खरसाङ, (सुवास छेत्री): केवल शहरी क्षेत्रका दोकानपाट, निजी तथा सरकारी कार्यालयहरू, स्कूल तथा कलेजहरूमा मात्र होइन तर अब ग्राम पञ्चायत क्षेत्रका प्रत्येक दोकानपाट, विद्यालयहरू तथा निजी एवम् सरकारी कार्यालयतिर पनि अब अनिवार्य रूपमा नेपाली भाषामा लेखिएका साइनबोर्डहरू लगाउनुपर्ने अपिल खरसाङ खण्ड ग्राम पञ्चायत अध्यक्ष अनु प्रधानले गरेकी छन्। तिनले बिहीवार खरसङ्मा आयोजित भाषा मान्यता दिवस समारोहमा आफ्नो सम्बोधन राख्दै अब प्रत्येक ग्रामीण क्षेत्रहरूतिर पनि नेपाली भाषामा लेखिएका साइनबोर्डहरू लगाउनुपर्नेछ भनी बताइन्। प्रधानले वर्षमा एकदिन भाषा मान्यता दिवसमा मात्र भाषाको विषयमा ठूल्ठूला भाषण दिएर नहुने बताउँदै यसको प्रयोगमा हामी सदैव लागिरहनु पर्ने विचार व्यक्त गरिन्। तिनले हामीले नै हाम्रो भाषाको सम्मान र जगेडा गरेनौँ भने अरू कसैले नगर्ने जनाउँदै यसलाई लिएर अब प्रत्येक नानीहरूका अभिभावकहरू पनि सचेत र सजग रहनुपर्ने बताइन्। प्रधानले पाश्चात्य संस्कृति र भाषालाई अँगाले आफ्नो भाषा र संस्कृतिलाई कदापि भूल्न नहुने बताउँदै भाषा बाँचे मात्र जाति र जातिको अस्तित्व बाँच्ने तिनले दावी गरिन्।
