गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) रिम्बिक–लोधोमा समष्टिले आफ्नो सांङ्ठनिक विस्तार अभियानलाई निरन्तरता दिँदै विभिन्न क्षेत्रमा संगठन सुदृढीकरणको कार्यलाई तीव्र बनाइरहेको छ। यही अभियानअन्तर्गत अप्पर छोटा हट्टास्थित गोपाल राईको निवासमा समष्टि अध्यक्ष पेम्बा भुटियाको अध्यक्षतामा एक सांङ्ठनिक सभा सम्पन्न भएको छ।
सभामा दार्जीलिङ ब्राञ्च कमिटी सदस्य बी.बी. राई, समष्टि सचिव रमेश राई, गोरानासं समष्टि अध्यक्षा मेनुका राई तथा समष्टिका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभाको मुख्य उद्देश्य अप्पर छोटा हट्टा प्रशाखा गठन प्रक्रिया अघि बढाउनु रहेको थियो। यस क्रममा सर्वसम्मत निर्णयमार्फत गोपाल राईलाई प्रशाखा संयोजकको जिम्मेवारी प्रदान गरिएको रमेश साङपाङले जानकारी दिएका छन्। त्यसैगरी सदस्यहरूमा मणिचन्द्र राई, भगिरथ राई, सन्दीप राई, आशबहादुर राई, मजेश राई, मिलन राई तथा शेखु राईलाई चयन गरिएको छ।
सभालाई सम्बोधन गर्दै समष्टि अध्यक्ष पेम्बा भुटियाले अप्पर छोटा हट्टा प्रशाखालाई यथाशीघ्र पूर्णरूपमा गठन गरी संगठनलाई अझ सशक्त बनाउनेतर्फ सबै कार्यकर्ताले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। साथै उनले वर्तमान राजनीतिक परिवेश, संगठनको भूमिका तथा रिम्बिक–लोधोमा समष्टिमा भइरहेको सांङ्ठनिक विस्तार अभियानबारे विस्तृत जानकारी गराएका थिए।
रमेश साङपाङका अनुसार, गोरामुमो रिम्बिक–लोधोमा समष्टिले आगामी दिनहरूमा पनि गाउँ–गाउँमा संगठन विस्तार गर्दै पार्टीलाई थप सुदृढ र जनआधारित बनाउने अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।











