सिक्किमको जैविक अभियानलाई व्यवहारिक रूपमा आत्मसात गर्दै हि-याङ्थाङ वरिष्ठ माध्यमिक विद्यालयले यस वर्ष ठूलो अलैंची खेतीमा अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ। सन् १९४१ मा स्थापना भएको यस विद्यालयले शिक्षाको क्षेत्रमा निरन्तर प्रगतिका साथ अब कृषि र आत्मनिर्भरता शिक्षालाई पनि पाठ्यक्रमको अभिन्न अंशको रूपमा अघि बढाएको छ। विद्यालयले गत वर्ष जैविक बेसार खेतीमा सफलता पाएपछि यस वर्ष ठूलो अलैंची खेतीलाई प्राथमिक परियोजनाका रूपमा सुरु गरेको हो। विद्यालयका प्रधानाध्यापक नारायण बस्नेतको नेतृत्वमा सम्पूर्ण शिक्षक–शिक्षिका, कर्मचारी र विद्यार्थीहरू एकजुट भएर विद्यालय परिसरमै जैविक विधिबाट अलैंची खेती गरिरहेका छन्। अहिले विद्यालय परिसरमा लगाइएको अलैंची टिप्ने सिजन चलिरहेको छ र विद्यार्थीहरू उत्साहका साथ अलैंची टिप्न व्यस्त छन्। नानीहरूको हातमा टोकरी, अनुहारमा खुशी र उत्साह-कृषि शिक्षाको जीवन्त चित्र विद्यालयकै बगैँचामा देख्न सकिन्छ।
