खरसाङ, (निसं): नेपाली भाषा मान्यता दिवसको अवसरमा अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ केन्द्रीय समितिको आयोजनामा जीटीए स्तरीय अन्तर महाविद्यालय तर्क सभाको फाइनल खरसाङ महाविद्यालयले जितेको छ। दार्जिलिङको भानु भवनमा आयोजित उक्त जीटीए स्तरीय अन्तर महाविद्यालय तर्क सभाको अध्यक्षता दार्जीलिङ पार्वत्य विश्वविद्यालयको रजिष्टर एंव वरिष्ठ साहित्यकार सुजतारानी राईको अध्यक्षतामा सम्पन्न भएको छ। तर्क सभालाई शिक्षक दिव्यत्तम अधिकारीले सञ्चालन गरेका थिए। यस जीटीए स्तरीय अन्तर महाविद्यालय तर्क सभाको फाइनल खरसाङ महाविद्यालय र साउथ फिल्ड महाविद्यालयमाझ सम्पन्न भएको छ। उक्त तर्क सभामा निर्णायकको रुपमा आकाशवाणी खरसाङको पूर्व कार्यक्रम प्रमुख पारसचन्द्र आले, प्राध्यापक डा कुशल गोले, वरिष्ठ पत्रकार मोहन लामा, कवि एवं पत्रकार शरण मुस्कान, शरदकुमार नेपाल रहेका थिए भने समय सूचकको रुपमा शिक्षक देवाशिष जोशी रहेका थिए। यस तर्क सभाको विषय ‘जातीय उत्थानमा जनसंख्याको महत्व छ कि छैन’ रहेको थियो। यस विषयमा पक्षमा खरसाङ महाविद्यालय र विपक्षमा साउथ फिल्ड महाविद्यालय रहेका थिए। यस जीटीए स्तरीय तर्क सभामा खरसाङ महाविद्यालयले बिजय हाँसिल गरेर जीटीए स्तरीय अन्तर महाविद्यालय तर्क सभाको उपाधि जित्न सफल बनेको छ। जीटीए स्तरीय अन्तर महाविद्यालय तर्क सभाको विजेता खरसाङ महाविद्यालयलाई ट्रफी, च्यालेञ्च शिल्डसहित नगदराशि 30 हजार प्रदान गरिएको छ भने भने उप विजेता साउथ फिल्ड महाविद्यालयलाई ट्रफीससहित नगदराशि 15 हजार प्रदान गरिएको छ। त्यसरी नै यस तर्क सभामा उत्कृष्ट तार्किकको रुपमा खरसाङ महाविद्यालयकी तार्किक अबिस्ना तामाङ चयन भएका छन् अनि उनलाई ट्रफीसहित 5 हजार रुपियाँ प्रदान गरिएको छ। उक्त तर्क सभाको विजेता र उपविजेतालाई ट्रफी र च्यालेञ्च शिल्डसहित नगदराशि सभाध्यक्ष, प्रमुख अतिथि लगायत अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ केन्द्रीय समितिको अध्यक्ष विश्वास गुरुङ र महासचिव भुपेन्द्र छेत्रीको बाहुलीबाट प्रदान गरिएको छ।