खरसाङ, (निसं)ः खरसाङ नगरपालिका अनि सूचना एवं संस्कृति विभागको संयुक्त आयोजनामा खरसाङ्मा 79 अऔँं स्वतन्त्रता दिवस समारोह सम्पन्न भयो। यस साारोहको अध्यक्षता सूचना अनि सांस्कृतिक विभाग खरसाङ्का प्रभारी गोविन छेत्रीले गरेका थिए भने प्रमुख अतिथिको रुपमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ उपस्थित रहेका थिए। सविना गिरी र सविता छेत्रीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण गोविन छेत्रीले राखेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा खरसाङ महकुमा शासक आईएएस विन्दवासिनी तेजा दिपक, खरसाङ महकुमा पुलिस अधिकारी एसडीपीओ आईपीएस निरजा अनीश शाह, कार्यकारी सभासद कल्पना प्रधान, सभासद श्याम शेर्पा, रोगी कल्याण समितिको सभापति दिवस छेत्री, कार्यकारी अधिकारी कैलाश प्रसाद लगायत अन्यान्य उपस्थित रहेका थिए। स्वतन्त्रता दिवसको अवसरमा प्रमुख अतिथि खरसाङ नगरपालिका चेयरम्यान ब्रिगेन गुरूङ्को बाहुलीबाट राष्ट्रिय झण्डा उत्तोलन गरिएको थियो। उनले नै सलामी पनि लिएका थिए। कार्यक्रममा खरसाङ क्षेत्रका 27 वटा जति विद्यार्थीहरुले सहभागिता जनाएका थिए भने सन्त अल्फन्सेस विद्यालय र सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरूले ब्याण्डको प्रस्तुति दिएका थिए। कार्यक्रममा विभिन्न स्कूलका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए भने सूचना अनि सांस्कृतिक विभागका कलाकार रिता गिरीले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा यस वर्षको माध्यमिक, उच्च माध्यमिक, आईसीएसई, आईएससी, सीबीएसई परीक्षाहरुमा उत्कृष्ट अंक ल्याउने छजना विद्यार्थीहरुलाई सम्बर्ध्दना जनाइयो। त्यसरी नै कार्यक्रमको अवधि छद्म भेष प्रतियोगिता पनि आयोजना गरिएको थियो। 79 औँ स्वतन्त्रता दिवस समारोहमा म्याराथनको पनि आयोजना गरिएको थियो। उक्त म्याराथनको पुरुषवर्गमा दार्जीलिङ्का दुर्गाप्रसाद बुढ़ा प्रथम, कालेबुङ्का विकास भुजेल दोस्रो र गेजिङ सिक्किमका गंगाहाङ सुब्बा तेस्रो भएका थिए। त्यसरी नै महिलावर्गमा प्रथम सुरुक समथार निवासी प्रिया तामाङ, दोस्रो बिजनबारी निवासी सम्झना सुब्बा र तेस्रो पनि बिजनबारी निवासी बन्दना सुब्बा भएका छन्। कार्यक्रममा विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिने विशिष्ट व्यक्तिहरुलाई पनि सम्मान जनाइयो भने स्वतन्त्रता सेनानीहरुका परिवारका सदस्यहरुलाई सम्मान पनि जनाइयो। यस कार्यक्रममा मार्च पास्टसमा बोइसमा सन्त अल्फन्सेस विद्यालय र गर्ल्स वर्गमा सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालय विजयी बनेका छन्। त्यसरी नै छद्म भेष प्रतियोगितामा बुध्द भगवान् बनेका राजा सेवा प्रथम, भारत माता बनेकी कौशल लामा दोस्रो र पूर्व राष्ट्रपति एंव वैज्ञानिक डा. एपीजे अब्दुल कलाम बनेका बालक अयन मल्लिक तेस्रो बनेका थिए। कार्यक्रममा ड्रिलमा प्रथम डाउहिल स्कूल र दोस्रो स्कट मिशन बनेका थिए। खरसाङ्मा आयोजित 79 औँ स्वतन्त्रता दिवस समारोह विषयमा पत्रकारहरुसित कुराकानी गर्दै आयोजक समितिका सचिव एंव खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधानले यसपालीको स्वतन्त्रता दिवस समारोह एकदमै सफल भएको बताउँदै समारोहमा सहभागी बनेका खरसाङ क्षेत्रका विभिन्न विद्यालयहरुप्रति आभार प्रकट गरेका थिए। यसैगरी खरसाङ महकुमा अन्तर्गत पर्ने विभिन्न सरकारी कार्यालयहरुमा पनि स्वतन्त्रता दिवस पालन गरिएको छ। खरसाङ महकुमा शासक कार्यालयमा 79 औँ स्वतन्त्रता दिवस पालन गरिएको छ। कार्यालयमा महकुमा शासक आईएएस विन्दवासिनी तेजा दिपकको बाहुलीबाट राष्ट्रिय झण्डा उत्तोलन गरिएको थियो। स्वतन्त्रता दिवस खरसाङ महकुमा संशोधन गृह, खरसाङ महकुमा सूचना अनि सांस्कृतिक विभागको कार्यालयमा पनि राष्ट्रिय झण्डा उत्तोलन गरेर 79 आैँं स्वतन्त्रता दिवस समारोह पालन गरिएको छ। महकुमा शासक, महकुमा संसोधन गृह र महकुमा सूचना अनि सांस्कृतिक विभागको कार्यक्रममा कर्मचारीहरुको पनि उपस्थिति रहेको जानकारी प्राप्त भएको छ।
अम्बटे: अम्बटे चिया बगानस्थित पाँच घरे ग्राम सुधार वेलफेयर समितिको आयोजनामा 79 औँ स्वतन्त्रता दिवस पालन गरियो। समितिका अध्यक्ष बलराम प्रधानको अध्यक्षतामा भव्य रूपमा पालन गरिएको यस समारोह वरिष्ठ नागरिक कल्याण संगठनका पदाधिकारीगण, सदस्यगण, श्री सत्य-साई बाल विकास केन्द्र सञ्चालन समितिका पदाधिकारीगण, विद्यार्थीवर्ग, गाउँवासीको उपस्थितिमा सम्पन्न भएको तियो। समारोहमा समिति अध्यक्ष बलराम प्रधान, वरिष्ठ नागरिक कल्याण संगठनका संरक्षक भूपाल राई, भूतपूर्व सैनिक दपक थापा, श्री सत्य साई बाल विकास केन्द्रका संरक्षक गणेश छेत्री औ समाजसेवी श्याम कुमार प्रधानद्वारा राष्ट्रपिता महात्मा गान्धीको तस्वीरमा धुप-दीप प्रज्जवलन गरी माल्यार्पण गरिएको थियो भने खरसाङ पश्चात समिति सदस्य बलराम प्रधानले राष्ट्रिय झण्डोत्तलन गरेका थिए। समारोहमा उपस्थित सम्पूर्णले राष्ट्रिय गीत गाएर देशभक्तिको भाव प्रदर्शन गर्दै देशलाई स्वतन्त्रता प्राप्त गराउने ती शहीदहरूलाई स्मरण गरेका थिए। कार्यक्रममा भूतपूर्व सैनिक हवल्दार दिपक थापा, अध्यक्ष बलराम प्रधान अनि अन्यान्यले वक्तव्य राखेका थिए। वक्ताहरूले स्वतन्त्रताको संघर्ष, स्वतन्त्रता संग्रमी, वीर शहीदहरूको बारेमा प्रकाश पारेका थिए। कार्यक्रमलाई समितिका उपाध्यक्ष प्रणय प्रधानले सञ्चालन गरेका थिए।
ज्ञानदीप पाठशालाः अम्बटे चिया बगानको पाँचघरेस्थित ज्ञानदीप प्राथमिक पाठशालामा पनि 79 औँ स्वतन्त्रता दिवस पालन गरियो। पाठशालाका शिक्षक-शिक्षिका अनि विद्यार्थीगणको उपस्थितिमा सम्पन्न यस कार्यक्रममा पाठशाला सञ्चालन समितिका अध्यक्ष श्याम कुमार प्रधानको बाहुलीबाट राष्ट्रपिता महात्म गान्धीको तर्वीरमा धुप-दीप प्रज्जवलन गरी राष्ट्रिय झण्डा उत्तोलन गरिएको थियो।
सञ्जिवनी संघः खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 7 सुवेदार बस्तीमा रहेको सञ्जिवनी सङ्घले पनि स्वतन्त्रता दिवस पालन गरेको छ। यस कार्यक्रममा सङ्घका अध्यक्ष लक्ष्मण शर्माको बाहुलीबाट संघका सचिव सन्तोष राज छेत्री अनि सदस्यहरूको उपस्थितीमा राष्ट्रिय झण्डा उत्तोलन गरिएको थियो। राष्ट्रिय झण्डा उत्तोलनपछि राष्ट्रिय गीत गाइएको थियो। कार्यक्रममा वक्ताहरूले देशको स्वतन्त्रता संग्राम, स्वतन्त्रता सेनानी अनि शहीदहरूको बारेमा उपस्थित सबैलाई स्मरण गराएका थिए भनी जानकारी प्राप्त भएको छ।
लायन्स क्लबः खरसाङ लायन्स क्लबले 79 औँ स्वतन्त्रता दिवसको अवसरमा चार उल्लेखनीय कार्यक्रमहरू आयोजना गरेको उपाध्यक्ष सरोज चौहानले जानकारी दिएकी छन्। प्राप्त जानकारी अनुसार क्लबका अध्यक्ष विवेक गोयलको नेतृत्वमा नयाँ बजार स्थित लायन्स सेवा केन्द्रमा बिहान राष्ट्रिय झण्डा फहराउने कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा स्थानीय समाजसेवी, क्लब सदस्यहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। झण्डोत्तलनपछि क्लबद्वारा शान्तिपूर्ण सम्बन्ध र मित्रता प्रवर्द्धन गर्ने उद्देश्यले विशेष फेलोसिप कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा सदस्यहरूबीच आपसी संवाद र अनुभव आदान प्रदान गरिएको थियो। क्लबका जनसम्पर्क अधिकारी विनम्र गोयन्काले स्वस्थ जीवनशैली प्रवर्द्धन तथा खेलप्रेम वृद्धिका लागि भएको म्यारथन प्रतियोगितामा सहभागी भएका धावकहरूलाई क्लबको तर्फबाट सदस्यहरूद्वारा गोयन्का पेट्रोल पम्पमा उभिएर ले 1 सय 50 भन्दा बढ़ी पानीका बोतलहरू वितरण गरिएको जानकारी गराए। म्यारथन दौढ़मा प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने पुरुष र महिला धावकहरूलाई क्लबले स्वतन्त्रता दिवस समारोह समितिसँगको संयुक्त सहकार्यमा ट्रफीसहित सम्मान स्वरूप प्रशंसा पत्र प्रदान गरेको पनि तिनले जनाए। क्लबका पदाधिकारीहरूले यस्ता कार्यक्रमहरूले सामाजिक एकता, खेल भावना र सेवाशिलता प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछन्। खरसाङ लायन्स क्लबद्वारा आयोजित स्वतन्त्रता दिवसको कार्यक्रमहरू समाजमा सकारात्मक संदेश फैलाउने तथा नागरिक बीच आत्मसमर्पण र समर्पणको भावना जगाउन सफल भएको क्लबका अध्यक्ष विवेक गोयलले बताएका छन्