पश्चिम सिक्किमको मानेबुङ–देन्ताम क्षेत्र अन्तर्गत सरदोङ–लुङ्जिक ग्राम पञ्चायत एकाइमा क्रियाशील सामाजिक संस्था केरेमथाङ लोटस सोसाइटीले आफ्नो वार्षिक साधारणसभासँगै ग्राम सरसफाइ अभियान तथा नयाँ कार्यसमिति गठन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको थियो।
संस्थाका प्रमुख सल्लाहकारद्वय सी.एल. शर्मा र केदार नाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सोसाइटीका सभापति आर.बी. राई, पदाधिकारीहरू तथा स्थानीय सदस्यहरूको सहभागिता रहेको थियो। एक गैरसरकारी सामाजिक संस्थाको रूपमा पञ्जीकृत केरेमथाङ लोटस सोसाइटीले ग्रामीण क्षेत्रको स्वच्छता वातावरण संरक्षण तथा सामाजिक विकासलाई केन्द्रमा राख्दै कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमअन्तर्गत गाउँ तथा सडक क्षेत्रको व्यापक सरसफाइ गरिएको थियो। साथै, सडक किनारमा जथाभावी फालिएका फोहोरहरू व्यवस्थापन गर्नुका साथै वातावरणीय सौन्दर्य अभिवृद्धिका लागि विभिन्न प्रजातिका फूलका बिरुवाहरू तथा आयुर्वेदिक महत्वका वृक्षहरू रोपिएका थिए।
सरसफाइ अभियानपछि आयोजित औपचारिक सभामा संस्थाको स्थापना दिवसको अवसर पारेर पुरानो कार्यसमितिलाई पुनर्गठन गर्दै नयाँ समिति चयन गरिएको छ। नवगठित समितिमा आर.बी. राई सभापति, जमान सिंह दर्जी उपसभापति लक्ष्मण गुरुङ कार्यवाहक अध्यक्ष, यू.एन. दाहाल सचिव तथा महेन्द्र भट्टराई सहसचिव चयन भएका छन्। त्यसैगरी धनश्याम शर्मा कोषाध्यक्ष, अजय शर्मा सह–कोषाध्यक्ष तथा के.एन. शर्मा र चन्द्रशेखर शर्मा युवा समन्वयकको जिम्मेवारीमा चयन भएका छन्।
यसका अतिरिक्त विभिन्न सामाजिक तथा विकासात्मक कार्यक्रमहरूको संयोजनका लागि के.बी. गुरुङ, लोकेन्द्र गुरुङ तथा बुद्धमाया गुरुङलाई समेत विशेष जिम्मेवारी प्रदान गरिएको छ। तीन वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको पुरानो समितिबाट जिम्मेवारी ग्रहण गर्दै नयाँ समितिले आगामी तीन वर्षका लागि संस्थाको नेतृत्व सम्हाल्ने भएको छ। सो अवसरमा प्रमुख सल्लाहकारहरूले नव–निर्वाचित पदाधिकारीहरूलाई खादा ओढाएर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
सभालाई सम्बोधन गर्दै अध्यक्ष केदार नाथ शर्माले समाजको समग्र विकासका लागि स्वास्थ्य, शिक्षा, सामाजिक एकता तथा नैतिक मूल्यहरूको संरक्षणमा विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गरे। उनले युवापुस्तालाई सामाजिक सेवामा सक्रिय सहभागिता जनाउन आह्वान गर्दै शिक्षित, स्वस्थ र जिम्मेवार समाज निर्माण नै संस्थाको मुख्य उद्देश्य हुनुपर्ने बताए।
त्यसैगरी सोसाइटीका सभापति आर.बी. राईले संस्थाले आगामी दिनमा वातावरण संरक्षण सामाजिक सेवा युवा सशक्तीकरण स्वास्थ्य सचेतना तथा सामुदायिक पूर्वाधार विकाससम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको जानकारी दिए। उनले संस्थाको विकासमा सबै सदस्य तथा स्थानीयवासीहरूको निरन्तर सहयोग आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रमकै अवसरमा समाजसेवी रितमान गुरुङले समाजलाई आवश्यक पर्ने करिब १०० वटा चौकी, तिरपाल तथा अन्य विभिन्न सामग्रीहरू आफ्नो व्यक्तिगत पहलमा निःशुल्क उपलब्ध गराएर उल्लेखनीय योगदान दिएका छन्। त्यसैगरी कोषाध्यक्ष धनश्याम शर्माले समाज भवन निर्माणका लागि करिब ३०×४० फिट क्षेत्रफलको जग्गा समाजलाई दान गर्ने घोषणा गरेका छन्। उहाँहरूको यस योगदानप्रति सभाले विशेष धन्यवाद तथा प्रशंसा व्यक्त गरेको थियो।
सामाजिक एकता, वातावरण संरक्षण र सामुदायिक विकासप्रति प्रतिबद्ध केरेमथाङ लोटस सोसाइटीले आगामी दिनहरूमा अझ प्रभावकारी सामाजिक अभियान सञ्चालन गर्दै समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।












