- खरसाङ,22 जून(निसं) :आजको विश्वमा थुप्रै मौन महामारीहरू फैलिरहेका छन्, जसमा लागुपदार्थ दुर्व्यसन (नशा) सबैभन्दा गम्भीर र गहिरो चुनौती बनेर उभिएको छ। यो केवल व्यक्तिलाई मात्र होइन, परिवार, समाज र पुस्तैपुस्ता नै खिया लगाउने रोग हो। विशेषगरी युवाहरू यसको पहिलो शिकार बन्ने गरेका छन्। उनीहरूको सम्भावनामा अँध्यारो हालिदिन्छ, सपनाहरू चकनाचुर पारिदिन्छ, अनि सम्पूर्ण समाजलाई कमजोर बनाउँछ। उपयुक्त मन्तव्य भारतिय जनता युवा मोर्चा दार्जीलिङ जिल्ला समिति उपाध्यक्ष सुपेन्द्र प्रधानले गरेका छन्। तिनले भनेका अघि भनेका छन्- मिरिक प्रहरीले लागुपदार्थ सेवन, बिक्री र वितरणविरुद्ध उठाएको सशक्त र सकारात्मक कदम अत्यन्तै प्रशंसायोग्य छ। यो केवल कानुनी कारबाही मात्र होइन, समाजलाई निको बनाउने एक महत्त्वपूर्ण प्रयास हो। यसले एउटा स्पष्ट सन्देश दिन्छ। अब नशाको अपराध र त्यसप्रतिको मौनता स्वीकार्य हुने छैन। हामीले सधैँ सम्झनु पर्छ, नशाले शरीरलाई नष्ट गर्छ, मस्तिष्कलाई सुन्न बनाउँछ, अनि आत्मालाई दबाउँछ। हरेक दुर्व्यसनी केवल आँकडा होइन, उनीहरू एउटा भट्किएको जीवन हुन्, जसलाई पुनःमार्गमा ल्याउने जिम्मा हाम्रो हो। अनि हरेक कारबाही, हरेक पहलले त्यो अँध्यारोलाई चिर्दै आशाको उज्यालो ल्याउँछ। भारतीय जनता युवा मोर्चा यो अभियानमा मिरिक प्रहरी प्रशासनसँग काँधमा काँध मिलाएर उभिएको छ। यो युद्ध केवल अपराध विरुद्ध होइन, जीवन, सम्मान र उज्ज्वल भविष्यको पक्षमा लडिएको युद्ध हो। हाम्रो चाहना हो-मिरिकबाट सुरू भएको यो चेतनाको झिल्को समग्र पहाड हुँदै देशभर फैलियोस्। समाज, प्रशासन र युवाहरूको समवेत आवाजले यो दुष्प्रवृत्तिलाई जरैदेखि उखेलेर फालोस्। किनकि अन्ततः, जो समाजले आफ्ना युवालाई जोगाउँछ, उसैले आफ्नो भविष्य सुरक्षित गर्छ।
