असमको कोकराझार जिल्लाअन्तर्गत पाठगाउँ निवासी हंसराज बराइलीले राष्ट्रिय स्तरको किकबक्सिङ प्रतियोगितामा स्वर्ण पदक जित्दै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि भारतको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन्। पिता तुलसी प्रसाद बराइली तथा माता श्रीमती कल्पना बराइलीका सुपुत्र हसराजले ओडिशामा सम्पन्न National Kickboxing Championship (Junior Category) मा उत्कृष्ट प्रदर्शन गर्दै यो सफलता हासिल गरेका हुन्। प्रतियोगिताका क्रममा उनले दुई चरणको क्वालिफाइङ राउण्ड, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलसम्मका सबै प्रतिस्पर्धामा विजय हासिल गर्दै स्वर्ण पदक आफ्नो नाममा लेखाउन सफल भए। यस उल्लेखनीय उपलब्धिसँगै हसराज अब अन्तर्राष्ट्रिय मञ्चमा भारतको प्रतिनिधित्व गर्न छनोट भएका छन्। उनको अथक परिश्रम, अनुशासन र खेलप्रतिको समर्पणले आज उनलाई राष्ट्रिय च्याम्पियनको स्थानमा पुर्याएको छ।
हसराजकी माता श्रीमती कल्पना बराइली एक जिम प्रशिक्षक (Gym Trainer) हुनुहुन्छ। उहाँले कोकराझार जिल्लाको पाठगाउँमा आफ्नै जिम सञ्चालन गर्दै युवायुवतीहरूलाई शारीरिक तन्दुरुस्ती तथा खेलकुदप्रति प्रेरित गर्दै आउनुभएको छ। छोराको सफलतामा आमाको प्रेरणा, मार्गदर्शन र निरन्तर सहयोगको महत्वपूर्ण भूमिका रहेको स्थानीयवासीहरू बताउँछन्। हसराज बराइलीको यो सफलता केवल उनको परिवारको मात्र नभई सम्पूर्ण कोकराझार जिल्ला तथा असम राज्यकै गौरवको विषय बनेको छ। उनको उपलब्धिले खेल क्षेत्रमा अघि बढ्न चाहने युवापुस्तालाई प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ। स्थानीय समाजसेवी, खेलप्रेमी तथा शुभेच्छुकहरूले हसराजलाई हार्दिक बधाई ज्ञापन गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत भारतको शान बढाउने विश्वास व्यक्त गरेका छन्।











