नेपाली साहित्य जगतको प्रतिष्ठित मदन पुरस्कारद्वारा शनिबार विशेष कार्यक्रम बीच आख्यानकार छुदेन काविमोलाई अलङ्करण गरिएको छ। काठमाडौं, ललितपुरमा अवस्थित कमलमणि थिएटरमा मदन पुरस्कार गुठीले पुरस्कार समर्पण समारोहको आयोजना गरेर आख्यानकार काविमोलाई उनको आख्यान “उरमाल” को लागि मदन पुरस्कारद्वारा अलङ्करण गरेको हो।
पुरस्कार अलङ्करण समारोहमा प्रा.डा. वीणा पौड्याल, जगदम्बा-श्रीबाट सम्मानित प्रेमदेव गिरी, मदन पुरस्कार गुठी अध्यक्ष कुन्द दीक्षित, उपाध्यक्ष कल्पना पराजुली लगायत आमन्त्रित अतिथहरू उपस्थित थिए। गुठीका अध्यक्षबाट आख्यानकार काविमोलाई पुरस्कारको रुपमा प्रशस्ति पत्र, श्रद्धा-माला साथै 4 लाख नेपाली नगद राशी प्रदान गरेर पुरस्कार अर्पण गरिएको थियो।
मदन पुरस्कारद्वारा सम्मानित उरमालका स्रष्टा छुदेन काविमोले समारोहलाई सम्बोधन गर्दै भने, “साहित्यले जहिले पनि वञ्चित, शोषित र मानवीय कुरासँग सम्बन्ध राख्छ भन्ने कुरामा म सधैं विश्वास गर्छु । त्यही विश्वासकै कारण हो, उरमालमा पनि मैले शोषित र वञ्चितहरूकै पीडालाई लेख्ने कोसिस गरेको छु। यसले मदन पुरस्कार पाउँदा त्यो आवाज अरु मुखर भएको अनुभव मैले गरेको छु। त्यति मात्रै होइन, मदन पुरस्कार गुठीले कसरी विश्वभरि लेखिने नेपाली साहित्यको स्वरलाई सुनिदिन सकेको छ, कसरी एउटा अलग भूगोलको संवेदनालाई आत्मसात् गर्न सकेको छ, त्यसको प्रमाणको रूपमा पनि मैले यसलाई लिएको छु। वर्षोंपछि फेरि एकचोटि पूरै भारतेली नेपाली साहित्य पुरस्कृत भएको आभास यसचोटि मैले गरेको छु।”
समारोहमा मदन पुरस्कार गुठी अध्यक्ष कुन्द दीक्षितले भने, “छुदेन काविमोज्यू, यहाँको पुस्तक उरमाललाई मदन पुरस्कारबाट सम्मानित गर्न पाउँदा हामीलाई संसारभर छरिएका नेपाली भाषीसँग जोडिने मौका मिलेको छ। यहाँ म मदन पुरस्कारबाट सम्मानित पारसमणि प्रधानजी, फादर विल्यम बर्कजीलाई सम्झन्छु।” पारसमणी प्रधानलाई मदन पुरस्कार अर्पण गरेको प्रसङ्गबारे सम्झना गर्दै उनले थप भने, “पारसमणिजीलाई २०२७ सालमा मदन पुरस्कार सम्मान अर्पण गर्न दार्जीलिङ पुग्दा म १५ वर्षको थिएँ। रानी जगदम्बा, दादा कमल दीक्षित र आमा अञ्जु दीक्षितसँगै गएर समारोहमा बसेको धमिलो सम्झना बाँकी नैछ।” आख्यान उरमालको विशेषता बारे बोल्दै उनले भने, “छुदेनजी, यहाँको उरमालले ‘चिया’ पछाडिको दुःखको कथा भनेको छ तर विडम्बना हामी त्यही दुःखबाट टुसाएको ‘चिया’ले बाँधिएका छौँ। यहाँको लेखनीले निरन्तरता पाइरहोस्। यहाँको कथा-व्यथाले धर्ती छोइरहोस्। धर्तीप्रति समर्पित सबैमा सम्मान। यहाँलाई वधाई र स्वागत छ।”
