, उनी चेलीबेटी बेचविखनसित सम्बन्धित एजेन्ट रहेकी। बाबुकाजी र उन्मुक्तिको खुशियाली, हरियाली जीवनमा एउटै कुराको कमी थियो। तिनीहरू विवाह गरेको लामो समयसम्म नानी नहुँदा, असन्तुष्टि खालि थियो। उन्मुक्तिको यही कमी-कमजोरीलाई लिएर ऐतीमायाले लोभ देखाउँदै नयाँ लोग्नेसित दिल्ली महानगरीमा महलमा रानीझैँ बस्नपाउने, सुख-समृद्धिको जीवन साथै आमा हुने सौभाग्य आदि लोभ-लालच देखाएर आफ्नो चालमा फसाएकी थिइन्। पहाड़देखि भागेर जब दिल्ली शहरको एउटा बन्द कोठामा उन्मुक्ति बन्दी हुन्छिन् त्यतिबेला थाहा लाग्छ उन्मुक्ति बेचिँदैछिन् भनेर।
कथांशलाई हैरौंः
उन्मुक्ति आफ्नो काममा व्यस्त थिई। केही क्षणमा लोग्ने उठे कि उठेनन् भनेर उ सुत्ने कोठातिर बढ़ी, ढोकामा पुगेकी मात्र थिई, उसको लोग्नेले फोनमा यसो भन्दै गरेको सुनी- “मैले स्वास्नी बनाई लिएर आएको, यति राम्रो माल छ बोस, पाँच लाखभन्दा कम त हुँदैन। त्योभन्दा कम दाम लिएर हेर्न नआए पनि हुन्छ।” अब उन्मुक्ति थर….र…र…र काँप्नथाली “यो नयाँ लोग्ने आइमाई बेच्ने दलाल रहेछ, ऐतीमायाले उसैको लागि काम गर्दिरहेछ।” यस्ता घटना कुनै नयाँ होइन। हाम्रो समाजले भोगिरहेको यथार्थ घटनालाई कथाकारले प्रस्तुत गरेका छन्।
रजनीः   यो कथा जस्तो नभएर संस्मरणको सुगन्ध पाइन्छ यसमा, रजनी पञ्जाबीकी छोरी, एउटा नेपाली अधिकारी जो ख्रीष्ट धर्मावलम्बी। दार्जीलिङबाट दिल्लीमा पैसा कमाउने इच्छाले आएका अधिकारी हिमाचलको रजनीसित विवाह गरी दिल्लीमा जीवन धान्दै गर्दा अचानक एक दिन अधिकारी आफ्नी स्वास्नीलाई छोडेर निखोज हुन्छ। रजनीले विभिन्न समस्याहरू भोग्दै जीवनलाई अघाड़ि बढ़ाएकी छन्। अधिकारी कुनै कारणबिना आफ्नी स्वास्नीलाई छाडेर हराउनु, आफ्नो श्रीमान निखोज भएको खबर रजनीले आफ्नो आमा-बाबालाई नभन्नु कथामा कथावस्तुको धाराको श्रृंखला छुटिँदा कथापाठकमा अलिक विभ्रान्त सिर्जना हुन्छ।
सफलताः  यो कथामा सफलताबाट सन्तान नहुँदा जबरजस्ती सफलताले मोहनकाजीलाई विवाह गर्न लगाउँछिन्। आत्महत्या गर्ने धम्की दिँदा मोहनकाजीलाई विवाह गर्न कर लाग्छ। स्वरूपासित विवाह भएपछि ‘मोहनकाजी’ को छोरोको जन्म हुन्छ, जसले सफलतालाई अघोर माया गर्छ, आफ्नो जन्म दिने आमाभन्दा पनि बेसी सफलतालाई माया गर्छ। अन्तमा स्वरूपाको देहान्त हुन्छ।  फेरि अर्की विवाह गर्ने प्रस्ताव। झण्डै ‘नासो’ कथासित मेल खाने तथा ‘नासो’ कथाको कथावस्तु र सफलताको कथावस्तु एउटै हुनगएको छ। ‘नासो’ कथाको प्रभाव कथाकार गुरूङमा रहेको कुरालाई नकार्न सकिंदैन।
‘जीवनका अनुभूतिहरू – भित्रका प्रतिध्वनिहरू। कथाकार रूबेन गुरुडका कथाहरूमा कथाकारकै जीवन भोगाइदेखि टाड़ा भाग्न नसकेको तथा कथाकारको जीवनशैलीमा परेका स-साना कथाहरू जसले कथाकार बाँचेको परिवेश वातावरण र जीवनशालीलाई कथामा बोल्न लगाएका छन्। कथाहरू नारी जातिको जीवनमा आइपरेका विभिन्न स्थिति, सामाजिक धरातलमा नारी जातिको व्यवहार, इच्छा, आकाङ्क्षालाई कथामा दर्शाएका छन्। सबै कथाहरू ‘समय चुपचाप बोल्छ’ बाहेक नारी पात्राकै नाममा शीर्षक छनौट गरेका छन्। पञ्जाबी, हिन्दीभाषी नारीदेखि लिएर पहाड़को अभेक क्षेत्रमा खेतीपाती गरी एकसुरमा जीवन बिताउने नारी जसले कहिले पनि दिल्ली, मुम्बई देखेका थिएनन् त्यस्ता पात्रालाई कथाकारले दिल्लीको चेपकुना घुमाएका छन्। उनीहरू शिक्षित नारीलाई कथाकारले कथामा प्रस्तुत गरेका छन्। अक्षर चिन्ने, कुरा बुझ्ने, चनाखो तर लोभ लालचमा फसिने खालको नारी प्रवृत्तिलाई कथाकारले कथामा प्रस्तुत गरेका छन्। सफलता, डोल्मा, स्वरूपा, मालती, रजनी, मित्रता, सुम्निमा, जानुका आदि नारी पात्राहरूले आजको युगलाई सुहाउने तथा आजको आधुनिक परिवेशमा नारीहरूले शहरीय जीवनप्रति भोगविलास पैसा कमाउने आकांक्षा शहरमा स्वतन्त्रता जीवन भोग्न अन्यजाति, भाषीप्रतिको झुकाउ, ठूला ठूला शहरमा रोजगारिता हासिल गर्न गरेको संघर्ष, प्रेममा असफलता, कार्यमा असफलता, आफ्नो खुशी र आमोद-प्रमोदमा लठ्ठ परेका नारी पात्रालाई कथाहरूमा उभ्याएका छन्। ती नारीपात्राहरूकै व्यवहार र चरित्रबाट कथाकारले कथालाई अघि बढ़ाएका छन्। कथामा प्रायः नारीपात्रा आफ्नो वैवाहिक जीवनमा असफल भएकी छन्।
विवाहपछि, जयजन्म नभएको सन्तानको चाहनामा परिवार तड्पिएको। सन्तानको जन्म नभएपछि पति-पत्नीमा आएको द्वन्द्व, परिवारमा आएको द्वन्द्वले समाजमा छाएको विसङ्गतिलाई कथाकारले समाजको नकारात्मक पक्षलाई कथापाठकले पढेर समाजमा यसप्रकार घटना नदोरियोस् भनी सकारात्मक सोच सिर्जना गर्न खोजेका छन्। कथामा गाउँ-बस्ती-कमानका छोरीचेली कस्ता सपना सजाएर, शहर पसेका हुन्छन् उनीहरूले जीवनमा के-के गुमाउनु पर्दोरहेछ। जीवन संघर्ष कति कठिन र गाह्रो छ शहरिया जीवन शैलीको निर्दयी, निष्ठुरी वातावरणले मान्छेलाई कस्ता बनाउँछन् भनी पात्रहरूको चरित्र-चित्रणको भाषाबाट भन्न खोजेका छन्। गाउँ-बस्तीको चोखो रमणीय वातावरण र पवित्र र आदर्श जीवनशैलीको महत्व शहरिया जीवनशैलीको यापनबाटै बुझाउने कथाकारको प्रयास छ।
कथामा पुरुषपात्र, विशाल, काजीबाबु, मंगल, मैतबीरले आफ्नो पुरुषार्थ झल्काउन खोजे पनि उनीहरू नारीको कमजोरी पक्षलाई लिएर फाइदा उठाउने, शहरको तानातान, खिचातानी कोलाहल वातावरणमा जीवन बाँच्नुको अनुकूलतामा कसैले नारीबाट असन्तुष्टि, कसैले नारीबाट धोका, कसैले नारीलाई बजारको गुड़ियाझैं बिक्री गर्न खोजेका छन्। विभिन्न ठाउँबाट ठूलो सपना र आकांक्षा बोकी दिल्ली हानिएका ती पुरुषहरू आफ्नो परिवारदेखि टाड़ा रहेर जीवन बाँच्नु गाह्रो र साहो स्थितिबाट आफूलाई मुक्ति राख्नु चलखेल जालमा फसाइँने, निखोज हुनुपर्ने वाध्यता आदि प्रवृत्तिको पुरुष जीवनलाई कथामा उभ्याएका छन्। कथाले समाजमा परिमयकरण ल्याउन खोजेका तथा हाम्रो समाजमा भइरहेका घटना र उपघटनालाई टिपेर कथाकारले आफ्ना कथाहरू प्रस्तुत गरेका छन्। शिक्षित पुरुषपात्र प्राइवेट नोकरीमा तथा विभिन्न धन्धामा लागि पैसाकै पछि दगुरेर छिटो-छिटो धनी हुने प्रलोभनमा जीवन डुबाउँदा भोग्नुपरेको शहरिया समस्यालाई जीवित रूपमा प्रस्तुत गरेका छन्। सबै पात्र-पात्रालाई हाम्रो गाउँमा बेरोजगार तथा छिप्पिएको बेकारीपनलाई थन्को लगाउन, सुगम तरिकामा जीवन सजाउन महानगरमुखी भएका छन्। अल्पशिक्षित, गाउँमा, बस्तीमा, कमानमा पाखुरी बजाउन नसक्दा, आलस्यमय, सजिलो इज्जतदारी कामको खोजमा पलायन भएका पात्र पात्राहरूको भोगाइलाई कथामा यथार्थ रूपमा प्रस्तुत गरेका छन्। वर्तमान समयमा भइरहेका घटनाहरू ‘जीवनका अनुभूतिहरू’ – भित्रका कथाहरू।
स्थान/समयः जम्मै कथाहरू दिल्लीका विभिन्न ठाउँहरूका घटना हुनपुगेको, दिल्ली शहरको व्यस्त वातावरणलाई कथाकारले कथाको घटनास्थल बनाएका छन्। कथाकार स्वयं पनि दिल्लीमा जीवन धान्न पुगेका हुनाले कथाकारले भोगेका, देखेका, जानेका विषय वस्तुलाई कथामा प्रस्तुत गरेका छन्।
भाषाशैलीः ‘जीवनका अनुभूतिहरू’ कथा सङ्ग्रहका कथाहरूमा सरल र सरस भाषाशैली पाइन्छ। साधारण हिसाबमा मध्यवर्गीय परिवारमा बोलीचालीको भाषा, नेपालको पहाड़तिर बोलिने भाषा, दिल्ली तथा दार्जीलिङको जनजीवनमा बोलिने भाषा-शब्दलाई कथामा जस्ता पात्र पात्राहरू छन्, उस्तै बोलीद्वारा कथालाई बुनेका छन्। सललल बगेका भाषामा कहीं हिन्दी, अन्य जातिको भाषाबाट लिएका शब्दहरू प्रयोग गरेका छन्। गुरूङ, तामाङ र भोटियाहरूको भाषामा प्रयोग हुने साइनो तथा नामहरू टिपेका छन्। कथा पढिसकेर घोरिरहनु नपर्ने कथाले अर्थहरू खोजिरहनु नपर्ने, कहीं-कहीँ कथाको कथावस्तुको प्रस्तुतिमा भाषाशैली खजमजिएको भए तापनि मोटामोटी हिसाबमा पाठकप्रिय र स्पष्ट भाषा प्रयोगले कथाको प्रस्तुति मीठो भएको छ। जे होस्, कथाहरू पढ़िसक्दा कथाहरू मनमा खिलिने खालका सुन्दर र सफा चरित्र-चित्रणलाई रूबेन गुरूङले चाखलाग्दो पारेका छन्।
भारतीय नेपाली साहित्यमा कथा विधामा रूबेन गुरूङको ‘जीवनका अनुभूतिहरु थप कृति बन्न पुगेको छ। यस कथा सङ्ग्रह प्रकाशन भएदेखि रूबेन गुरूङ कथाकारको रूपमा पञ्जीकृत भएकामा उनको जय होस्।।


Share this news
आजको रोजाइ
न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ

न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ

सरकारी योजना सम्बन्धी सचेतना कार्यक्रम पुग्यो चुङथाङ

सरकारी योजना सम्बन्धी सचेतना कार्यक्रम पुग्यो चुङथाङ

ट्रम्पको आरोप– ‘शान्ति प्रस्तावमा हस्ताक्षर गर्न जेलेन्स्की अझै तयार छैनन्’

ट्रम्पको आरोप– ‘शान्ति प्रस्तावमा हस्ताक्षर गर्न जेलेन्स्की अझै तयार छैनन्’

जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

आजको रोजाइ