खरसाङ,24 जून(निसं)ःअ खरसाङको रिलायन्स स्मार्ट बजारदेखि शहर तर्फ राष्ट्रिय राजमार्गमा भल बग्ने समस्या अझ पनि यथावत रहेको गुनासो छ। स्मार्ट बजार अघिको भगतवीर झोड़ासम्म पुरिएको नाली खोल्ने कार्य गरिएको तर भगतवीर झोड़ादेखि टुरिष्ट लज तर्फको नाली खोल्ने कार्य नगरिएको पनि गुनासो छ। स्मार्ट बजारदेखि टुरिष्ट लज तर्फको नाली नखोलिएको अनि सड़कबाट रेलको लिक पार गरेर नालीमा पस्न नसकेकोले भल सड़कमा बगेको हो भनी स्थानीयहरूले बताएका छन्। सड़कमा यसरी भल बगेपछि पैदल हिँड़ने मानिसहरूले समस्याको सामना गर्न परिरहेको अनि निरन्तर भल बग्ने प्रक्रियाले सड़क भत्किने गरेको पनि मानिसहरूले बताएका छन्। स्थानीय सुधन सिंहले भने, खरसाङ नगरपालिका अनि महकुमा प्रशासनद्वारा पुरिएको नाली अस्पताल मोड़देखि भगतवीर झोड़ासम्म खोल्ने कार्य भयो। भगतवीर झोड़ादेखि टुरिष्ट लजसम्मको नाली भने खोलिएन। भगतवीर झोड़ादेखि टुरिष्ट लजसम्म पनि ब्रिटिश कालमा निर्माण गरिएको गहिरो नाली रेलको लिक किनारमा छ। यो नाली पनि खोलिएको भए माथिबाट बगेर आउने पानी यो नालीमा बग्ने थियो। टुरिष्ट लज तर्फबाट बगेर आएको पानी हमाल बिल्डिङको नजिकबाट सानो कलभर्टबाट तलतिर बग्छ। त्यहाँदेखि बगेर आएको पानी सड़कै सड़क भएर लक्ष्मी झोड़ासम्म बग्ने गर्छ, त्यहाँदेखि यो भल सड़क पार गरेर तल्लो किनार भएर अस्पताल मोड़ तर्फ बग्ने गरेको छ। यसरी सड़कमा भल बगेपछि गाड़ीको चलाचलमा सड़कमा हिँड़िरहेका मानिसहरूमाथि छोपिने गर्छ, सड़क किनारका दोकानहरूमा छोपिने गर्छ। सड़कै सड़क भल बग्दा सड़क पनि टिकाउ हुँदैन। सड़क भत्किएपछि सबैले समस्याको सामना गर्न पर्छ। तिनले सुझाउ दिँदै भने, सड़कमा भल बग्ने समस्यालाई समाधान गर्नु हो भने भगतवीर झोड़ादेखि टुरिष्ट लजसम्मको पुरिएको नाली पनि खोल्न पर्छ। सड़कबाट नाली तर्फ पानी बग्नको निम्ति रेलको लिकबाट ठाउँ-ठाउँमा स-सानो नालीको निर्माण गर्न पर्छ, जहाँबाट सड़कको पानी सजिलै रेलको लिक पार गरेर माथिल्लो किनारमा रहेको नालीमा पस्न सकोस्। तिनले माथिल्लो किनारको नालीको गहिराई लगभग 4 फीट रहेकोले र सड़कको तलभन्दा नालीको गहिराई अझ धेर रहेकोले सड़कमा बग्ने पानी सजिलै नालीमा पस्ने बताए। तिनले भने, धेरै वर्ष अघि सड़कबाट रेलको लिक पार गरेर नालीमा पानी बग्न सकोस् भनी रेलको लिकको विभिन्न स्थानमा क्रश नाली निर्माण गरिएको थियो। यसो हुँदा जस्तै ठूलो पानी पर्दा पनि सड़कमा भल बग्ने समस्या हुँदैन थियो। वर्तमानमा नाली त खोलियो तर सड़कमा बग्ने पानी नालीमा पस्नको निम्ति कुनै उपाय गरिएन यसैले अझ पनि सड़कै सड़क भल बग्ने समस्या भइरहेको छ। यसै गरी अन्य मानिसहरूले पनि सड़कमा भल बग्ने समस्या समाधानको निम्ति उपायहरू सुझाएका छन्।
