IPS Dawa Sherpa
IPS Dawa Sherpa

आईपीएस अधिकारी दावा शेर्पाको निधनले मर्माहत : डा. दिवाकर प्रधान

Share this news

१९७०-को दशकमा हामी सन्त रोबर्टस पाठाशाला पढ्दा दावा नगरपालिका उच्च विद्यालय पढ्थे। नगरपालिका उच्च विद्यालयमा मेरा चबाजु एम बी प्रधान प्रधान अध्यापक र पाजु गौतमनारायण प्रधान उप प्रधान अध्यापक हुनुहुन्थ्यो। रिम्बिकबाट दार्जिलिङ नगर पढ्न आएका दावा चौरस्तामाथि बेल्लेभ्यू स्थित गौतम पाजुको घरमा बस्थे। हामी सँगै खेल्थ्यौँ। सातान्तमा एउटा अङ्ग्रेजी सिनेमा हेर्न पाउँथ्यौँ। दुई स्कूलका पाठ विनिमय गरी पढ्थ्यौँ। सन्त रोबर्टसमा चलाइने नेपाली व्याकरण पुस्तक दावालाई मन पर्थ्यो, मलाई म्युनिसिपल स्कूलमा चलाइने नवीनचन्द्र खालिङको नेपालीमा बुझाइएको अङ्ग्रेजी व्याकरण मन पर्थ्यो। मन परेका पाठ साना अक्षरमा साटासाट गरी सारेका हुन्थ्यौँ। मेरो मोटो बायोलजी पुस्तक उनले पढेपछि छाड्दै नछाड़्ने, म उनको इतिहास पुस्तक पढ़ेको पढेकै हुन्थेँ।

एघारौँ श्रेणीमा हामी दार्जिलिङ सरकारी महाविद्यालयमा भर्ना भयौँ। उनी मर्निङ साइन्समा परे, म आफ्टरनून कमर्समा। त्यस बेला बाह्रौँ श्रेणी उत्तीर्ण हुनु गाह्रो थियो। पछि उनी साइन्स ग्रेजुएट बनेर भारतीय प्रहरी सेवा (आईपीएस) उत्तीर्ण भए। म कला स्नातक बनेर उत्तर बङ्ग विश्वविद्यालय पढेको पढेकै भएँ। पीएच डी गरेर पनि काम पाइनँ। नोकरी ढिलो भयो, त्यस बेलासम्म दावा प्रहरीमा उच्च पदस्थ अधिकारी बनिसकेका थिए। यसरी हामी दुई भिन्न पथका पथिक भयौँ।

फेसबुक निस्केपछि पुराना धेरै साथीहरूसँगै दावा पनि जोड़िए। त्यस बेला म काशी हिन्दू विश्वविद्यालयमा प्राध्यापन गर्ने बनिसकेको थिएँ, दावा उत्तर प्रदेशको गोरखपुर जनपदका अतिरिक्त प्रहरी महानिदेशक बनिसकेका थिए। हामी फोनाफोन गर्ने भयौँ। नेवार परिवारकी छोरी बिहा गरेको जनाए। एक दिन एकजना प्रहरी मेरो कार्यकक्षमा आए अनि बिहाको निम्तो दिए। दावाको छोरो मिङ्माको बिहा रहेछ। छोरोले पनि भारतीय प्रशासनिक सेवा (आईएएस) उत्तीर्ण गरी जनपदायुक्त (डिस्ट्रिक्ट म्याजिस्ट्रेट) बनिसकेका रहेछन्। बिहा खान गोरखपुर गएँ। मेरो लागि रेलवे स्टेशनदेखि नै प्रहरी सुरक्षा दिइएको रहेछ। होटलमा पनि बाहिर रुँगिरहने। डुल्नदाँदा पनि सँगै जाने। विवहा स्थलमा पनि उनैले लाने। बानी नहुनाले मलाई लाज लाग्ने, अटसपटस पनि हुने। सहनै पर्‍यो। बिहामा प्रहरीका उच्च पदस्थ अधिकारी, नेता, अधिकारीतन्त्रका प्रशासकहरूसित भेट भयो। दावाले मलाईचाहिँ विशेष महत्त्व दिएर भित्र सन्तानहरू रहेका ठाउँमा राखे। निकै बेर रहेर राति प्रहरीले होटलमा ल्याइदिए। भोलिपल्ट सन्त कबीरको निर्वाण स्थल मगहर र गुरु गोरखनाथ मन्दिर घुमाउने आदेश रहेछ, लगे। घुमेर त्यतैबाट स्टेशन गई काशी फर्केँ।

पश्चिम बङ्गमा भाजपा-ले ठाउँ बनाउँदैगर्दा अप्रत्याशित रूपले दावा राज्याध्यक्ष बनेका थिए। २००९ इसाब्दको लोकसभा चुनाउमा दावा शेर्पा दार्जिलिङ समष्टिबाट भाजपा प्रत्याशी बनेका थिए। दार्जिलिङ लोकसभा निर्वाचनका लागि भाजपाले दावा शेर्पाको सट्टा वरिष्ठ नेता जसवन्त सिंहलाई प्रत्याशी बनाएको थियो। यसको प्रमुख कारण गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-सँग भएको रणनीतिक निर्वाचन गठबन्धन थियो। पाहाड़ी क्षेत्रको प्रमुख राजनीतिक शक्तिका रूपमा रहेको गोजमुमोले गोर्खा समुदायका माग र आशालाई राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा उठाउन सक्ने राष्ट्रिय सामर्थ्यका प्रभावशाली भाजपाका नेतालाई प्रत्याशी बनाउन अनुरोध गरेको थियो। त्यसैअनुरूप भाजपाले जसवन्त सिंहलाई दार्जिलिङबाट लोकसभा प्रत्याशी बनाएको थियो। त्यसपछि भाजपासित ठुस्केर त्यागपत्र दिई अखिल भारतीय गोर्खा लीगमा लागे, प्रहरी सेवाबाट अवकाश लिन स्वैच्छिक सेवानिवृत्ति योजनाअन्तर्गत आवेदन गरे। “२० वर्ष पूरा नभई स्वैच्छिक सेवानिवृत्ति योजना (भीआरएस)-अन्तर्गत आवेदन गर्न पाइँदैन” भनी गृह मन्त्रालयले आवेदन निरस्त गरिदियो। यसरी प्रहरी सेवामा फर्कनुपर्‍यो। २००८-देखि २०१२-सम्म सेवामा नरहेर पनि २०१२-मा अखिलेश यादवको समाजवादी प्रशासनले यिनलाई दुईवटा प्रोन्नति दिएर योगी आदित्यनाथको अखाड़ा नगर गोरखपुरमा सह अतिरिक्त प्रहरी महानिदेशक बनाइदिएको थियो। यसबारे अखिलेश प्रशासनको आलोचना पनि भयो। प्रशासनले यसलाई “अनावश्यक आरोप-सूचक टिप्पणी” अर्थात् “अकारण लाञ्छनात्मक सङ्केत” (Uncalled-for insinuation) भनेर दमन गरिदियो।

दावा शेर्पा भारतीय प्रहरी सेवा (Indian Police Service)-बाट २०२२-मा आधिकारिक रूपमा अवकाशप्राप्त भएका हुन्। उत्तर प्रदेश प्रहरीका आधिकारिक प्रलेखअनुसार उनको जन्ममिति १२ जुलाई १९६२ हो। यस आधारमा उनले जुलाई २०२२ मा अनिवार्य अवकाशको ६० वर्ष वय पूरा गरेका थिए। अतिरिक्त प्रहरी महानिर्देशक (ADG)-को पदबाट अवकाश ग्रहण गर्नुअघि उनले ३४ वर्षसम्म सेवा गरेका थिए।

दावा शेर्पाको ३४ वर्षे सार्वजनिक सेवाको यात्रा अत्यन्त गतिशील, उल्लेखनीय र विविध अनुभवले भरिएको थियो।

अवकाशपूर्वका प्रमुख दायित्व ~

१. प्रहरी अधीक्षक (SP): सेवाको प्रारम्भिक चरणमा उनले उत्तर प्रदेशका अनेक महत्त्वपूर्ण जनपदमा प्रहरी अधीक्षक (SP)-का रूपमा नेतृत्व प्रदान गरेका थिए। उनका कार्यक्षेत्रमा आजमगढ, सोनभद्र, भदोही, सुल्तानपुर, सीतापुर, कुशीनगर तथा मुजफ्फरनगर जनपद पर्दथे।

२. ADG गोरखपुर क्षेत्र : २०१८-मा उनलाई गोरखपुर प्रहरी क्षेत्रको नेतृत्व गर्ने दायित्व दिइएको थियो। यो उत्तर प्रदेश प्रहरी प्रशासनको दृष्टिले अत्यन्त महत्त्वपूर्ण तथा संवेदनशील पदस्थापनामध्ये एक मानिन्छ।

३. ADG, अपराध शाखा – अपराध अनुसन्धान विभाग (CB-CID): फरवरी २०२१-मा उनलाई लखनऊस्थित अपराध शाखा – अपराध अनुसन्धान विभाग (CB-CID)-को अतिरिक्त प्रहरी महानिर्देशक (ADG) नियुक्त गरियो। यस पदमा रहँदा उनले राज्यस्तरीय महत्त्वपूर्ण आपराधिक अनुसन्धानहरूको नेतृत्व गरे र अवकाश प्राप्त नगरेसम्म यही दायित्व निर्वाह गरिरहे।

यस्ता पद, प्रतिष्ठा र पैसा भएर पनि यिनमा पदमाद, प्रतिष्ठामाद र धनमाद थिएन। यिनी धरातलीय चेतनायुक्त (Down to earth) अहङ्काररहित सरल व्यक्ति थिए। एउटा घटनाको संस्मरण छ, दावा र मलाई धेर थाहा भएको, अरूलाई नभनी राखेको, मैले बिगार गरेको, दावाले जोगाएको। आज भन्छु –

काशी हिन्दू विश्वविद्यालयमा दसैँको अवकाश तीन दिन मात्र हुन्छ। हाम्रोचाहिँ दसैँ प्रदान पर्व हो। २०१९-को दसैँ छेक थियो। थप अवकाश मिलाएर घर जाने मन बनाएर पनि रेलगाड़ीमा टिकट पाइएको थिएन। मसँग ड. रामजीवन राई पनि थिए, त्यस बेलाका शोधार्थी। जानअघि साहित्यकार तथा भाषा सङ्ग्रामी रमेश बादल, पूरा नाम रमेशकुमार प्रधान,-सित भेट भयो। उहाँ त्यस बेला फलदेव महाराजको विहङ्गम योगमा चुर्लुम्मै डुब्नाका साथै काशीको स्वर्वेद मन्दिरका सचिव बनिसकेका थिए। हामीकहाँ आएर शोधार्थी र विद्यार्थीलाई विहङ्गम योगका ज्ञान पनि दिए। भोलिपल्ट स्वर्वेद मन्दिरको डिजायर गाड़ीमा शिलगढीसम्म जाने मतो मिल्यो। आजै गएर स्वर्वेद मन्दिरमा बस्नुपर्ने र भोलिपल्ट बिहानै बाटो लाग्नुपर्ने योजना बन्यो।

अक्टोबर मास थियो। दिउँसो मुजफ्फरपुरमा विहङ्गम योगीको घरमा खर्च (लन्च) खानपुग्यौँ। चालकले त्यहीँ एक निद्रा पुर्‍याए। फेरि यात्रा। एक ठाउँ ५ बजीतिर चिया खायौँ। चालक थाके भनेर मैले चलाउन पालो दिने भएँ। मेरी श्रीमतीको स्वास्थ्य उति ठीक थिएन। कहिले गान्तोक घर पुगूँ भन्ने एकोहोरे बुद्धिले तीव्र गतिमा हाँकेछु। रात परिसकेको थियो। साढे सात भएको थियो होला। यतिकै तीव्र गतिमा गाड़ी गुड़ाए अबको १२० किलोमिटर एक घण्टामा शिलगढी पुगिन्छ भन्ने एकोहोरो मन बनेको थियो। फोर लेन छाड़ेर छिटो पुग्न अररिया भएर जानुपर्छ भन्ने सोचियो। अररिया पुग्ने बेलामा जोकीहाटतिर होला, अचानक रोड़े बाटो साँघुरो भेटियो। त्यहीमाथि सानो खहरे खोलाको पुल रहेछ अनि पुल तर्नुबित्तिकै देब्रेपट्टि बाटो भत्केर फलामे खुट्टी गाड़ेको रहेछ, नदेख्ने। ठोकिपठाएँ। इन्जिनको देब्रे भाग गुजुल्टिएको भुजुरीजस्तो देख्ने भइहाल्यो। फस्ट गियरमा जसोतसो चल्ने, बत्ती नबल्ने, झट्ट नबनिने। आपत्ति भनेको यस्तो हुँदोरहेछ।

हेर्दाहेर्दै अररियाको रात्रि पहरे (पेट्रोलिङ) गाड़ी आयो। हाम्रो गाड़ी जोकीहाट थाना लगेछ। कुन थाना हो अँध्यारोमा थाहा पनि भएन। मधुमेह र मिर्गौलाका रोगी रमेश दाइको कुम दुख्नथाल्यो। दैनिक औषधि पनि खाने बेला भएको तर गाड़ीको चाबी पुलिसले लगेको। माग्दा धेरै दङ्ग्याउनुपर्ने। थानाको सिकुवामा पनि बस्न नदिने। आँगनमा बस्यौँ। “सुत्नपरे पर अस्पतालको प्रतीक्षणालयमा जानू” भने। रमेश दाजुको कुम दुखेको देखाउन गयौँ। डक्टरले जाँचे, सुई लगाइदिए। अस्पतालका पालेले त्यहाँ बस्न दिएनन्। फेरि थाना आयौँ। रातभरि लामखुट्टेले टोक्यो। मन खिन्न हुनाले निद्रा पनि लागेन। तातो जलवायु र पसिना छँदैछ। त्यहाँ प्रहरी शिविर पनि रहेछ। बिहान थुप्रै पुलिसहरू उठेर कट्टु मात्र लाएर आँगनमा नुहाउनथाले। आधासरोले हामीलाई गिज्याइरहन्थे। फिला बजाउँदै “जेब मेँ कितना पैसा है” भन्थे। प्रतिवाद गर्न सकेका थिएनौँ। गाड़ीबाट रमेश दाजुका औषधिबाहेक चाहिएका थोक निकाल्न पाइरहेका थिएनौँ। कष्टकर समय थियो। बिहान पर गएर चिया खायौँ। शौच जान पनि पर्खनुपर्ने, पानी भरेर लैजानुपर्ने, सफा गर्नुपर्ने। नुहाउने कुरै आएन। १० बजी कार्यालय खुलेर मात्र कुरा हुन्छ भन्थे। पर्खनुबाहेक हाम्रो कुनै युक्ति थिएन।

बिहान साढे सातमा सधैँ घरमा मुमाचैँलाई फोन गर्ने बानी थियो। गरेँ। सामान्य कुरा गर्दैथिएँ तर अचानक सोधिन् – “तपाईँलाई के असुविधा भएको छ हँ? मैञाले पनि सपनामा तपाईँलाई देखिन् भन्थिन्”। मेरी उनी अन्तर्यामीजस्तै थिइन्। मेरा गोप्य कुरा पनि थाहा पाउँथिन्। अप्ठ्यारा स्थितिमा पनि समाधान निकाल्ने शक्ति उनीसित थियो। कतै अघिकारीहरूबाट काम निकाल्नुपरे उनैलाई लगेर जानेगर्थेँ। नारीहठसित हारेर वृत्तान्त सुनाएँ। सुनिसकेर भनिन् – “दावालाई फोन गरिहाल्नुहोस्”। मैले भनेँ – “उनी उत्तर प्रदेश क्याडरका हुन्, गोरखपुरका डीजीपी”। यति भन्दा पनि ढिपी गरिन्। उनको कुरा टार्दा मलाई धेरैखेप धोका भएका छन्, सोचेँ, दावालाई फोन लगाएँ। उठाए। छिट्छिटो सबै कुरा भनेँ। एकक्षणमै दावाबाट फोन आयो – “तिमीहरू अररियामा छैनौ, ठीक ठाउँ भन”। फोन नराखी साइनबोर्ड हेर्न बाहिरतिर दगुरेँ, जोकीहाट थाना देखेँ, भनेँ – “जोकीहाट जोकीहाट”। फोन राखे। बिहान ८ बज्नलाग्दा अररिकाका प्रहरी निरीक्षक (एसपी)-सहित अरू प्रहरी अधिकारी आए। हामीलाई खिसी गर्ने प्रहरीहरू हतार-हतार गणभेष लाएर लहरमा उभिए। एउटा प्रहरीले कुदेर चाबी मेरो हातमा दिए। “प्रधान डा’क सा’ब आप ही होंगे। आइए नाश्ता करेँ” भन्ने एसपी रहेछन्। जलपान गृहमा लगेर खुवाए। अर्नी (ब्रेकफास्ट)-को मूल्य तिर्न पनि दिएनन्। त्यहीँ बसेर कताकता फोन गरे। एकैक्षणमा दुइटा स्कर्पियो रोकिए। एउटामा हाम्रा भारी र हामीलाई चढाए। अर्कोमा डोरीले भत्केको गाड़ी बाँधेर उचालीकन पछिल्ला चक्काले मात्र गुड़्ने गरी तान्न लगाए। स्कर्पियोका चालाकलाई बाघदुगुराको मारुती जीर्णोद्धार यन्त्रालयमा पुर्‍याउने आदेश दिए। एक घण्टामा बाघदुगुरा पुग्यौँ। भाड़ा लिन मानेनन्। यन्त्रालयमा गाड़ी छाड़ेर आफ्नो आश्रमका ड्राइभरसित रमेश दाजु प्रधाननगर घर गए। रामजीवन कुमाईतिर लागे, म सकुशल गान्तोक घर पुगेँ। दावाले सहयोग नगरेका भए अररियामा हाम्रो अवस्था के हुन्थ्यो होला! थाना-कचहरी कति धाउनुपर्थ्यो होला! सङ्कटकालमा दावा द्यौता बनेका थिए एउटा राज्यका अतिरिक्त प्रहरी महानिदेशकको शक्तिक्षेत्र देशभर हुँदोरहेछ। उस्तै भए त्यत्तिको उच्च पदमा पुगेका व्यक्तिले म बबुरो गुरुबाबूलाई पत्तो नदिँदा पनि हुन्थ्यो। पदभन्दा मित्रतालाई प्राधान्य दिने दावा शेर्पा अब कहाँ पाउनु!

टाड़ो बसेर पनि दावालाई साथीहरूका सङ्गतको तिर्खा लागिरहन्थ्यो। जातीय उत्थानमा मन दिन्थ्यो। आपराधिक क्षेत्रमा उत्तर प्रदेशजस्तो संवेदनशील राज्यमा प्रहरीको उच्च पदमा रहेर नेता, अधिकारीतन्त्र, नगरनिगमका विविध निकायसहित जन प्रतिनिधिहरूसित तालमेल मिलाएर ३४ वर्ष प्रहरी सेवामा लाग्नु लर्तरो आँट होइन। यसैबीच परिवार पनि सह्माले। उनको अर्को संस्करण छोरो मिङ्मा पनि आईएएस बन्नु सत्कर्मको फल हो। मिङ्गा शेर्पा वर्ष २०१७-को ब्याचका प्रतिष्ठित भारतीय प्रशासनिक सेवा (आईएएस) अधिकारी हुन्। उनी एजीएमयूटी (अरुणाचल प्रदेश-गोवा-मिजोरम-केन्द्रशासित प्रदेश) क्याडरअन्तर्गत कार्यरत छन्। आफ्ना पिताजस्तै उनले पनि विशेषतः दुर्गम तथा चुनौतीपूर्ण भौगोलिक क्षेत्रमा प्रभावकारी सार्वजनिक सेवाबाट उल्लेखनीय प्रतिष्ठा आर्जन गरेका छन्। अहिले मिङ्मा जम्मूको उधमपुर जनपदका उपायुक्त (डिपुटी कमिस्नर) छन्।छोरोको कार्यक्षेत्र भ्रमणमा गएका बेला उनको आकस्मिक निधन भएछ। नश्वर शरीरको के भर। शरीरमा नरहे तापनि दावाका गुणकृति हामीसँगै रहिरहनेछन्। यसै लेखबाट मित्र दावाको शोकाकुल परिवारप्रति संवेदना व्यक्त गर्दै पुण्यात्मालाई तथागतको शरण प्राप्त होस् भनी प्रार्थना गर्दछु। नमो भवतु बुद्धाय।।

मित्र दावा शेर्पा, भारतीय पुलीस सेवाको निधनले मर्माहत भएको छु

–डा. दिवाकर प्रधान, (काशी हिन्दु विश्वविद्यालय)


Share this news
आजको रोजाइ
शिवखोलामा गोरामुमोको समर्थन कार्यक्रम, १५० घर पार्टीमा सामेल

शिवखोलामा गोरामुमोको समर्थन कार्यक्रम, १५० घर पार्टीमा सामेल

बंगालमा आयुष्मान भारत र प्रम जन आरोग्य योजना कार्यान्वयनमा आभार

बंगालमा आयुष्मान भारत र प्रम जन आरोग्य योजना कार्यान्वयनमा आभार

बिहारको एमएलसी चुनावमा उम्मेदवारहरूको शपथपत्रका मुख्य बुँदाहरू

बिहारको एमएलसी चुनावमा उम्मेदवारहरूको शपथपत्रका मुख्य बुँदाहरू

ममताको ‘लंका’ ध्वस्त पार्ने काकोली घोष अनि रीताब्रत बनर्जी को हुन्

ममताको ‘लंका’ ध्वस्त पार्ने काकोली घोष अनि रीताब्रत बनर्जी को हुन्

उत्तर सिक्किममा भाजपाको लागि एक महत्वपूर्ण राजनीतिक विकासक्रम

उत्तर सिक्किममा भाजपाको लागि एक महत्वपूर्ण राजनीतिक विकासक्रम

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्धन गर्न सरकारको अग्रसरता

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्धन गर्न सरकारको अग्रसरता

आईपीएस अधिकारी दावा शेर्पाको निधनले मर्माहत : डा. दिवाकर प्रधान

आईपीएस अधिकारी दावा शेर्पाको निधनले मर्माहत : डा. दिवाकर प्रधान

सरकारद्वारा उज्ज्वला अन्तर्गत अनुदानित सिलिन्डर ९ बाट घटाई भयो ४ 

सरकारद्वारा उज्ज्वला अन्तर्गत अनुदानित सिलिन्डर ९ बाट घटाई भयो ४ 

देन्ताम विद्युतीय घरेलु समाधान” मा एक व्यापक प्रशिक्षण कार्यक्रम सम्पन्न

देन्ताम विद्युतीय घरेलु समाधान” मा एक व्यापक प्रशिक्षण कार्यक्रम सम्पन्न

दिल्ली-कोलकाता, दुवै ठाउँमा तृणमूल कांग्रेसको पार्टी कार्यालय उड्ने

दिल्ली-कोलकाता, दुवै ठाउँमा तृणमूल कांग्रेसको पार्टी कार्यालय उड्ने

आजको रोजाइ